नेभिगेशन
आर्थिक

मौसम बिग्रिएपछि सयपत्री फूल किसानको चिन्ता, चक्रवातको त्रास

धरान । तिहारलाई लक्षित गर्दै सयपत्री फूलको खेती गरेका किसान एक्कासी मौसम बिग्रिएपछि चिन्तित बनेका छन् । खेतीमा फूल फक्रिसकेको छ । तर बङ्गालको खाडीबाट विकसित भएको अर्णव नामक चक्रवातका कारण हावाहुरी र पानी पर्न थालेपछि फूल सोत्तर हुने हो कि भन्ने किसानमा चिन्ता बढेको छ । 

वराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । हावा-पानीले फूल नष्ट गर्ने हो कि भन्ने उनलाई चिन्ता छ । 

विगत पाँच वर्षदेखि तिहारलाई लक्षित फूलखेती गर्दै आएका विष्टले यस वर्ष ‘टेबल टेनिस’ जातको सयपत्री फूल लगाएका छन् । ‘पोहोरको तुलनामा फूलको उत्पादन राम्रो भएको छ ।' विष्टले भने ।  तिहार नजिकिँदै गर्दा मौसममा परिवर्तन भइरहेकाले वर्षा र तीव्र हुरीबतासले पुनः खेतीमा क्षति पुर्‍याउने हो कि भन्ने चिन्ता बढेको उनले बताए । 

बर्सेनि प्रतिकूल मौसमको मार खेप्दै आएका विष्टले गत वर्षसमेत बर्खाकै कारण ठूलो क्षति बेहोर्नु परेको थियो ।  'पोहोर पनि १० कट्ठाभन्दा बढी जग्गामा फूल लगाएको थिएँ, बर्खाकै कारण ठूलो नोक्सानी भोग्नुपर्‍यो,' विष्टले भने, 'थोरै जोगिए पनि बजारमा फूलले राम्रै मूल्य पायो ।' उनले गत वर्षसमेत दुई लाख रुपैयाँ बढीको फूल बिक्री गरेको बताए ।

यसपटक तिहार केही ढिला भएकाले फूलको माग तथा बिक्रीमा असर पर्न सक्ने उनको अनुमान छ । यस वर्ष फूल प्रतिकिलो ४०० देखि  ५०० सम्ममा बिक्री हुन सक्ने उनको अनुमान छ ।

वराहक्षेत्र-२ स्थित जब्दीमा सयपत्री फूलको खेती गरेका कुशल दाहालको खेतीमा केही दिन अघि नै फूल फुल्यो । उनले धरानस्थित कृषि बजारमा रहेको शीत भण्डारमा केही फूल भण्डारण गरे । तर निरन्तर पानी परिरहेकाले फूल टिप्न सकिएन । अझै फूल खेतीमै छ । हावाहुरी र वर्षाले फूल नष्ट गर्ला कि भन्ने उनलाई पनि पीर छ । 

धरान कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार तिहार केही ढिला हुने भएपछि किसानका खेतबारीका फूल साता दिनअघि नै फुलिसकेका छन् । भारतलगायतका बाह्य बजारबाट फूल उत्ति धेरै आउने सम्भावना छैन । तर स्थानीय कृषकले समेत तुलनात्मक रुपमा यो वर्ष बढी मूल्य पाउने अवस्था छैन । सुनसरी जिल्लामा सयपत्री फूल खेती उल्लेखनीय मात्रामा छैन । बाहिरी जिल्लाबाटै कृषि बजारमा फूल आउने गरेका छन् । 

कृषक अर्जुन विष्ट भारतबाट आयात हुने फूलको समयमै क्वारेन्टाइन जाँच गरी गुणस्तर परीक्षणमा कडाइ गर्नुपर्ने बताउँछन् । भारतमा उत्पादन भएका फूल नेपालका दमक, धरान र विराटनगरलगायतका स्थानमा रहेका शीतभण्डारमा करिब १५ दिन अगाडिदेखि नै ल्याएर भण्डारण गरी राख्ने र पछि नेपाली बजारमा पठाउने गरिएकाले आयातित फूल बजारमा आउँदा स्वदेशी किसानले उत्पादनको उचित मूल्य पाउन समस्या हुने गरेको उनको भनाइ छ ।

आयातित फूलको नियमन प्रभावकारी भए स्वदेशी किसानले उचित बजार पाउने विष्टको विश्वास छ । स्वदेशी फूलको प्रयोग बढेमा नेपाली किसानलाई प्रोत्साहन मिल्नुका साथै देशभित्रै रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने साथै बेरोजगार युवालाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सकिने उनले बताए । 

गत वर्ष काठमाडौँबाट ल्याइएको बिरुवा अग्लो हुने र फूल कम फुल्ने समस्या देखिएकाले यसपटक बुटवलस्थित एग्रो कम्पनीबाट बिरुवा ल्याएर खेती गरिएको विष्टले बताए । बिरुवाको जात र खेती गर्ने तरिका परिवर्तन गरेकाले यस वर्ष उत्पादन राम्रो भएको उनको भनाइ छ ।

विष्टले खेतबाटै स्थानीय उपभोक्तालाई फूल बिक्री गर्दै आएको बताउँछन् । वराहक्षेत्र नगरपालिका–६, ७ र ८ का स्थानीय बासिन्दा फूल किन्न खेतमै आउने गरेका छन् । खेतबाटै फूल खरिद गर्ने ग्राहकलाई बजारको तुलनामा प्रतिकिलो २० रुपैयाँसम्म सस्तो मूल्यमा बिक्री गर्ने गरेको उनले बताए । धरान र इटहरीबाट समेत ग्राहक फूल खरिद गर्न खेतमा आउने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक