नेभिगेशन
राजनिती

नेकपाप्रति जनआकर्षण बढ्दो : सह–संयोजक माधव कुमार नेपाल

धरान, १९ पुस — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले नेकपाप्रति जनताको आकर्षण निरन्तर बढ्दै गएको बताएका छन्।
पार्टीको इटहरी उप–महानगर समितिद्वारा आइतबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै सह–संयोजक नेपालले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १७ दल एकताबद्ध भइसकेपछि अन्य राजनीतिक घटकहरू समेत नेकपाको एकतामा सहभागी हुन इच्छुक देखिएको बताए। यसले नेकपाप्रति जनविश्वास र आकर्षण बढेको उनको भनाइ थियो।
नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तय भइसकेकाले त्यसको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। पार्टी एकताको सन्देश जिल्ला, पालिका, वडा हुँदै टोल–टोलसम्म पुर्‍याउन उनले आह्वानसमेत गरे।
कार्यक्रममा पार्टी नेता चिरन पुनले नयाँ पुस्ताको भावना बुझ्दै उनीहरूलाई राजनीतिमा सक्रिय रूपमा जोड्नुपर्ने आवश्यकता औंल्याए। त्यस्तै, नेता केशव बिष्टले यसपटकको निर्वाचनमा नेकपाले आफ्नो लाल किल्ला कायम राख्ने दाबी गरे।
एमालेका प्रदेश सदस्यसहित दर्जनौँ जेन्जिहरु नेकपामा प्रवेश
एकता सन्देश सभाकै अवसरमा नेकपा एमाले कोशी प्रदेश समिति सदस्य सुमन मग्रातीसहित चार दर्जनभन्दा बढी जेन्जिहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई सह–संयोजक माधव कुमार नेपालसहित पार्टीका नेताहरू चिरन पुन, शिवकुमार डाँगी, केशव बिष्टलगायतले अबिर र माला लगाएर स्वागत गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती