नेभिगेशन
राजनिती

नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो पार्टी बन्छ : नेता गजुरेल

धरान, २९ मङ्सिर — नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले गर्नुभएको छ।
सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता गजुरेलले उक्त दाबी गर्नुभएको हो। धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित सभाअघि छाताचोकबाट मोटरसाइकल ¥याली सुरु भई पुरानो बजार, माछा भौडी, देशीलाइन, भानुचोक हुँदै पुनः छाताचोकको परिक्रमा गर्दै सभाहलमा पुगेर सभामा परिणत भएको थियो।


सभालाई सम्बोधन गर्दै गजुरेलले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भीम रावलजस्ता एमालेका पूर्व शीर्ष नेताहरू हाल एकीकृत नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले एमालेप्रति असन्तुष्ट हजारौँ नेता–कार्यकर्ता आगामी दिनमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने विश्वास व्यक्त गर्नुभयो। विभिन्न वाम धाराहरू एकीकृत भएर बनेको पार्टी भएकाले नेपाली कम्युनिस्ट पार्टी जनआधारित तथा वैकल्पिक शक्तिको रूपमा स्थापित हुँदै गएको उहाँको भनाइ थियो।


धरान राजनीतिक चेतना, पहिचान र समाजवादी आन्दोलनको ऐतिहासिक आधार भएको सहर भएकाले यहाँ पार्टी संगठन सुदृढ बनेमा सम्पूर्ण प्रदेशभर यसको प्रभाव विस्तार हुने गजुरेलको धारणा थियो।
सभामा पार्टीका नेता किरण राईले आत्मसमीक्षा र अनुशासनसहित पार्टी एकतालाई अझ धारिलो बनाउनु पर्नेमा जोड दिनुभयो। नेता जीवन राईले विगतका कमजोरी सच्याउँदै एकतालाई सुदृढ बनाएर नेपाली कम्युनिस्ट पार्टीले धरानको विकास र समृद्धिमा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेताहरू अर्जुन लामा, उद्धव लिम्बू, रञ्जित राई र रेवती रमण राईले पार्टी एकतालाई मजबुत बनाउनु नै वर्तमानको मुख्य आवश्यकता रहेको धारणा राखेका थिए।
एकता सन्देश सभामा नेताहरू मुक्सामहाङ मेन्याङ्बो (मुकेश), मनोज भट्टराई, उमिता बराइली तथा धरान उपमहानगरपालिकाका उपमेयर तथा पार्टी नेता अइन्द्र विक्रम बेघालगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती