नेभिगेशन
समाचार

सप्तकोशीमा दु:ख बगाउँछन् कोशी किनाराका राई जाति, वराहक्षेत्रमा भेला हुन्छन् आठपहरिया

 धरान । किरात राई जातिको मुन्दुममा वर्णित 'खुवालुङ क्षेत्र' मा दु:ख बगाउने धार्मिक विधि सुरु भएको छ । राई जातिको सभ्यता विकासको प्रस्थान विन्दु सप्तकोशी नदी र यसका सहायक नदीका किनारामा बसोबास गर्ने राई समुदायले यो विधि गर्दै, मान्दै आएका छन् । 

सुनसरी, उदयपुर, धनकुटा, भोजपुर क्षेत्रका किरात राई समुदायमा पितृ उद्धारको कामना गर्दै वर्षभरिका दु:ख नदीमा बगाउने परम्परा रहिआएको छ । दूधकोशी, सप्तकोशी र कोका खोलामा परम्परागत रुपमा खोला बहाउनी वा दु:ख बगाउने धार्मिक विधि हुँदै आएको हतुवागढी गाउँपालिका -९ का वडाध्यक्ष सन्जाल वायुङ राईले जानकारी दिए । 

'वर्ष दिनभित्र मृत्यु भएका परिवारले यस्तो धार्मिक विधि गर्ने परम्परा रही आएको छ,' वडाध्यक्ष राईले भने, 'हतुवागढी हसनपुरका राई समुदायले मूल कोशी दूधकोशीमा पुगेरै दु:ख बगाउने कर्म गर्दैआएका छन् ।' 

उनका अनुसार आजभोलि कोशीमै जाने क्रम भने हराउँदै गएको छ । पानीका अन्य स्रोतहरूमा नै विधि गर्दा हुन्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । 

दूधकोशी नदीमा हसनपुर हतुवागढी क्षेत्रका राईसमुदायले दु:ख बगाउने विधि गर्दै आएका छन् भने सप्तकोशी नदीमा मैनामैनीका राई समुदायले यस्तो विधि गर्छन् । यो नदी किनारमा बसोबास गर्ने किरात राई जातिको मुन्धुमी परम्परा हो । 

खोला बहाउनी गरिसकेपछि मात्रै मृतकका परिवार र आफन्तहरू पूर्ण रूपमा चोखिन्छन् । यसपछि मृतकको आत्मा 'पितृ' (माङ) मा परिणत भएको मानिन्छ र उनलाई घरको मूल चुल्हो (सुप्तुङ) मा स्थान दिइन्छ ।

यस कार्यमा गाउँका भद्रभलाद्मी, नातागोता र धामी/बिजुवा (नाछुङ वा धामी) को उपस्थिति अनिवार्य हुन्छ । उनीहरूले मुन्धुम फलाकेर पितृकार्य सम्पन्न गराउँछन् । 


कोका तथा सप्तकोशी नदीमा आठपहरियाहरूले पितृ कार्य गर्दै आएका छन् । वर्षभरि मृत्यु शोकमा परेका आठपहरिया परिवारका सदस्यहरू आफ्नो मौलिक वेषभूषामा धनकुटाको महाभारतलगायतका क्षेत्रबाट तीन दिनको पैदल यात्रा गर्दै कोका खोला र कोशीको किनारमा पुग्छन् ।

कोका खोला र कोशीको पवित्र जलमा पुगेपछि मृतकका आफन्त वा मुख्य दुःख बोक्ने (बरखी बार्ने) व्यक्तिहरूले आफ्नो कपाल, दाह्री र जुँगा मुण्डन गर्छन् । 

मुन्धुमी विधिअनुसार खोलाको बग्दो पानीमा मृतकको नाममा मुन्धुम गरिन्छ । धामी वा नछुङले मृतकको आत्मालाई पितृलोक (साम्खा) तर्फ बिदाइ गर्छन् र जीवित परिवारको शोक, आँसु र दुःखलाई कोशीको पानीसँगै बगाइदिन्छन् । खोलामा चोखिएर दुःख बगाइसकेपछि उनीहरूले वराह भगवानको दर्शन गर्छन् र विधिवत रूपमा आफ्नो बरखी फुकाउँछन् ।

दुःख बगाउने कर्म आठपहरियाहरूको प्रमुख चाड वाडाङ्मीको अवसरमा गरिन्छ । विशेष गरी नेपालको पूर्वी पहाडी क्षेत्र धनकुटा यहाँको खाल्सा क्षेत्र वरपर बसोबास गर्ने आठपहरिया राई तथा अन्य किरात राई समुदायमा परम्परादेखि चल्दै आएको छ । 

कोशीमा दुःख बगाएर फर्किएपछि मात्र उनीहरू घरमा ढोल नाँच (वाढङ्मेट नाँच) नाँच्छन् र उत्सव मनाउँछन् । कोशीमा दुःख नबगाएसम्म सो वर्ष मृत्यु भएका परिवारमा कुनै पनि खुसीयाली वा चाडपर्व मनाइँदैन । वाडाङ्मी/ वाडाङ्मेट वा पापानी पर्व प्रत्येक वर्ष कात्तिक पूर्णिमादेखि सुरु हुन्छ ।  यो पर्व कात्तिक पूर्णिमा वा त्यसपछिको पहिलो मङ्गलबारदेखि औपचारिक रूपमा सुरु हुने परम्परा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार