नेभिगेशन
राजनिती

स्याटलाइट र डेटा सेन्टर बनाउन जापानी प्रविधि प्रयोग गर्नेछौं : सञ्चार मन्त्री गुरुङको भनाई

जापान भ्रमणमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपलाले आफ्नै स्याटलाइट र डेटा सेन्टर बनाउँदा जापानी प्रविधिको प्रयोग गर्ने बताउनुभएको छ ।

टोकियोमा सम्पन्न एसिया प्यासिफिक टेक्नोलोजी (एपिटि) को मन्त्रीस्तरीय बैठकको उपलब्धिबारे जानकारी गराउँदै उहाँले सो कुरा जानकारी गराउनुभएको हो । नेपाल पत्रकार महासंघ जापान शाखाले सिनओकुबोस्थित रातोमाटोमा आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो ‘अब नेपालले आफ्नै स्याटेलाइट बनाउँछ । एउटा समिति बनाएर अध्ययन अनुसन्धान भइरहेको छ । सो कार्यका लागि सरकार एक्लैले सम्भव नभए निजी क्षेत्रलाई समेत समावेश गरेर स्याटलाइट बानउने छ ।’


राष्ट्रिय सुरक्षाको दृष्टिकोणले पनि जापानलाई विश्वास गर्न सकिने भएकाले जापानी कम्पनीहरु इच्छुक भएमा नेपालमा डेटा सेन्टर बनाउने काम तुरुन्त सुरु हुने उहाँले बताउनुभयो । मन्त्री गुरुङले चीन र भारतलाई अप्ठ्यारो पर्ने कारणले पनि एलन मक्सको स्टरलिंकलाई नेपलामा कम्पनी खोल्न हालसम्म स्विकृति नदिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जापानी कम्पनीहरुसँगको सहकार्यमा नेपलामा स्याटलाइट र डेटा सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको छ । कुरा सकारात्म छ । जापानी कम्पनीसँग सम्भव नभए रसियासँग कुरा अगाडि बढाउन केही समयपछि रसिया जानेछु । सोही कामको लागि सोपछि स्विट्जरल्याण्ड जानेछु । यतिखेर उनीहरुको प्रविधि र सीप नेपाललाई चहिएको छ ।’

यो वर्ष आइटी क्षेत्रबाट ८७ अर्ब राजस्व संकलन भएको र आइटी क्षेत्रमा केही गर्छु भन्नेहरुका लागि कानुन, बजेट, नीति तथा कार्यक्रममा समेत सबै कुराहरु सहज हुने तरिकाले काम भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘पछिल्लो समय आइटी क्षेत्र राजस्व संकलन गर्ने महत्वपूर्ण क्षेत्र बन्दै गएकाले पनि सूचना प्रविधि क्षेत्रलाई उद्योगको क्षेत्रमा विकास गर्ने छौं ।’

‘चुस्त र तिब्र गतिका इन्टरनेटको विकासका लागि म्यानपावरदेखि भौतिक संरचनाहरुको विकास हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘टोकियोमा सम्पन्न एपिटिको बैठकमा समेत आइटीसम्बन्धि नीतिगत कुराहरु, नेपालको चुनौतीहरु र नेपालले चाहेको आइटी क्षेत्र कस्तो हो भन्ने कुरा राखेको छु । त्यसगैरी नेपलाले आइटी क्षेत्रलाई अग्रपङ्तिमा राखेर दक्षिण एसियामा विकास गर्न खोजेको कुरा पनि बैठकमा राखेको छु, कुरा सकारात्मक भएको छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती