सुनसरी । बेलायती समुद्री जहाज 'टाइटनिक' इङ्ल्याण्डको साउथ ह्याम्प्टनबाट न्यूयोर्क शहरको लागि आफ्नो पहिलो यात्रामा निस्किएको थियो । अप्रिल १५ सन् १९१२ मा उत्तरी एट्लान्टिक महासागरमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा क्यानडाको न्यु फाउन्डल्याण्डबाट लगभग ३५० माइल दक्षिणपूर्वमा पत्तो लागेको थियो । टाइटनिक दुर्घटना हुँदा २२४० यात्रु र चालक दलका १५०० भन्दा बढीको ज्यान गएको थियो ।
उत्तरी एट्लान्टिक महासागरमा टाइटनिक डुबेको ५६ वर्षपछि सन् १९६८ को सुरुवातमा कोशी (अरुण नदी) नदीमा ‘शेर्पा’ नामक बोट डुबेको थियो । सर एडमन्ड हिलारी, जोन हेमिल्टन र जिम विल्सनले सेप्टेम्बर १९६८ मा दुर्गम गाउँहरूमा सञ्चार आदान प्रदानको प्रयासमा सुनकोशी र यसका सहायक नदीहरूको अन्वेषण गर्न यात्रा सुरु गरेका थिए । सोही क्रममा शेर्पा नामक बोट कोशीमा हराएको थियो । यो तथ्य ‘म्याथ्यू फालो’ ले ‘ह्यामिल्टन जेट हिमालयन अभियान’ नामक उनको पुस्तकमा उल्लेख गरेका छन् ।
सन् २००६ मा ‘शेर्पा–२’ नामक बोट स्थानीयले पुन: सञ्चालनमा ल्याए । यो बोट सन् १९६९ मा बनेको तथ्य छ । त्यसको एक वर्षपछि सन् २००७ अर्थात वि.सं. २०६४ सालदेखि सुम्निमा जल यातायात प्रालिले व्यवसायिक रुपमा जेटबोट सञ्चालनमा ल्याएको थियो । ‘शेर्पा–२’ सञ्चालनमा आएको ४ वर्षपछि र 'सुम्निमा' सञ्चालनमा आएको तीन वर्षपछि सप्तकोशी नदीमा पुन: एउटा भयानक दुर्घटना भयो । १२ सेप्टेम्बर सन् २०१० मा सप्तकोशी नदीमा सुम्निमा जल यातायात प्रालिले सञ्चालन गरेको बोट दुर्घटनामा पर्यो । न मोटरबोट फेला पर्यो, न दुर्घटनामा बेपत्ता मान्छे नै भेटिए ।
कोशी नदीमा जलयातायात र पर्यटनको सम्भावनालाई मध्यनजर गरेर हरि वैरागी दाहाल, प्रदीप नेपाल, गङ्गाराज अधिकारी, तत्कालीन डिआईजी ज्ञानेन्द्रराज राई र म्यानेजिङ डाइरेक्टरका रुपमा विनोद अर्यालको संयुक्त लगानीमा 'सुम्निमा' सञ्चालन गरिएको थियो । कोशीको गर्भभित्र 'सुम्निमा' विलिन भएपछि लगानीकर्ताहरुको सपना पनि पानीमै हराए गयो ।

दुर्घटनाको कथा
२०६७ साल भदौ २७ विश्वकर्मा पूजाको दिन थियो । बर्खापछि पानीजहाज चलाउने समय सुरु हुनै लागेको थियो । सुम्निमा जलयातायात प्रालिका ९ जना कर्मचारी सप्तकोशी नदीमा पानीको वहाह र अवस्था जाँच गर्न (ट्रायल) का लागि भोजपुरको कोप्चेतर्फ लागेका थिए । कोशीमा असार-साउनको भेल थामिँदै थियो । बर्खा सकिएको अनुमानपछि जेटबोटका कर्मचारी यात्रुलाई सेवा दिने उद्देश्यले अगाडि बढेका थिए । चतराबाट ठाडो नदी पार गर्दै बोट वराहक्षेत्रतर्फ हानिँदै थियो ।
'सुम्निमा' को भारवहन क्षमता ३५ सय केजी थियो । बोटमा सामान्यतया २५ जना यात्रु बोक्ने गरिएको थियो । यो जेटबोटले प्रतिघण्टा ८० किलोमिटर दूरी तय गर्थ्यो । ५०० हर्जपावरको क्षमता भएको यो जेटबोट बडो रफ्तारसँग पानीमा दौडन्थ्यो ।
जेटबोट भित्र्याउँदा दुई जना अमेरिकी प्राविधिकलाई कप्तानका रुपमा ल्याइएको थियो । यी दुई प्राविधिकले नेपालीहरुलाई जेटबोट सञ्चालन गर्न प्रशिक्षण दिएका थिए ।
भदौ महिनाको अन्त्यतिर तत्कालीन कप्तान किशोर तामाङ जेटबोट (सुम्निमा) हाँकिरहेका थिए । 'सुम्निमा' कै ९ कर्मचारी बोटमा सवार थिए । सुनसरीको पवित्र तीर्थस्थल वराहक्षेत्रमुनि त्रिशुले घागीको छाल (र्यापिड) सदाझैं डरलाग्दै थियो ।
सुम्निमामा सवार तत्कालीन कर्मचारी सूर्य राई भन्छन्, 'पानीको वहाव बिस्तारै घट्दै थियो, जलयातायात सञ्चालन गर्ने उद्देश्यले हामी ट्रायलका लागि कोप्चेतर्फ लाग्दै थियौं । झण्डै ३ वर्ष हामीले सफलतापूर्वक कोशीमा जेटबोट चलाएका थियौं । त्यही वर्ष असोज लाग्नै लागेको थियो । पानी घट्यो अब बोट चलाउनु पर्छ भनेर हामी भोजपुरतर्फ उक्लदै थियौं । अरुबेला पनि हामी त्रिशुले घागी छलेर बायाँतर्फबाट वराहक्षेत्र हुँदै कोप्चेतर्फ लाग्थ्यौं । त्यस दिन कप्तान किशोर तामाङ थिए । त्रिशुले घागी अगाडि बोटको सिङ्गल इन्जिन चलेको थियो । अचानक घागीमा बोट पस्यो । कप्तानले डबल इन्जिन चलाए तर ठूलो छाल आएर बोटलाई छोप्यो । डबल इन्जिन स्टार्ट गर्दानगर्दै बोट पानीमुनि डुब्यो । हामी ज्यान बचाउन कोशीमा फाल हान्यौं । कोशी पेट्रोलका ड्रमको सहायताले तैरिए । कोशी किनारातर्फ फाल हाने । तर हामीसँगै सवार रमेश कार्की बेपत्ता भए । आजसम्म न सुम्निमा भेटियो न बेपत्ता साथी नै फेला परे ।'
दुर्घटनामा परेका ९ जनामध्ये ८ जना पौडेर निस्किए । एक जना बेपत्ता भए ।
'सुम्निमाको दुर्घटना टाइटनिक चलचित्र भन्दा कम थिएन ।' दुर्घटनामा परेका जङ्गबहादुर राई भन्छन्, 'हामी जसोतसो पाखामा निस्कियौं । त्यो दिनको सम्झना गर्दा पनि कहाली लाग्छ ।'
दुर्घटनामा परेका ९ जनामा ८ जना पौडेर निस्किएका थिए ।
१. जंगबहादुर राई
२. सूर्य राई
३. दोर्जी शेर्पा
४. इद्धराज राई
५. साने राई (कप्तान हाल)
६. किशोर तामाङ (तत्कालीन कप्तान)
७. कालू राई
८. अन्डरटेकर तामाङ
९. रमेश कार्की (कोशीमा बेपत्ता भएको)

त्रिशुले घागीको समस्या उस्तै !
अधिकांश जलयातायात व्यवसायी सरकारले नदीमा चल्ने स्टिमरदेखि जेटबोटसम्म ढुक्कले सञ्चालन गर्ने वातावरण नबनाएको गुनासो गर्दै आएका छन् ।
बजेट र नीतिमै निर्वाध रुपमा पानी जहाज सञ्चालनका लागि बाटो खुल्नुपर्ने जलपर्यटन व्यवसायीहरू बताउँछन् । कोशी नदीमा जलयातायात सञ्चालन गर्न लगानी गरेका व्यवसायी कोशीका पानीबाट बोट पाखामा राख्न बाध्य छन् ।
कोशी नदीमा हाल एउटै मात्र यात्रुवाहक जेटबोट सञ्चालन हुँदै आएको छ । भोजपुरको चुहारा र कोप्चेसम्म पुग्दै आएको जेटबोटले त्रिशुले घागीमा मान्छे उतारेर वराहक्षेत्रबाट पुनः चढाउने गरेको छ । यो गत केही वर्षदेखिको समस्या हो ।
गत वर्ष पानी जहाज कार्यालयको १० लाख रुपैयाँ बजेटबाट स्काभेटर लगाएर ढुङ्गा पन्छाउने काम भएको थियो । तर समस्या समाधान भएन । समस्या ज्युँ का त्युँ छ । 'वरको सिन्को पर' नसरेको जेटबोट कप्तान प्रवीण राई बताउँछन् । व्यवसायी दिनेश खवासका अनुसार बर्खापछि भोजपुरको रानीटारसम्म रुट क्लियर गर्ने पानी जहाज कार्यालयले आश्वासन दिएको थियो । तर बालेन सरकारको ‘१०० कार्ययोजना’ अनुसार अनावश्यक सरकारी संस्था खारेज गर्ने तयारी गरिएको उल्लेख छ । यसअन्तर्गत अनावश्यक वित्तीय भार थप्ने सरकारी संघ–संस्थाहरू खारेज गर्ने प्रक्रिया अघि बढाइने उल्लेख छ । यो सूचीमा पानी जहाज कार्यालयसमेत रहेको बताइएको छ ।

जलयातायातको सपना
प्रधानमन्त्री केपी शर्मा ओलीको २०७४ चैत २३ देखि २५ गतेसम्म भएको भारतको राजकीय भ्रमणका क्रममा जलयातायात सञ्चालन गर्ने विषयमा सहमति भएको थियो । भ्रमणका क्रममा ‘इन्ल्याण्ड वाटरवे’ सञ्चालनसम्बन्धी दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसयता प्रधानमन्त्री ओलीले देशको आफ्नै पानीजहाज चल्ने, हिन्दमहासागरमा नेपाली झण्डा फहराउने विषयमा भाषण गर्दै आएका थिए ।
यस्तै पछिल्लो समय २०८० जेठमा नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण गरिएको थियो । यो नवीकरणले नेपालबाटै समुद्रसम्म पानीजहाज सञ्चालन गर्न सक्ने बाटो खोलेको थियो । त्यतिमात्र होइन पारवहन सन्धि नवीकरणपछि नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहितको सुविधा प्राप्त गरेको थियो ।
तर भारतले नेपालको जलयातायातलाई प्राथमिकता नदिएपछि सम्झौता कार्यान्वयन हुन सकेन । प्रधानमन्त्री ओलीको बोली त्यसै खेर गएको थियो । बर्खामा बगेको ढलमा कागजका डुङ्गा तैर्याउँदै उनीमाथि सामाजिक सन्जालमा 'केपी ओलीको पानी जहाज' भन्दै खिसिट्युरी गरिएको थियो ।
प्रधानमन्त्री ओलीले बोल्नु भन्दा अघि नै सप्तकोशी नदीमा सञ्चालित जेटबोटलाई 'नेपालको पानी जहाज' का रुपमा प्रवर्धन गरिएको थियो । स्थानीय व्यवसायीले ओलीको सपनामा काम गरिरहेको बताउँदै कानुनी विषय, संरचना निर्माण र नीतिगत सहयोगको याचना गरेका थिए ।
सम्भाव्यता अध्ययन
प्रधानमन्त्री ओलीले २०७५ फागुन २ गते उद्घाटन गरेको पानी जहाज कार्यालयल सम्भाव्यता अध्ययनको काम भने गरेको छ ।
पानीजहाज कार्यालयको तथ्याङ्क अनुसार कर्णाली नदीमा ११५ किलोमिटरको खक्रोला–खिमडी खण्डमा सम्भाव्यता अध्ययन गरिएको छ । कालीगण्डकीमा राम्दी–देवघाट खण्डको ९५ किलोमिटर जलमार्ग अध्ययन गरिएको छ । यस्तै सप्तकोशीमा ७५ किलोमिटरको चतरा–तुम्लिङटार, नारायणीमा ८५ किलोमिटरको देवघाट गण्डक खण्ड, राप्तीमा सिक्टा–भालुवाङ १०२ किलोमिटर खण्डको सम्भाव्यता अध्ययन गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा सुनकोशी, अरुण, तामाकोशी र सुनकोशी नदीमा अध्ययन गरेको थियो । अरुण नदीमा १५३ किलोमिटर र तामाकोशी र सुनकोशी ६३.५ किमीसम्म विस्तृत गरेको थियो ।
यी अध्ययनले कोशी, गण्डकी, कर्णाली र नारायणीमा १०० टन क्षमता जहाज चलाउन सकिने देखाएको थियो । त्यसका लागि नदीमा डिग्रेडिङ, च्यानलिङ, टर्मिनल निर्माण र स्पर निर्माणको काम गर्नुपर्ने अध्ययनले सुझाव दिएको थियो ।

बजेटमा जलयातायात
आर्थिक वर्ष २०६७/६८ मा तत्कालीन अर्थ मन्त्री सुरेन्द्र पाण्डेले जल यातायात पूर्वाधारको विकासका लागि सम्भाव्यता अध्ययन गर्न सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको टोलीले अरुण र तमोर नदीको स्थलगत अध्ययन गरेको थियो । तत्कालीन सरकारले दोलालघाट- चतराघाट-कोसी ब्यारेज, देवघाट-मिर्मी, देवघाट-त्रिवेणी र देवघाट-त्रिशूली (मुग्लिन) नदीका रुटमा जलमार्ग विकासको सम्भाव्यता अध्ययन गर्ने जनाएको थियो ।
त्यतिबेलै सुनसरीको चतराघाटबाट धनकुटाको सिम्ले र भोजपुर भचुवासम्म साथै र कालीगण्डकीबाट पर्वतको मिर्मीसम्म जेटबोट सञ्चालन भइरहेका थिए ।
आर्थिक वर्ष २०६८/६९ मा तत्कालीन उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको बजेटमा 'कोशी नदी लगायतका ठूला नदीमा जलमार्गको विकास सुरु गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।' उल्लेख छ ।
आर्थिक वर्ष २०७३/७४ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा 'पानीजहाज सञ्चालनको कानुनी तथा संस्थागत तयारी गरिने छ ।' भनिएको थियो ।
आव २०७५/७६ मा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा कोशी, गण्डकी र कर्णाली नदीमा जलमार्ग यातायातको सञ्चालनका लागि सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरिने छ ।
आव २०७६/७७ मा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा 'जलयातायातलाई मुलुकको आन्तरिक र बाह्य आवद्धता बढाउने सबैभन्दा किफायती यातायातको साधनको रुपमा विकास गर्न आवश्यक नीतिगत, कानुनी र अन्य पूर्वाधार तयारी गर्न तथा नारायणी र कोशी नदीमा जलयातायात पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छु ।' भनिएको छ ।
आव २०७७/७८ अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा 'आन्तरिक जल यातायात पूर्वाधार विकास गर्न कोशीको चतरा देखि तुम्लिङ्गटार, नारायणीको त्रिवेणीदेखि देवघाट हुँदै राम्दी र कर्णालीको खक्रौला देखि खिमडीसम्म जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरिनेछ। नेपालको आफ्नै ध्वजावाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जानसक्ने गरी सञ्चालन गर्न पूर्वाधार निर्माण तथा कानूनी व्यवस्था गरिनेछ ।' भनिएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत बजेटले ‘देशको ठूला नदी प्रणालीमा जलयातायात सञ्चालन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गरिनेछ ।' भनेको थियो । यसैमा 'चतराबाट भोजपुरसम्म जल यातायात सञ्चालन गर्नको लागि टर्मिनललगायतका पूर्वाधार निर्माण गर्ने र जलमार्गका अवरोधहरु हटाउने ' उल्लेख गरेको थियो ।
आव २०७९/८० मा अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा 'जल यातायात सेवालाई प्रवर्द्धन गर्न कोशीको चतरा, नारायणीको नारायणघाट र कर्णालीको चिसापानीमा फेरी टर्मिनल निर्माण कार्य प्रारम्भ गरिनेछ। यी लगायत सम्भाव्य स्थानहरूमा सार्वजनिक निजी साझेदारीमा टर्मिनल निर्माण गरिनेछ ।' भनिएको थियो ।
आव २०८१/८२ मा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेटमा 'सुनकोशी र नारायणी नदीमा जलमार्ग निर्माण शुरू गरिनेछ। नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लन सहज र सुरक्षित हुने गरी टर्मिनल निर्माण गरिनेछ ।' भनिएको थियो ।

'बालेन सरकार' को बाली बनाउने योजना !
गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनअघि हालका प्रधानमन्त्री वालेन्द्र शाहले कोशी नदी किनार (कोस्टल एरिया) लाई इन्डोनेसियाको बाली र माल्दिभ्ससँग तुलना गरेका थिए ।
इटहरीस्थित चुनावी सभालाई सम्बोधन गर्दै शाहले सुनसरी र उदयपुरको सीमारेखा सप्तकोशी नदीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आशय व्यक्त गरेका थिए । जेटबोट आफैंले चलाउँदै उनले बनाएको भिडिओ सामाजिक सञ्जाजालमा 'भाइरल' बनेको थियो । उनको अभिव्यक्तिले कोशीका समस्याबाट दशकौंदेखि पीडित जनतामा आशाको सञ्चार भएको थियो ।
कोशी नदी किनारमा रहेका सुनसरीको वराहक्षेत्र, उदयपुरको बेलका नगरपालिका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र पर्यटकीय स्थल हो । जलमार्गको विकास र निजी लगानी भित्र्याउन सरकारले पहल गर्ने हो भने यो क्षेत्र कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।
जल पर्यटनमा पानीजहाज र र्याफ्टिङका अलावा जेटस्की, पारासाइलिङलगायतका सम्भावनाको विकास गर्न सकिने पर्यटन व्यवसायी बताउँछन् । आकाशमा प्याराग्लाइडिङ, हट एयर बलुन, जमिनमा पैदलयात्रा, ट्रेल सञ्चालन गर्न सक्ने अथाह सम्भावना रहेको स्थानीय पर्यटन व्यवसायी रमण भट्टराई बताउँछन् ।
वराहक्षेत्र र बेलकालाई राज्यले धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल घोषणा गरी विकास र प्रवर्धन गर्नु पर्ने मागसहित यी स्थानीय तहले पर्यटन महोत्सवको आयोजना गरिसकेका छन् । यी पालिका पर्यटनका कार्ययोजना बोकेर बसिरहेका छन्, सङ्घीय सरकारको बाटो हेरिरहेका छन् ।