सुनसरी । दुई दिने राजकीय भारत भ्रमणका लागि दिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाहले सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको डीपीआरको कामलाई तीव्रता दिनुपर्ने सहमति गरेका छन् ।
प्रधानमन्त्री शाहको भ्रमणले द्विपक्षीय विकास साझेदारी, ऊर्जा, सम्पर्क सञ्जाल र शिक्षाका क्षेत्रमा सहमति गरेको छ । भ्रमणका क्रममा दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल’ को संयुक्त दृष्टिकोण अङ्गीकार गरेका छन् भने विभिन्न क्षेत्र समेटिएका ८ वटा समझदारीपत्र (एमओयू) आदान प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको १८ नम्बर बुँदामा सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको डीपीआरको कामलाई तीव्रता दिनुपर्ने आवश्यकतामा सहमति भएको छ ।
"दुवै नेताले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई शीघ्र अन्तिम रूप दिई आयोजना कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिनुभयो। पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न र बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको डीपीआरको कामलाई तीव्रता दिनुपर्ने आवश्यकतामा पनि दुवै नेताबीच सहमति भएको छ ।" सहमतिको बुँदामा भनिएको छ ।
पछिल्लो पटक सन् २०२३ अक्टोबरमा विराटनगरमा बसेको नेपाल-भारत संयुक्त विज्ञ टोलीको बैठकले ३० महिनाभित्र डीपीआर तयार पार्ने सहमति गरेको थियो । यसअन्तर्गत आयोजना क्षेत्रमा भौगर्भिक अध्ययन (ड्रिलिङ), वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए), पुनर्वास तथा पुनःस्थापन र बाढी नियन्त्रणबाट हुने लाभको अध्ययन भइरहेको विद्युत विकास विभाग (डिओईडी) ले उल्लेख गरेको छ ।
यस अघि पटक पटक भएका सहमति र छलफलमा ठूलो भूभाग डुबानमा पर्ने र विस्थापनको समस्या आउने भएकाले प्रस्तावित २६९ मिटर अग्लो बाँधको उचाइ घटाएर अध्ययन अघि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ ।
पछिल्लो समय नेपाल र भारतबीच भएका उच्चस्तरीय भ्रमण र संयुक्त दस्तावेजहरूमा पञ्चेश्वर, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको अध्ययन र कामलाई गति दिने प्रतिबद्धता पुनः दोहोर्याइएको छ ।
वराहक्षेत्रभन्दा करिब १.६ किलोमिटर माथि सुनाखम्बीमा बन्ने भनिएको यस बाँधले धनकुटा, भोजपुर, उदयपुर र सुनसरीका धेरै बस्ती, खेतीयोग्य जमिन तथा किरात समुदायको आस्थाको केन्द्र 'खुवालुङ' डुबानमा पर्ने भन्दै स्थानीय बासिन्दा र संघर्ष समितिले आयोजना खारेजीको मागसहित विरोध गरिरहेका छन् ।
यस आयोजनाबाट करिब ३,००० मेगावाट विद्युत् उत्पादन गर्ने, नेपाल र भारतका तटीय क्षेत्रमा बाढी नियन्त्रण गर्ने र सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ । तर, प्राविधिक अध्ययन पूरा नभएको र स्थानीयको असहमति कायम रहेकाले भौतिक निर्माणको काम अझै सुरु हुन सकेको छैन ।

विज्ञप्तिअनुसार भ्रमणका मुख्य उपलब्धि तथा सहमति यस प्रकार छन् :
भारतले कुल भारु १५ हजार करोड (नेरु २४ हजार करोड) बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसमध्ये रसुवा–भोटेकोशी बाढीपछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाका लागि भारु ३ हजार ५०० करोड (नेरु ५ हजार ६०० करोड) अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाका लागि भारु ११ हजार ५०० करोड (नेरु १८ हजार ४०० करोड) सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) रहेको छ। साथै, भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको स्वागत गरिएको विज्ञप्तिमा जनाइएको छ ।
दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवाको हरियो झन्डा देखाई शुभारम्भ गरे । यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास गरिएको उल्लेख छ । दुवै देशले बुद्ध र शिव–शक्ति पर्यटन सर्किटमा पनि यस्तै सञ्जाल खोज्ने सहमति गरेका छन्।
त्यसैगरी, प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीकृत ब्रोडगेज रेलमार्गको ‘फिल्ड लोकेसन सर्वेक्षण’ ले अन्तिम रूप पाएको घोषणा गरिएको छ भने नेपालको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा समेत दुवै पक्षले सहकार्य गर्ने भएका छन्।
नागरिक उड्डयनतर्फ हाल एकतर्फी रहेको B345 काठमाडौँ–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यसैगरी, नेपालको पारवहन व्यापारका लागि भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) बाट नयाँ सम्पर्क मार्ग उपलब्ध गराइने भएको छ । पूर्वाधार तयार भएपश्चात् ओडिशाको पारादीप बन्दरगाहसम्मको पहुँच पनि दिइने सहमति बनेको छ ।
सोक्रममा दुवैजनाले धार्चुला (भारत) र दार्चुला (नेपाल) जोड्ने नयाँ सीमापार मोटरेबल पुलको उद्घाटन गरे । साथै, वनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को भर्चुअल माध्यमबाट शिलान्यास गरिएको छ । भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन आईसीपीको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् ।
दुवै नेताले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुङ्ग्याई कार्यान्वयन सुरु गर्न निर्देशन दिइएको छ । सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआरको कामलाई पनि तीव्रता दिन सहमति बनेको पनि उल्लेख गरिएको छ ।
वक्तव्यअनुसार इनरुवा-न्यू पूर्णिया र दोधारा–बरेली उच्च क्षमताका प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम (जेभी) गठन प्रक्रियाको प्रगतिप्रति सन्तोष व्यक्त गरिएको छ।
मोतिहारी-अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाललाई समर्पण गरिएको छ। साथै, झापामा पेट्रोलियम टर्मिनलको शिलान्यास गर्दै सिलिगुडी–झापा पाइपलाइनको काम छिटो सुरु गर्ने र दुई देशबीच ग्यास पाइपलाइन निर्माणको सम्भावना खोज्ने सहमति भएको छ।
नेपालको शिक्षा क्षेत्रमा गुणात्मक फड्को मार्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ भारतले नेपालमा आईआईटी (IIT) को वैदेशिक (अफ–शोर) क्याम्पस स्थापना गर्ने सहमति भएको छ। यस्तै, स्टार्ट–अप, डिजिटल तथा वित्तीय सम्पर्क सञ्जाल विस्तार गर्ने र एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने विषयमा पनि सहमति जुटेको छ।
सीमा स्तम्भहरूको मर्मतसम्भारमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै दुवैले बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा कार्य गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणका क्रममा विधि विज्ञान विश्वविद्यालय र नेपाल प्रहरी, राष्ट्रिय रक्षा विश्वविद्यालय र राष्ट्रिय प्रहरी प्रतिष्ठान, निजामती कर्मचारी तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा, दक्षिण एसियाली भू–उपग्रह उपयोग (ISRO र नेपालको सञ्चार मन्त्रालय), दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपन्छी तथा मत्स्य विकाससम्बन्धी गरी ८ वटा समझदारीपत्र आदानप्रदान गरिएका छन्।

विज्ञप्तिको नेपाली भावानुवाद
भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्री सम्माननीय श्री बालेन्द्र शाहले मिति २०२६ नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण सम्पन्न गर्नुभयो। उहाँको साथमा एक उच्चस्तरीय आधिकारिक प्रतिनिधिमण्डल सहभागी थियो। पदभार ग्रहण गरेपश्चात् प्रधानमन्त्री बालेन्द्र शाहको यो पहिलो भारत भ्रमण हो।
२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा सम्मान गारदसहित औपचारिक स्वागत गरिएको थियो। उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री शाहले भारतका सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नुभयो। यसैगरी, भारतका विदेश मन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभयो।
३. प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग द्विपक्षीय वार्ता गर्नुका साथै उहाँको सम्मानमा दिवाभोजको आयोजना गर्नुभयो। दुई नेताबीच भएको छलफलमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्रहरू, पारस्परिक हितका क्षेत्रीय विषयहरू तथा विश्वव्यापी समसामयिक घटनाक्रमहरूमाथि विचारविमर्श भएको थियो।
४. नेपालमा ठुलो जनधनको क्षति पुर्याएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछिको अवस्थामा भारतले पुर्याएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले सराहना गर्दै आभार व्यक्त गर्नुभयो।
५. प्रधानमन्त्री मोदीले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल समर्थन रहने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो। भारतले नेपालको विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाहरूका लागि भारु ३,५०० करोड (नेरु ५,६०० करोड) अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि भारु ११,५०० करोड (नेरु १८,४०० करोड) को भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) गरी कुल भारु १५,००० करोड (नेरु २४,००० करोड) बराबरको विकास सहायता उपलब्ध गराउनेछ। विकास सहायता उपलब्ध गराइने विशिष्ट परियोजनाहरू र त्यसको कार्यविधि आपसी परामर्शमार्फत टुङ्गो लगाइनेछ।
६. दुवै नेताले नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) लगायतका अन्य विकास परियोजनाहरूको कार्यान्वयनमा भइरहेको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँहरूले भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण कार्यमा हासिल भएको प्रगतिको समीक्षा गर्नुभयो। साथै, दुवै नेताले भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको स्वागत गर्नुभयो।
७. दुवै नेताले “विकसित भारत र समुन्नत नेपाल” का लागि एक संयुक्त दृष्टिकोण (Joint Vision) अङ्गीकार गर्नुभयो। यस संयुक्त दृष्टिकोण वक्तव्यले भारत र नेपालबीचको महत्त्वाकाङ्क्षी र भविष्योन्मुख साझेदारीका लागि मार्गचित्र प्रदान गरेको छ। यसमा आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलिया रहेका द्विपक्षीय सहकार्यका क्षेत्रहरूलाई अझ सुदृढ बनाउने पहलका साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्ट–अप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका आयामहरू समेटिएका छन्।
८. दुवै नेताले सम्पर्क सञ्जाल विस्तार गर्ने र द्विपक्षीय आर्थिक संलग्नतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नागरिक उड्डयनका विषयमा भइरहेका जारी छलफलहरूको समीक्षा गर्नुभयो। हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको B345 काठमाडौँ–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा कार्यविधि तय गर्न तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्शहरू गरिनेछन्।
९. प्रधानमन्त्री मोदीले दीनदयाल बन्दरगाह (काण्डला, गुजरात) मार्फत नेपालको पारवहन व्यापारका लागि नयाँ सम्पर्क मार्गको घोषणा गर्नुभयो। यसका साथै, आवश्यक पूर्वाधार तयार भएपश्चात् पारादीप बन्दरगाह (ओडिशा) सम्मको पहुँच पनि उपलब्ध गराइनेछ।
१०. दुवै नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) र पेट्रोलियम पाइपलाइनहरूको निर्माणमार्फत सीमापार सम्पर्क सञ्जाल सुदृढ पार्ने तथा सीमा क्षेत्रका पूर्वाधारको स्तरोन्नति गर्ने महत्त्वमाथि जोड दिनुभयो।
११. दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने पहिलो ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवाको हरियो झन्डा देखाई शुभारम्भ गर्नुभयो। यस रेल सेवाले आवागमनमा सहजता ल्याउनुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने र भारत तथा नेपालबीचको सभ्यतागत सम्बन्धलाई थप बलियो बनाउनेछ। नेताहरूबीच बौद्ध र शिव–शक्ति धार्मिक पर्यटन सर्किटको विकासका लागि पनि यस्तै किसिमका सम्पर्क सञ्जालको सम्भावना खोजी गर्ने सहमति भयो।
१२. दुवै नेताले प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीकृत ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षणले अन्तिम रूप पाएको घोषणा गर्नुभयो। साथै, नेपालको पूर्व–पश्चिम रेलमार्गको विकासमा दुवै पक्षले सहकार्य गर्ने घोषणा समेत गर्नुभयो।
१३. दुवै नेताले वनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को भर्चुअल माध्यमबाट शिलान्यास गर्नुका साथै भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन आईसीपीहरूको प्रगतिप्रति स्वागत व्यक्त गर्नुभयो। भारत र नेपालबीच हाल तीनवटा आईसीपी सञ्चालनमा रहेका छन्।
१४. नेताहरूले धार्चुला (भारत) र दार्चुला (नेपाल) जोड्ने नयाँ सीमापार मोटर गुड्ने (मोटरेबल) पुलको उद्घाटन गर्नुभयो। यसले पश्चिमी नेपाल र भारतबीचको प्रत्यक्ष सम्पर्क सञ्जाल सुधार गर्न मद्दत पुर्याउनेछ।
१५. दुवै नेताले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त क्षेत्रीय कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा कार्य गर्न परराष्ट्र/विदेश सचिवहरूलाई निर्देशन दिनुभयो।
१६. भारत र नेपालबीचको सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा दुवै नेताले मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गर्नुभयो। दुवै नेताले नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल माध्यमबाट शिलान्यास गर्नुका साथै सिलिगुडी र झापाबीचको पेट्रोलियम पाइपलाइनको काम छिटो सुरु गर्ने महत्त्वमाथि जोड दिनुभयो। भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणका क्षेत्रमा सहकार्यको सम्भावना खोज्न दुवै पक्ष सहमत भएका छन्।
१७. ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण दस्तावेज र दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्। नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नताको स्वागत गर्दै दुवै पक्षले भारतीय कम्पनीहरूले नेपालमा विकास गरिरहेका विभिन्न जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न गर्ने सुनिश्चितता गर्न सहमति जनाएका छन्। सोही अवसरमा दुवै नेताले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो।
१८. दुवै नेताले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई शीघ्र अन्तिम रूप दिई आयोजना कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिनुभयो। पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न र बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको डीपीआरको कामलाई तीव्रता दिनुपर्ने आवश्यकतामा पनि दुवै नेताबीच सहमति भएको छ।
१९. इनरुवा (नेपाल)–न्यु पूर्णिया (भारत) र दोदोधारा (नेपाल)–बरेली (भारत) बीचका दुई उच्च क्षमताका सीमापार प्रसारण लाइनहरू निर्माणका लागि संयुक्त उपक्रम (Joint Venture) गठन गर्ने सम्बन्धमा भएको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्।
२०. नेपाललाई भारतले प्रदान गर्दै आएको विकास तथा क्षमता अभिवृद्धि सहयोगलाई विस्तार गर्दै भारतले नेपालमा आईआईटी (IIT) को वैदेशिक (अफ–शोर) क्याम्पस स्थापना गर्ने विषयमा दुवै नेताबीच सहमति भएको छ। यसले नेपालको शिक्षा क्षेत्रमा गुणात्मक फड्को मार्ने आधार प्रदान गर्नुका साथै रोजगारी सिर्जनालाई समेत प्रवर्द्धन गर्नेछ। दुवै नेताले स्टार्ट–अप तथा डिजिटल र वित्तीय सम्पर्क सञ्जाललगायत प्रविधिको क्षेत्रमा भारत र नेपालबीच विस्तार भइरहेको सहकार्यको स्वागत गर्नुभयो।
२१. एक देशमा बसोबास गरिरहेका अर्को देशका नागरिकहरूका लागि बैंकिङ र दूरसञ्चारलगायतका सेवाहरूमा सहज पहुँचको पारस्परिक सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकतालाई दुवै पक्षले स्वीकार गरेका छन्।
२२. भ्रमणका क्रममा दुवै पक्षबीच देहायबमोजिमका समझदारीपत्रहरू (MoUs) आदानप्रदान गरिए:
(क) भारतको गान्धीनगर, गुजरातस्थित राष्ट्रिय विधि विज्ञान विश्वविद्यालय (National Forensic Sciences University) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्र।
(ख) भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (RRU) र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठान (NPA) बीचको समझदारीपत्र।
(ग) नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमका सम्बन्धमा भारत सरकारको प्रशासनिक सुधार तथा जनगुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र (NCGG) र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीचको समझदारीपत्र।
(घ) आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्र।
(ङ) दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन (SATCOM) सञ्जाल स्थापना गर्ने सम्बन्धमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ISRO) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालय (MOIC) बीचको समझदारीपत्र।
(च) दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्र।
(छ) स्वास्थ्य तथा चिकित्साका क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीचको समझदारीपत्र।
(ज) पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्र।
२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यताका लागि भारतका प्रधानमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभयो। भारतीय प्रधानमन्त्रीले उक्त निमन्त्रणा सहर्ष स्वीकार गर्नुभएको छ र भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यममार्फत तय गरिनेछ।
२४. भारत–नेपाल साझेदारी सबै तहमा रहेको गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित छ र यो बलियो जनस्तरको सम्बन्धका साथै घनिष्ठ आर्थिक तथा विकास सहकार्यबाट थप सुदृढ भएको छ। यस भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा र यसलाई अझ अगाडि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
२३ नोभेम्बर २०२६
नयाँ दिल्ली