नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

धरानमा श्रम संस्कृति पार्टीको बृहत् सभा, ‘माटो समृद्धिको बाटो’ मुख्य नारा

धरान – श्रम संस्कृति पार्टीले धरानको भानुचोकमा बृहत् जनसभा आयोजना गर्दै ‘चुनाव चिन्ह माटो, समृद्धिको बाटो’ भन्ने मुख्य नारासहित चुनावी अभियान तीव्र बनाएको छ।
कार्यक्रममा हजारौं समर्थकको उपस्थिति रहेको थियो। सहभागीहरूले पार्टी अध्यक्ष हर्क साम्पाङ राईको तस्बिर तथा पार्टीको प्रतीक बोकेका थिए भने भानुचोक क्षेत्रमा माटो छरेर प्रतीकात्मक समर्थन जनाएका थिए।
विकास र सुशासनको प्रतिबद्धता
सभामा बोल्दै पार्टीका विभिन्न प्रतिनिधिहरूले देशको विकास, सुशासन तथा भूमिहीन, गरिब र पछाडि पारिएका वर्गको अधिकार सुनिश्चित गर्न पार्टी स्थापना गरिएको बताए। पुराना राजनीतिक दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै अब वैकल्पिक शक्तिको आवश्यकता रहेको उनीहरूको भनाइ थियो।
झापा–५ का उम्मेदवार समीर तामाङको प्रतिबद्धता
झापा क्षेत्र नं. ५ का उम्मेदवार समीर तामाङले देशलाई स्पष्ट नीति र नयाँ विकास योजनाको आवश्यकता रहेको बताए। उनले झापाका किसानका समस्या समाधान गर्ने, माटोको सुगन्ध जोगाउने र युवापुस्ताको भविष्य सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरे।
“अबको भोट आफ्ना सन्तानको भविष्य सम्झेर दिनुपर्छ,” उनले भने। युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी विदेशिनु पर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष राईको प्रहार
पार्टी अध्यक्ष हर्क साम्पाङ राईले सुनसरीका भूमिहीन, श्रमिक र पछाडि पारिएका वर्गको जीवनस्तर उकास्ने लक्ष्यका साथ उम्मेदवारी दिएको बताए।
उनले पुराना राजनीतिक दलहरू विकासभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाए। “पुराना दलले जति गीत गाए पनि अब हिट गीत हाम्रो नै हुन्छ,” उनले व्यंग्य गर्दै भने, “देशप्रेमी र देशका लागि पसिना बगाउनेले मात्रै साँचो विकास गर्न सक्छ।”
राईले भ्रष्टाचार अन्त्य, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधारलाई पार्टीको प्रमुख एजेन्डा भएको बताए। शिक्षामा व्यवहारिक र सीपमूलक प्रणाली लागू गर्नुपर्ने उल्लेख गर्दै उनले तीन दिन सैद्धान्तिक र तीन दिन व्यवहारिक शिक्षा प्रणालीको प्रस्तावसमेत अघि सारे।
धरान–बराहक्षेत्र–कालाबन्जार सडक निर्माण, पर्यटन प्रवर्द्धन तथा विदेशी पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिने उनको भनाइ थियो।
खानेपानी र सुकुम्बासी मुद्दा
धरानको प्रमुख समस्या खानेपानी समाधानका लागि आफूले निरन्तर संघर्ष गरिरहेको उल्लेख गर्दै राईले दीर्घकालीन समाधानका लागि केन्द्रसम्म आवाज पुर्‍याउन पार्टी गठन गरिएको स्पष्ट पारे।
सुकुम्बासी जग्गा रोकाको विषयमा उनले आफू मेयर हुनुभन्दा तीन महिना अगाडि नै केन्द्र सरकारले निर्णय गरिसकेको र स्थानीय सरकारको अधिकार क्षेत्रबाहिरको विषय भएको दाबी गरे।
अन्य दलप्रति टिप्पणी
सभामा बोल्दै राईले नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लगायतका दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाए।
उनले केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, गगन थापा र रवि लामिछानेलगायत नेताहरूको नाम उल्लेख गर्दै पुरानो शैलीको राजनीति परिवर्तन गर्नुपर्ने धारणा राखे।
राईले आफू मेयर हुँदा खानेपानीको व्यवस्थापनका लागि खोला खोल्ने जस्ता कार्यहरू सजिलो नभएको स्मरण गराउँदै केन्द्र सरकारले विश्वास नगरेकाले अब संघीय तहसम्म पुगेर बजेट सुनिश्चित गर्ने उद्देश्यले निर्वाचनमा होमिएको बताए।
उनले भ्रष्टाचारप्रति कडा चेतावनी दिँदै पार्टीका कुनै सदस्यले घुस खाएको प्रमाणित भए कडा कारबाही गरिने बताए। आफूले पनि गलत कार्य गरे जनताबाट सजाय भोग्न तयार रहेको उनको भनाइ थियो।
जनसमर्थन बढेको दाबी
आयोजकका अनुसार भानुचोक क्षेत्र समर्थकले भरिभराउ बनेको थियो। ‘माटो’ प्रतीकमार्फत समृद्धिको सन्देश प्रवाह गरिएको उक्त सभाले आगामी निर्वाचनमा पार्टीप्रति जनसमर्थन बढेको संकेत गरेको दाबी गरिएको छ।
पार्टी एक व्यक्तिबाट सुरु भई छोटो समयमै हजारौं सदस्यसम्म विस्तार भएको उल्लेख गर्दै देशव्यापी रूपमा अभियान विस्तार गर्ने तथा सुशासन, पारदर्शिता र श्रमको सम्मानमार्फत विकासको नयाँ अध्याय सुरु गर्ने दाबी गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति