नेभिगेशन
राजनिती

प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा केशव पुरी पुनः निर्वाचित

धरान । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तकोशी बहुमुखी क्याम्पस, सुनसरीको बराहक्षेत्र–७ मा क्रियाशील पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालकाे तेस्रो इकाई अधिवेशनबाट केशव पुरी पुनः सभापतिमा निर्वाचित भएका छन्।
सभापति पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा पुरी र दिवस बिष्टबीच कडा प्रतिस्पर्धा भएको थियो। निर्वाचन परिणामअनुसार पुरीले १३ मत प्राप्त गर्दा बिष्टले १२ मत ल्याएका थिए। एक मतको झिनो अन्तरले पुरी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन्।
यसैगरी सचिव पदमा राजन इसार र उमेश खत्रीबीच प्रतिस्पर्धा भएकोमा इसारले १३ मत प्राप्त गरी एक मतको अन्तरले खत्रीलाई पराजित गरेका छन्। अन्य पदहरू भने सर्वसम्मत चयन भएको नवनिर्वाचित सभापति पुरीले जानकारी दिए।
नव निर्वाचित सात सदस्यीय कार्यसमितिमा सभापतिमा केशव पुरी, सचिवमा राजन इसार, कोषाध्यक्षमा दीपक श्रेष्ठ रहेका छन्। सदस्यहरूमा लक्ष्मीप्रसाद गड्तौला, नवीन भण्डारी, धनकुमार लिम्बु र पुष्प रिजाल रहेका छन्। क्याम्पस प्रमुख सुशील कोइरालाले सात सदस्यीय कार्यसमिति गठन भएको जानकारी दिए।
क्याम्पसमा कार्यरत २५ जना प्राध्यापक मध्ये सम्पन्न निर्वाचनमा सबै २५ मत खसेको थियो।
नव निर्वाचित कार्यसमितिले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, प्राध्यापकहरूको हकहित संरक्षण तथा क्याम्पसको संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती