नेभिगेशन
राजनिती

नेपाली कांग्रेस विशेष महाधिवेशनमा आज रातिदेखि नयाँ नेतृत्व चयनका लागि मतदान

काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको अवस्थामा उनीहरूको अग्रसरतामा भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा आज राति ९ बजेदेखि पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार हालसम्म सभापति पदमा गगनकुमार थापाको एकल उम्मेदवारी परेको छ भने महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे उम्मेदवार रहेका छन्।
अघिल्लो महाधिवेशनको विधानअनुसार पदाधिकारी चयन हुने भएकाले सभापति र दुई महामन्त्री पद निर्विरोध हुने अवस्था सिर्जना भएको आचार्यले जानकारी दिए।
उनका अनुसार विश्वप्रकाश शर्मा उपसभापति पदमा चयन हुनेछन् भने अर्को उपसभापति पद महिला, मधेशी वा जनजाति समुदायबाट चयन हुन सक्ने सम्भावना रहेको छ।
पदाधिकारी तथा सदस्य गरी कुल १३४ पद पूर्ति गर्नुपर्ने भएकाले सर्वसम्मतिका प्रयास भइरहे पनि सहमति जुट्न नसके विद्युतीय मतदान प्रणालीमार्फत निर्वाचन गरिने तयारी गरिएको उनले बताए। मतदानपछि रातभरमै नतिजा सार्वजनिक हुने अपेक्षा आयोजक पक्षको रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती