नेभिगेशन
स्वास्थ्य/जिवनशैली

विराटनगरस्थित विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सेवा सुरु

विराटनगर — विराटनगरमा रहेको विराट नर्सिङ होमले स्वास्थ्य सेवालाई थप विस्तार गर्दै अत्याधुनिक प्रविधि सहितको ‘क्याथ ल्याब’ सेवा सञ्चालनमा ल्याएको छ।
कार्डियाक, न्यूरो तथा भास्कुलर इन्टरभेन्स्नल सम्बन्धी जटिल रोगहरूको उपचारलाई सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यले आइतबारदेखि उक्त सेवा औपचारिक रूपमा सुरु गरिएको हो।
नयाँ प्रविधियुक्त सेवाको उद्घाटन गर्दै इनभोलुसन हेल्थकेयर प्रालिका निर्देशक अतुल शर्माले हृदयाघात र स्ट्रोकजस्ता आपतकालीन अवस्थामा समयमै उपचार नपाउँदा ज्यान जाने जोखिम उच्च रहने उल्लेख गर्दै क्याथ ल्याब सेवाले त्यस्ता जोखिम न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विराटनगरसहित प्रदेश १ का साथै नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गरी कार्डियाक, न्यूरो तथा भास्कुलर इन्टरभेन्स्नल उपचार एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको जानकारी दिए।
अस्पतालका अनुसार जडान गरिएको ‘प्रिमियर एलिट क्याथ ल्याब’ अत्याधुनिक प्रविधिमा आधारित रहेको छ, जसले कम विकिरण प्रयोग गरी छिटो र सुरक्षित रूपमा उपचार प्रक्रिया सम्पन्न गर्न सहयोग पुर्‍याउनेछ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. निकिता कार्कीका अनुसार नेपाल तथा भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा तालिम प्राप्त वरिष्ठ इन्टरभेन्स्नल विशेषज्ञ चिकित्सकहरूबाट यहाँ २४सै घण्टा सेवा उपलब्ध गराइनेछ।
क्याथ ल्याब उद्घाटनको अवसरमा अस्पतालले विशेष छुटसमेत उपलब्ध गराएको छ। उद्घाटनकै दिन अस्पतालमा आएका १९ जना सेवाग्राहीलाई ५० प्रतिशत छुट प्रदान गरिएको थियो। साथै, सीसीयू शुल्क तथा विभिन्न निदान सेवामा समेत ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
अत्याधुनिक क्याथ ल्याब सञ्चालनमा आएसँगै पूर्वी नेपालमा जटिल मुटु, मस्तिष्क तथा रक्तनलीसम्बन्धी रोगहरूको उपचार थप सहज र पहुँचयोग्य हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य/जिवनशैली