नेभिगेशन
राजनिती

धरानमा ई–रिक्सा चालकहरूको र्याली, टीकाराम लिम्बूलाई समर्थन

धरान । धरानमा करिब एक सय ई–रिक्सा चालकले प्रतिनिधिसभा सदस्यका उम्मेदवार टीकाराम लिम्बूको समर्थनमा र्याली निकालेका छन्।
र्याली धरान–१५ बाट सुरु भई सदन स्कुल, बुढासुब्बा चोक, पिण्डेश्वर चोक, श्याम चोक, सहिद मार्ग, बाजेबोजु चोक, भोटेपुल, धनकुटे रोड, बुद्धचोक र रेल्वे क्षेत्र हुँदै नगर परिक्रमा गरेर सम्पन्न भएको थियो।
र्यालीमा सहभागी चालक तथा समर्थकहरूले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार टीकाराम लिम्बू र समानुपातिकतर्फकी उम्मेदवार मौसमी राईलाई विजयी गराउन मतदातासमक्ष अपिल गरेका थिए।
आयोजक पक्षका अनुसार श्रमिक, मजदुर, ज्येष्ठ नागरिक तथा शान्ति र स्थायित्व चाहने मतदाताले पार्टीप्रति विश्वास व्यक्त गर्दै उत्साहपूर्वक सहभागिता जनाएका छन्।
घरदैलो कार्यक्रमका क्रममा प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा उम्मेदवार लिम्बूले सुनसरी क्षेत्र नं. १ मा आफ्नो पक्षमा सकारात्मक माहोल बनेको दाबी गरेका छन्। उनले विगतका विकास निर्माणका कार्य, श्रमिक तथा मजदुरका हकहितका मुद्दा र स्थानीय आवश्यकतालाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुनसरी क्षेत्र नं. १ मा चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगको सूचनाअनुसार फागुन १८ गते दिउँसो १२ बजेदेखि चुनावी प्रचारप्रसारमा निषेधाज्ञा लागू हुने भएकाले दलहरूले प्रचारलाई तीव्रता दिएका छन्। आयोगले निषेधाज्ञापछि मतदातालाई प्रलोभन दिन वा आचारसंहिता उल्लंघन गरेमा कडा कारबाही हुने चेतावनी दिएको छ।
धरानसहित सुनसरीका विभिन्न क्षेत्रमा चुनावी सरगर्मी बढ्दै जाँदा मतदाताको उत्साह पनि उल्लेखनीय देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती