नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

भ्रष्टाचार अभियुक्तको उद्घाटन मोह! गाउँपालिकाको अनुमतिविना बस्नेतको अड्डा, स्थानीय तह र दल आक्रोशित

सिन्धुपाल्चोक —
३ अर्ब २१ करोड रुपैयाँको टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएर निलम्बित भएका पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेत अब ‘उद्घाटन मोह’मा फसेका छन्।

सुनकोशी गाउँपालिका–२ ठोकर्पामा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनको उद्घाटन बस्नेतबाट गराउने प्रचार सुरु भएसँगै गाउँपालिकादेखि प्रमुख राजनीतिक दलहरू आक्रोशित भएका छन्। पालिकाले औपचारिक विज्ञप्ति जारी गर्दै बिना अनुमति उद्घाटन नगराउन चेतावनी दिएको छ।

पालिकाले कडा चेतावनी
गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले स्पष्ट रूपमा उद्घाटन नगर्न/नगराउन निर्देशन दिएका छन्। उनले भ्रष्टाचार अभियुक्त सहभागी कार्यक्रममा कर्मचारी र जनप्रतिनिधिलाई समेत सहभागी नहुन सर्कुलर पठाएका छन्। “पालिकाको स्वीकृति विना गरिएको उद्घाटनको जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाले लिनुपर्नेछ,” विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रम स्वीकृति स्वास्थ्य मन्त्रीलाई, बस्नेत किन?
बैशाख २५ को गाउँ कार्यपालिका बैठकले स्वास्थ्य मन्त्री प्रदीप पौडेलबाट उद्घाटन गराउने निर्णय गर्दै कार्यक्रम व्यवस्थापनका लागि एक लाख रूपैयाँ पेस्कीसमेत दिइसकेको अवस्थामा बस्नेतको नाममा प्रचारप्रसार सुरु भएको हो। यसले पालिकालाई अचम्ममा पारेको छ।

दलहरूको प्रतिकारको चेतावनी
नेकपा एमाले र माओवादी केन्द्रको गाउँ कमिटीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ‘भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्तिलाई प्रमुख अतिथि बनाउने कार्यको प्रतिवाद गरिने’ कडा सन्देश दिएका छन्।

माओवादी केन्द्र सुनकोशीका अध्यक्ष मिम योञ्जन भन्छन्, “पालिकाको निर्णय र दलहरूको स्पष्ट असहमति हुँदाहुँदै बस्नेतको उद्घाटन मोह आफैँमा नैतिक पतनको नमुना हो।”

विधि र स्वायत्तताको उल्लंघन
शहरी विकास तथा भवन डिभिजन कार्यालयले निर्माण सम्पन्न गरिसकेको भए पनि पालिकालाई औपचारिक रूपमा हस्तान्तरण नगरिएको अवस्थामा बस्नेतद्वारा उद्घाटनको तयारी गरिएको छ। दलहरूले संयुक्त रूपमा भनेका छन्, “स्थानीय तहको स्वायत्तता र विधिलाई कुल्चिने यो प्रवृत्ति अस्वीकार्य छ।”

प्रशासनिक जटिलताको संकेत
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय र शहरी विकास डिभिजनलाई पत्र पठाउँदै उक्त उद्घाटनका कारण कुनै अवरोध उत्पन्न भए पालिका जिम्मेवार नहुने चेतावनी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति