नेभिगेशन
समाचार

सप्तकोशीको दुर्घटनापछि पर्यटकीय स्थल बोराबाँधमा सञ्चालित मोटरबोट स्थगित

वराहक्षेत्र । सप्तकोशी नदीमा मोटरबोट दुर्घटनापछि प्रहरी प्रशासनले पर्यटकीय स्थल बोराबाँधमा सञ्चालन भइरहेको मोटरबोट स्थगित गरेको छ । 

सप्तकोशी नदीको अरुण नदी र दूधकोशीको संगम (खुवालुङ)  क्षेत्रमा यात्रुवाहक मोटरबोट  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । तीन जना बेपत्ता भएका थिए । प्रहरी प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि नदीमा पानीजहाज सञ्चालन गर्न बन्द गरेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख प्रहरी निरीक्षक बिक्रमबहादुर भट्टराईले जानकारी दिए ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–६ स्थित बोराबाँधमा पछिल्लो समय मोटरबोट आन्तरिक पर्यटकको मनोरञ्जनको साधन बन्दै आएको थियो । 

मोटरबोट बन्द भएपछि अहिले बोराबाँध क्षेत्रमा पुग्ने पर्यटकहरू काठका डुङ्गामार्फत सप्तकोशी नदीमा जलयात्रा गर्दै रमाइरहेका स्थानीय पर्यटनकर्मी इन्द्र तामाङले जानकारी दिए । 

'नदीको मनमोहक दृश्य र प्राकृतिक सौन्दर्यसँगै काठका डुङ्गामा सवार भएर पर्यटकहरूले मनोरञ्जन लिइरहेका छन्' उनले भने, 'मनोरञ्जनको साधनका रुपमा चल्दै आएको मोटरबाटो तत्कालका लागि बन्द भएको छ ।' 

गत वर्षको हिउँदमा अत्यधिक पर्यटकले भ्रमण गरेको यो क्षेत्र बर्खापछि आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार