नेभिगेशन
स्वास्थ्य/जीवनशैली

बीपी प्रतिष्ठानको ३०औँ वार्षिक वैज्ञानिक कार्यक्रम सम्पन्न, १६७ वैज्ञानिक सार प्रस्तुत

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको ३०औँ वार्षिक वैज्ञानिक कार्यक्रम (एएसपी)–२०२६ सम्पन्न भएको छ ।

‘३० वर्षको उत्कृष्टता : समाजको सेवामा विज्ञानलाई जोड्दै’ भन्ने नारासहित नोभेम्बर १८ देखि २० सम्म सञ्चालन भएको तीनदिने कार्यक्रममा चिकित्सा शिक्षा, अनुसन्धान र जनस्वास्थ्यका विषयमा छलफल तथा वैज्ञानिक प्रस्तुति गरिएको थियो ।

कार्यक्रमको उद्घाटन प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष तथा इन्टरनल मेडिसिन विभागका प्रमुख प्रा. डा. सञ्जीव कुमार शर्मा र विशिष्ट अतिथि प्रा. डा. शिवेन्द्र ठाकुरले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका शिक्षक, चिकित्सक, अनुसन्धानकर्ता, विद्यार्थी तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।

कार्यक्रमको मुख्य प्रवचनमा प्रा. डा. शर्माले ‘क्लिनिकल रिसर्चमा व्यक्तिगत अनुभव’ विषयमा आफ्नो धारणा राखेका थिए । उनले चिकित्सा विज्ञानको विकासमा क्लिनिकल अनुसन्धानको महत्त्व, अनुसन्धानका चुनौती, चिकित्सकीय अनुभव र बिरामीको प्रत्यक्ष उपचारबाट प्राप्त ज्ञानलाई अनुसन्धानसँग जोड्नुपर्ने आवश्यकताबारे चर्चा गरेका थिए ।

कार्यक्रमको अन्तिम दिन नोभेम्बर २० मा २४औँ बीपी कोइराला स्मृति प्रवचनसमेत आयोजना गरिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालय, नयाँ दिल्लीका निर्देशक तथा प्रतिष्ठानका पूर्व प्राध्यापक प्रा. डा. सुमन रिजाल उक्त प्रवचनका विशिष्ट वक्ता थिए ।

उनले ‘उत्कृष्टता, प्रमाण र नवप्रवर्तन : रोग उन्मूलनको यात्रा’ विषयमा प्रवचन दिएका थिए । जनस्वास्थ्यका चुनौती समाधान गर्न रोगहरूको पूर्ण उन्मूलन, वैज्ञानिक प्रमाणमा आधारित अभ्यास र आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उनले बताए । उनले दक्षिणपूर्वी एसियामा स्वास्थ्य अवस्था र रोग नियन्त्रणका प्रयासमा नेपालजस्ता मुलुकले खेल्न सक्ने भूमिकाबारे पनि चर्चा गरेका थिए ।

तीनदिने कार्यक्रममा १११ वटा मौलिक अनुसन्धान र ५६ वटा केस रिपोर्ट गरी जम्मा १६७ वटा वैज्ञानिक सार प्रस्तुतिका लागि स्वीकृत भएका थिए । तीमध्ये ५४ जनाले पोस्टर प्रस्तुति र ६४ जनाले मौखिक प्रस्तुति दिएका थिए । कार्यक्रममा २७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ स्रोत व्यक्तिका रूपमा सहभागी भएका थिए ।

प्रतिष्ठानका विभिन्न विभागका विद्यार्थीहरूले पनि अनुसन्धान प्रस्तुति गरेका थिए । स्नातक र स्नातकोत्तर तहका विद्यार्थीबीच मौखिक तथा पोस्टर प्रस्तुति प्रतियोगिता सञ्चालन गरिएको थियो ।

कार्यक्रमको समापन समारोहमा विजयी विद्यार्थी तथा अनुसन्धानकर्तालाई पुरस्कार प्रदान गरिएको थियो । प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार, आयोजक समितिका अध्यक्ष तथा अनुसन्धान डिनलगायतले सहभागीलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरेका थिए ।

समापन समारोहमा आयोजक समितिका अध्यक्ष तथा अनुसन्धान डिन प्रा. डा. आशिष सुवेदीले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन डा. शितल गुप्ता र डा. रेखा लिम्बूले गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य/जीवनशैली