नेभिगेशन
फिचर

नम्बरी जग्गा राखेर ऋण पाउँदैनन् कोशी किनाराका व्यवसायी, दण्डित गर्दै स्थानीय तह  

धरान । २०८० माघ २७ गते तत्कालीन पर्यटन मन्त्री सुदन किरातीले सप्तकोशी नदी किनारस्थित उदयपुरको बेलकामा करोडौंको लगानीमा स्थापना गरिएको कोशी प्यालेस नामक होटलको उद्घाटन गरे । एक कट्ठा साढे १५ धुर जग्गामा ८ हजार स्क्वायेर फिटको भव्य बिल्डिङ बन्यो । ४ करोड १० लाख रुपैयाँ बढीको लगानीमा निर्माण भएको यो होटल यस क्षेत्रको पर्यटन र आतिथ्य क्षेत्रमा ठूलो लगानी हो । पर्यटन व्यवसायमा लगानी गरेका निजी लगानीकर्ता राज्यको नीतिका कारण व्यवसायबाट निराश हुँदै गएका छन् । 

राज्यले एक रुपैयाँ लगानी नगरेका पर्यटकीय सम्भावनाका क्षेत्रमा निजी लगानीकर्ता र व्यवसायीले लगानी गरेर पूर्वाधार निर्माण गरेका छन् । व्यवसायीले लगानी गरेर पूर्वाधार निर्माण गरेपछि मात्रै पर्यटकीय स्थलमा आगन्तुकहरुको आकर्षण बढ्छ । तर निजी लगानीकर्तालाई नै हतोत्साहित बनाउने नीति नियमले सप्तकोशी नदी किनारमा व्यवसायी उत्साहित छैनन् ।  

कोशी नदी किनार पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकका  लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तर तीन तहका सरकारले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न सकेका छैनन्, न सरकारले पर्यटकीय क्षेत्रका नाममा लगानी नै गर्न सकेको छ । निजी क्षेत्रबाट पर्यटकीय चहलपहल बढाउन प्रयत्न भइरहे पनि लगानीको वातावरण नबन्दा निराश हुनु परेको बेलका नगरपालिका–८ मा रहेको होटल कोशी प्यालेसका सञ्चालक सम्पत राई बताउँछन् । 

करोडौंको अचल सम्पतिलाई ऋणमा रुपान्तरण गर्न नसकेको व्यवसायी राईको गुनासो छ । बैंक तथा बित्तीय संस्थाले कोशी नदी किनारका जग्गामा ऋण प्रवाह नगर्दा व्यवसायीले आफ्नै नम्बरी जग्गा राखेर आर्थिक गतिविधि गर्न पाएका छैनन् । न उनीहरुले आफ्नो व्यवसाय र आम्दानी देखाएर ऋण लिन सकेका छन् । 

पर्यटन व्यवसायी राईको होटल सप्तकोशी नदीभन्दा निकै माथि छ । लगानी जोखिमका कारण देखाउँदै बैंकले ऋण दिन मान्दैन । तर सरकारले पर्यटकीय क्षेत्र घोषणा गरी व्यवसायीले ऋण प्राप्त गर्ने वातावरण बनाउन सक्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘कोशीभन्दा धेरैमाथि छ संरचना । यसको इन्स्योरेन्स पनि छ । लगानी जोखिमको कुरा उठ्दै उठ्दैन । तर पनि बैंकले ऋण दिंदैन ।’

कोशी किनारमै होटल व्यवसाय र पानी बोटमा लगानी गरेका पर्यटन व्यवसायी रमेश कार्कीले कोशी नदी किनारमै होटल बार्दली सञ्चालन गरेका छन् । ५० लाख रुपैयाँको संरचना निर्माण गरी उनले व्यवसाय गर्दै आएका छन् । उनको कम्पनीको डेढ बिघा जग्गा डुम्रिबोटेमा छ । तर कोशी किनारकै जग्गा भएकाले बैङ्किङ कारोबार हुन सकेको छैन । 

‘हाम्रो कम्पनीको ढेड बिगा जग्गा छ, विभिन्न बैंकमा लोन माग्यौं तर  कोशी नदी किनारकै जग्गा भएकाले बैंकले ऋण दिँदैन,’ व्यवसायी कार्की भन्छन्, ‘प्रोजेक्ट राखेर ऋण माग गर्दासम्म बैंकले काम गर्दैन ।’ पर्यटकीय क्षेत्रमा लगानीको वातावरण मिलाउन सरकारले चासो दिनुपर्ने व्यवसायी कार्कीको भनाइ छ । ‘पर्यटकीय क्षेत्र भएकाले प्रोजेक्टलाई आधार मानेर बैंकले ऋण सहजीकरण गरिदिए व्यवसायीले व्यवसाय गर्न पाउने थिए ।’ उनी भन्छन् । 

hotel-koshi-palace-belaka-1779534820.jpg
 

सांसदमार्फत सरकारको ध्यानाकर्षण

स्थानीय होटल व्यवसायीले नम्बरी जग्गा राखेर ऋण पाउन नसकेपछि सरकारको समेत ध्यानाकर्षण गराउँदै आएका छन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रममै कोशी नदीको आसपासका जग्गामा बैंकिङ लगानी हुनुपर्ने माग राख्दै नेता र सांसदहरुको समेत ध्यानाकर्षण गराएका छन् । 

व्यवसायीले कोशी नदी किनारलाई पर्यटकीय क्षेत्र घोषणा गर्न माग गर्दै उदयपुर क्षेत्र नं. १ का सांसद पारशमणि गेलाललाई समेत ज्ञापनपत्र बुझाएका छन् । ‘बैंकिङ भ्याल्युएसनका लागि भए पनि पहिलो नम्बरमा यो क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका छौं ।’ व्यवसायी सम्पत राईले भने । 

कोशी नदी किनारको उदयपुर क्षेत्रमा मात्रै १४ जना होटल व्यवसायी संगठित भएका छन् । नम्बरी जग्गा राखेर ऋण पाउन नसक्नु यी १४ वटै होटल व्यवसायीको साझा समस्या भएको उनीहरूको गुनासो छ । 

दण्डित गर्दै स्थानीय तह 

कोशी किनारमा रहेको आफ्नै नम्बरी जग्गाबाट स्रोत साधन उत्खनन् गर्न पाइँदैन । नदीको सम्भावित जोखिमका कारण राज्यका निकाय वन कार्यालयलगायतले यस्तो गतिविधिलाई अवैध भनेको छ । तर कोशी नदी किनारकै नम्बरी जग्गा सम्याएको र खारेको आरोपमा स्थानीय तहले व्यवसायीलाई दण्डित गरेको छ । 

बेलका नगरपालिकाको वडा नं. ८ मा पर्ने कोठुमा होटल बार्दलीसँगै जोडिएको व्यवसायी नारायण घिमिरेको २ कट्ठा जग्गा छ । उनले त्यहाँ होटल व्यवसाय प्रयोजनका लागि जमिन सम्याउने र खार्ने काम गरे । तर उनले कामको जिम्मा दिएको अप्रिम निर्माण कन्स्ट्रक्सनलाई स्थानीय तहले कारबाही स्वरुप २ लाख रुपैयाँ जरिमाना गर्‍यो । 
व्यवसायीहरुले यस्तो जरिमानालाई अन्यायपूर्ण भएको बताएका छन् । कुनै प्रकारको नसिहत नदिई सिधा आर्थिक जरिमानाको दण्ड चलाएको उनीहरुको भनाइ छ । बेलका नगरपालिकाले नगर प्रहरी पठाएर जमिन सम्याउँदै गरेका गाडी नियन्त्रणमा लियो । र, जरिमाना गर्‍यो २ लाख रुपैयाँ । 

shrilanka-tappu-katan-1779535329.jpg
 

हजारौं बिघा नम्बरी जग्गामा बग्दैछ कोशी नदी 

सुनसरीको वराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिका किसानको हजारौं बिघा जग्गामा अहिले सप्तकोशी नदी बगिरहेको छ । 

सप्तकोशी कटान तथा बाढीपीडित संघर्ष समितिले राखेको तथ्याङ्कअनुसार वराहक्षेत्रमा मात्रै ८ हजार ६ सय बिघा नम्बरी जग्गामा नदी बगिरहेको छ । त्यस्तै अवस्था बेलका नगरपालिकाको पनि छ । 
व्यवसायीहरुले पानीमुनिको जमिन राखेर ऋण मागेका होइनन् । कोशी नदी किनारको केही सय मिटर पर रहेका नम्बरी जग्गा राखेर व्यवसाय गर्न चाहेका हुन् । तर राज्यले किसान र व्यवसायीको हितमा नीति निर्माण गर्न नसक्दा नागरिकको हितमा राज्य नरहेको गुनासो गर्दै आएका छन् ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्