नेभिगेशन
राजनिती

मजदुर भवन निर्माणका लागि एकलाख दिने मेयर चिन्तन तामाङको घोषणा

हिले धनकुटा । धनकुटा नगरका मेयर चिन्तन तामाङले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीको कार्यालय भवन निर्माणका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनकुटा जिल्ला कमिटीले मंगलबार हिलेमा आयोजना गरेको योजना कार्यशाला मार्फत सहयोग गर्ने घोषणा गर्नुभएको हो । 


२०३६ साल असार ९ गते स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका देशैभरी आफ्नै भवनहरु रहेका भएपनि संगठन स्थापना स्थल कोशी प्रदेश कमिटीको आफ्नै भवन पहिलो पटक बनाउन लागिएको र सबैको साथ सहयोगमा भवन निर्माण गरिने संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विषय प्रस्तुत गर्नुभएपछि कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मेयर तामाङले आफ्नो धनकुटा नगरको तर्फबाट एक लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको हो । मेयर तमाङले भन्नुभयो यहि प्रदेशमा स्थापना भएको संगठन हामी कोशी बासीकैलागि गौरवको विषय रहेकाले श्रमिकहरुको आफ्नै भवन निर्माणमा मेरो पूर्ण सहयोग हन्छ ।


इटहरी स्थित पूर्वपश्चिम राजमार्गको ट्राफिक प्रहरी कार्यालय उत्तरतर्फ दशधुर जग्गामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीको कार्यालय प्रयोजनका लागि यही अशोज १ गते शिलान्यास गरिने र निर्माण कार्य अघि बढ्ने संगठन कोशी प्रदेश अध्यक्ष गौरी लामाले बताउनुभयो ।
लामाका अनुसार संगठनको आन्तरिक स्रोत, मातहत कमिटीहरु, संगठनका नेताहरु, सहयोगी शुभेच्छुकह र तीनै तहका सरकारको सहयोगमा भवन निर्माण सम्पन्न गरिने लामाले बताउनुभयो ।
संगठनको धनकुटा कार्यशालाले आगामी असारसम्मको वार्षिक कामको योजना निर्माण गरेको छ ।


धनकुटामा विभिन्न १५ वटा रुटहरुमा कार्यरत श्रमिकहरुमाझ संगठन विस्तार गर्दै १ हजार सदस्यता बनाउने, पुराना दुइसय सदस्यहरुको नविकरण गर्ने । सडक दुर्घटना न्युनिकरण कार्यक्रम प्रत्येक महिना विभिन्न रुटहरुमा गर्ने, सडक सुरक्षा सचेतना सम्बन्धी स्टिकर प्रकाशन गर्ने लगायतको कार्यक्रमहरु तय गरिएको संगठन धनकुटा जिल्ला अध्यक्ष कमल थिङले बताउनुभयो ।
कार्यक्रममा जिफन्ट धनकुटा अध्यक्ष गणेश थापा, संगठन कोशी प्रदेश सचिव महेश घिमिरे, प्रदेश सदस्य तथा धनकुटा इन्चार्ज सिंह तितुङ संगठनका पूर्व केन्द्रीय सदस्य धिरेन्द्र थिङ लगायतका नेताहरुको सहभागीता रहेको थियो । कार्यशालामा धनकुटाका ४६ जना अगुवाहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती