नेभिगेशन
राजनिती

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा वीरेन्द्र शाह

1000133510-1774286347.jpg
धरान  — चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वीरेन्द्र शाहको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।


अधिवेशनमा सुनसरी, झापा, इलाम र मोरङ जिल्लाबाट पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुंगाना चयन भएका छन् भने सचिवमा तुलसी प्रसाद निरौला र सोम सुनुवार निर्वाचित भएका छन्। उपसचिवमा विकल श्रेष्ठ तथा कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्।


त्यसैगरी सदस्यहरूमा स्नेह श्रेष्ठ, पारस मण्डल, रेखा पौडेल, सुनिल यादव, कविता घिमिरे, गोपाल पौडेल र निशान कडेल रहेका छन्। केन्द्रीय सदस्यमा सुमित्रा राई (सन्जु) र विकल श्रेष्ठ चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइराला रहेका थिए भने अध्यक्षता चलचित्र पत्रकार महासंघका अध्यक्ष सन्जु राईले गरेका थिए। कार्यक्रममा निवर्तमान केन्द्रीय अध्यक्ष समिप लामिछानेको पनि उपस्थिति रहेको थियो।
विशेष अतिथिका रूपमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, संस्थापक अध्यक्ष विक्रम लुइटेल, नेपाल चलचित्र संघका सल्लाहकार भीषण राईलगायत विभिन्न पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।


पत्रकारिताको भूमिका र चुनौती
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले चलचित्र पत्रकारहरूले कमजोर चलचित्रलाई पनि सकारात्मक ढंगले प्रस्तुत गर्दै दर्शकमाझ पुर्‍याउने भूमिका खेलेको बताए। उनले चलचित्र पत्रकारितामा राम्रो सम्भावना रहेको उल्लेख गर्दै जिम्मेवार र तथ्यपरक पत्रकारिता गर्न आग्रह गरे।


संस्थापक अध्यक्ष विक्रम लुइटेलले व्यक्तिगत चिनजानका आधारमा प्रचारमुखी समाचार लेख्नुभन्दा चलचित्रको सामाजिक प्रभाव, कथावस्तु र कमजोरीहरूलाई समेट्नुपर्नेमा जोड दिए।
त्यस्तै, चलचित्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष समिर बलामीले चलचित्र पत्रकारिता संस्थागत रूपमा सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रेस मिटलाई व्यवस्थित बनाउन आग्रह गरे। उनले देशभर १२ वटा संगठन विस्तार भइसकेको जानकारी दिँदै संघको विस्तार र सक्रियता बढ्दै गएको बताए।
नेपाल चलचित्र संघका सल्लाहकार भीषण राईले पत्रकारहरूको प्रभावले चलचित्रलाई दर्शकमाझ पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
चलचित्र क्षेत्र विकासमा सहयोग गर्ने प्रतिबद्धता
प्रमुख अतिथि नागेश्वर कोइरालाले विराटनगरमा चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


पत्रकारका लागि स्वास्थ्य सुविधा
नव–निर्वाचित अध्यक्ष वीरेन्द्र शाहले पत्रकारहरूको हितका लागि पारस हस्पिटलसँग सम्झौता गरिएको जानकारी दिए। उक्त सम्झौताअनुसार पत्रकारहरूलाई ओपिडी सेवामा पूर्ण वा आंशिक छुट, अपरेशनमा करिब ५० प्रतिशतसम्म छुट तथा आपतकालीन अवस्थामा विशेष सहुलियत प्रदान गरिनेछ।
पत्रकारका परिवारलाई पनि ३० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने र यो सुविधा आगामी तीन वर्षसम्म लागू हुने बताइएको छ। सम्झौता पारस हस्पिटलका सञ्चालक सखी उराउ र अध्यक्ष शाहबीच सम्पन्न भएको हो।
साथै, कोशी प्रदेशका उदीयमान तथा अग्रज चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने योजना पनि सार्वजनिक गरिएको छ।


शुभकामना व्यक्त
कार्यक्रममा चलचित्र पत्रकार संघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष सन्जु राईले नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा सत्य–तथ्यमा आधारित पत्रकारिता गर्दै चलचित्र क्षेत्रको विकासमा योगदान पुर्‍याउन आग्रह गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती