नेभिगेशन
स्वास्थ्य/जीवनशैली

वार्षिक वैज्ञानिक कार्यक्रममा १५६ वटा अनुसन्धान प्रस्तुत गर्दै बिपी प्रतिष्ठान

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ३० औं वार्षिक वैज्ञानिक कार्यक्रम (एएसपी-२०२६) अन्तर्गत बिपी प्रतिष्ठानका चिकित्सक, अनुसन्धानकर्ता, शिक्षक तथा स्वास्थ्य क्षेत्रका विज्ञले १५६ वटा अनुसन्धान प्रस्तुत गर्ने भएका छन् । 

‘उत्कृष्टताको ३० वर्ष : विज्ञानलाई समाजसँग जोड्दै’ भन्ने नारासहित बुधबारदेखि सुरु भएको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्कीले पानसमा बत्ती बालेर गरेकी थिइन् ।

कार्यक्रममा उपकुलपति कार्कीले विज्ञान र अनुसन्धानलाई समाजसँग जोड्नुपर्नेमा जोड दिइन् । उद्घाटन सत्रमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. शिवेन्द्र झा, कुलसचिव धरणीधर बराल र अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका मुख्य वक्ता प्रा.डा. सञ्जीवकुमार शर्माले ‘क्लिनिकल रिसर्चबारे व्यक्तिगत दृष्टिकोण’ विषयमा विशेष प्रस्तुति दिएका थिए । उनलाई उपकुलपति कार्की र शिक्षाध्यक्ष झाले मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानको वार्षिक वैज्ञानिक पुस्तक विमोचन गरिएको थियो । त्यसैगरी, यस वर्षदेखि प्रदान गर्न सुरु गरिएको ‘योङ इन्भेस्टिगेटर अवार्ड’ ओरल मेडिसिन विभागकी डा. प्रज्ञा रेग्मीले प्राप्त गरेकी छन् । उनलाई उपकुलपति कार्कीले नगद पुरस्कारसहित सम्मान गरेकी थिइन् ।

अनुसन्धानका डीन तथा कार्यक्रम संयोजक प्रा.डा. आशिष सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रतिष्ठानका विभागीय तथा शाखा प्रमुख, चिकित्सक, शिक्षक, कर्मचारी, विद्यार्थी र पत्रकारको सहभागिता थियो ।

उद्घाटन सत्रपछि पेपर तथा पोस्टर प्रस्तुति सुरु भएको छ । नोभेम्बर २० सम्म सञ्चालन हुने कार्यक्रममा अनुसन्धान, वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदानसम्बन्धी विभिन्न सत्र सञ्चालन हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य/जीवनशैली