नेभिगेशन
राजनिती

धरानमा दुर्गा प्रसाईको जनसभा, वान–वे उल्लङ्घनले जन्मायो ट्राफिक प्रशासनमाथि प्रश्न

धरान, सोमबार — दुर्गा प्रसाईको उपस्थितिमा धरानको भानुचोकमा सोमबार बृहत् जनसभा सम्पन्न भएको छ। जनसभालाई सम्बोधन गर्दै प्रसाईले देश युक्रेनजस्तै संकटतर्फ जान सक्ने अवस्था देखिएको भन्दै जनतालाई सचेत हुन आग्रह गरे। उनले फेरि पनि पुरानै नेताहरूलाई भोट दिए देशमा भ्रष्ट नीति–नियम मौलाउँदै जाने दाबी गर्दै अब परिवर्तनका लागि जनताले भोट परिवर्तन गर्नुपर्ने बताए।


नेकपा एमाले र नेकपा माओवादीका नेताहरूले गरिब जनतालाई भ्रममा पारेर भोट माग्ने र परिवर्तनको नाममा उल्टै दुःख दिने नीति–नियम बनाएको आरोप समेत प्रसाईले लगाए।
आफू मन्त्री बने देशका गरिब जनता, बैंकको ऋण तिर्न नसकेर घरजग्गा लिलामीमा परेका नागरिक तथा सुकुम्बासीका पक्षमा पहिलो प्राथमिकताका साथ परिवर्तन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
मेयर हर्क साम्पाङको सन्दर्भमा प्रसाईले अहिलेको समयमा राज्यका गलत नीति हटाउन सफल भए मात्र चुनावी प्रतिस्पर्धामा होमिनु उपयुक्त हुने भन्दै हालका लागि आफ्नो पदमै रहन सुझाव दिए।
उक्त जनसभामा सहकारी पीडित, बैंकको उच्च ब्याजदर तिर्न नसकेर घरजग्गा लिलामीमा परेका नागरिकहरू तराईका विभिन्न जिल्ला सहित विराटनगर, इनरुवा, भेन्टाबारी, झुम्का, लौकी, इटहरी र पथरीलगायत स्थानबाट हजारौं समर्थकहरूको उपस्थिति रहेको थियो।
यसैबीच, धरानमा चुनावी जनसभा गर्न आएका दुर्गा प्रसाई सवार गाडी भानुचोक माथिबाट ओरालो झर्दै वान–वे ट्राफिक नियमको विपरीत सञ्चालन गरिएको विषयलाई लिएर धरानवासीले गम्भीर प्रश्न उठाएका छन्। ट्राफिक प्रहरीकै अगाडिबाट नियम उल्लङ्घन गर्दा समेत कुनै कारबाही नहुनु आपत्तिजनक भएको स्थानीयको भनाइ छ।
“के वान–वे नियम सर्वसाधारणका लागि मात्रै हो ? नेताहरू किन ट्राफिक नियमको दायरामा पर्दैनन् ?” भन्दै नागरिकहरूले ट्राफिक प्रमुखसँग जवाफ मागेका छन्। सर्वसाधारणले सामान्य भूल वा नयाँ ठाउँबाट आउँदा वान–वे उल्लङ्घन गरे कारबाही हुने तर नेताहरूलाई छुट किन भन्ने प्रश्न उठाएका छन्।
घटनास्थलमा रहेका ट्राफिक प्रहरीले वान–वे विपरीत गाडी किन नरोकेको भन्ने प्रश्नमा आफूहरूलाई जानकारी नभएको र ट्राफिक प्रमुखलाई थाहा हुने बताएका थिए।
नीति–नियमको कुरा गर्ने नेताहरू स्वयं नियम मिचेर हिँड्दा जनताले के सिक्ने भन्ने प्रश्न पनि नागरिकस्तरबाट उठेको छ। यदि नेताहरूलाई ट्राफिक नियम लागू हुँदैन भने जनतालाई सानो गल्तीमा समेत कारबाही किन गरिन्छ भन्ने विषयमा धराने जनताको आक्रोश बढ्दै गएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती