नेभिगेशन
समाज

रोटरी क्लब अफ धरान घोपाद्वारा विपी प्रतिष्ठानलाई ह्वीलचेयर तथा सामग्री सहयोग

धरान — रोटरी क्लब अफ धरान घोपाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २२ थान ह्वीलचेयर, ३ वटा बिरामी बस्ने बेड तथा ३ वटा ट्रली प्रदान गरेको छ।
प्रतिष्ठानले निर्माण गरेको ह्वीलचेयर पुल कार्यालय अगाडि बुधबार आयोजित एक कार्यक्रममा उक्त सामग्री प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष रो. ईश्वर ताम्राकारले प्रतिष्ठानमा उपचारका लागि आउने अशक्त, हिँडडुल गर्न नसक्ने तथा प्यारालाइसिस भएका बिरामीलाई सहज सेवा प्रदान गर्न ह्वीलचेयर अत्यन्त आवश्यक भएकाले अस्पतालको आवश्यकता मध्यनजर गर्दै सहयोग प्रदान गरिएको बताए।
उक्त अवसरमा न्यू क्वालिटी स्टोर धरानका प्रोप्राइटर जीवन अग्रवालले व्यक्तिगत रूपमा थप एक थान ह्वीलचेयर प्रदान गरेका छन्।
सामग्री ग्रहण गर्दै उपकुलपति प्रा. डा. श्रेष्ठले मान्छे भएर जन्मिएपछि कहिलेकाहीँ सामाजिक कार्य गर्नुपर्ने उल्लेख गर्दै, नत्र मान्छे र जनावरबीच के फरक रहन्छ भन्ने प्रश्न गरे। उनले रोटरी क्लब अफ धरान घोपाले सराहनीय कार्य गरेको भन्दै क्लबले गरेको प्रत्येक लगानी सही ठाउँमा भएको र यस सहयोगबाट वास्तविक लाभग्राहीहरूले प्रत्यक्ष फाइदा लिने विश्वास व्यक्त गरे।
उनले कतिपयले विपी प्रतिष्ठानले सहयोग मागेको भन्ने गलत बुझाइ राख्ने गरेको उल्लेख गर्दै विश्वका धेरै विश्वविद्यालय, विमानस्थल तथा अन्य संस्थाहरूमा पनि दानदाताको सहयोग रहने गरेको बताए। धरानमा पनि यस्ता सहयोगको सुरुवात हुनु सकारात्मक र स्वागतयोग्य रहेको उनको भनाइ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्