नेभिगेशन
राजनीति

धरानका कार्यवाहक नगर प्रमुखविरुद्ध हर्क साम्पाङको विषवमन, शृङ्खलाबद्ध टिप्पणी

धरान । धरानका निवर्तमान नगरप्रमुख हर्कराज राई (साम्पाङ) चुनावी मैदानमा उत्रिएका छन्, सामाजिक सञ्जाल फेसबुकबाट । फेसबुकलाई नै आफ्नो अस्त्र ठान्ने उनी आफ्नो आधार इलाका धरान उपमहानगरपालिकामा आफ्नो दबदबा कायमै राख्न चाहान्छन् । आगामी स्थानीय तहको निर्वाचनमा आफूले तोकेका उम्मेदवारलाई जिताउन उनले चुनावी अभियान सुरु गरेका छन् । यो अभियान फायर  खोलेका छन् कार्यवहाक नगरप्रमुख अइन्द्रविक्रम बेघाविरुद्ध शृङ्खलाबद्ध टिप्पणी गर्दै । 

status-harka-(3)-1792820845.jpeg
सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हर्कराज राई साम्पाङले धरानको वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । श्रम संस्कृति पार्कको शौचालय भत्काएर दुर्गन्ध फैलाएको भन्दै कार्यवहाक नगरप्रमुख बेघामाथि आरोप लगाएका छन् ।  

सामाजिक सञ्जाल फेसबुकमा शृङ्खलाबद्ध टिप्पणी गर्दै उनले सार्वजनिक पूर्वाधारको मर्मतसम्भार, विकास योजना र श्रम संस्कृतिका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

साम्पाङले एसडीएस रक गार्डेनस्थित बाल उद्यानका संरचना र सार्वजनिक शौचालय बिग्रिएको भन्दै उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । श्रम संस्कृति पार्कको शौचालय भत्काएर दुर्गन्ध फैलिएको र त्यसले खानेपानीसमेत प्रदूषित हुन सक्ने जोखिम रहेको उनको दाबी छ ।

उनले विगतमा अघि बढाइएका अत्यावश्यक विकास योजना कटौती गरेर अहिले देखावटी काममा जोड दिइएको टिप्पणीसमेत गरेका छन् ।

आलोचनासँगै साम्पाङले धरानमा सञ्चालन भइरहेका विकास निर्माणका कामबारे पनि जानकारी दिएका छन् । धरान–२० स्थित विष्णुपादुका भञ्ज्याङ जाने सडकको बहुवर्षीय ठेक्का स्वीकृत भई कालोपत्रे भइरहेको उल्लेख गर्दै उनले सडक निर्माणको गुणस्तरमा ध्यान दिन आग्रह गरेका छन् ।

status-harka-(1)-1792820878.jpeg
त्यस्तै, सुम्निमा–पारुहाङको प्रतिमा निर्माणका लागि भूगर्भशास्त्रीको राय लिने काम सम्पन्न भएको र अन्तिम माटो परीक्षणको प्रक्रिया अघि बढेको उनले बताएका छन् ।

साम्पाङले श्रम संस्कृतिको अवधारणाअनुसार यातायात तथा उद्योग क्षेत्रमा काम गर्ने चालक र मजदुरलाई न्यायोचित व्यवहार र बिमा सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखेका छन् । काम नगरी सुविधा पाउने व्यवस्था नभई श्रमअनुसार उचित ज्याला दिने प्रणाली आवश्यक रहेको उनको भनाइ छ । उनले स्वास्थ्य र शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाएका छन् ।

आगामी स्थानीय निर्वाचन र उम्मेदवारीबारे भइरहेका चर्चाप्रति पनि साम्पाङले टिप्पणी गरेका छन् । उपयुक्त समय नआएसम्म कुनै व्यक्ति वा सम्भावित उम्मेदवारलाई लक्षित गरेर सञ्चारमाध्यममा पूर्वाग्रही ढङ्गले परीक्षण नगर्न उनले आग्रह गरेका छन् । यस विषयमा उचित समयमा छलफल गरिने उनको भनाइ छ ।

साम्पाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका आरोप र धारणाबारे धरान उपमहानगरपालिका वा कार्यवाहक नेतृत्वको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति