नेभिगेशन
खेलकुद

धरानमा दोस्रो "धरान स्पोर्ट्स अवार्ड २०८२" हुँदै, उत्कृष्ट खेल प्रतिभाहरू सम्मानित हुने

उत्कृष्ट खेल प्रतिभाहरू सम्मानित हुने

धरान, श्रावण १३ – धरान खेलकुद मञ्चको आयोजनामा दोस्रो धरान स्पोर्ट्स अवार्ड २०८२ हुने भएको छ। खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याएका वरिष्ठ खेलाडी, प्रशिक्षक तथा उदाउँदा खेल प्रतिभाहरूलाई सम्मान तथा हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक टोलीले जानकारी दिएको छ।

उक्त कार्यक्रम धरान–१५ स्थित धरान किचेनको हलमा यही श्रावण १७ गते, बिहान ११:३० बजे भव्य रुपमा सम्पन्न हुने तय भएको छ।
चार विधामा अवार्ड वितरण
कार्यक्रम अन्तर्गत यस पटक चार विधामा अवार्ड प्रदान गरिनेछ:
• उत्कृष्ट धरान वर्ष खेलाडी (महिला)
• उत्कृष्ट धरान वर्ष खेलाडी (पुरुष)
• उत्कृष्ट वर्ष प्रशिक्षक
• द राइजिङ स्टार
उक्त विधाहरूमा कुल १४ जना खेलकर्मी मनोनीत भइसकेका छन्। तीमध्येबाट उत्कृष्ट ७ जनालाई मात्र अवार्ड प्रदान गरिने जानकारी मञ्चका अध्यक्ष किशोर राईले एक पत्रकार सम्मेलनमार्फत दिएका छन्।
छनोट मापदण्ड
छनोटका लागि मञ्चले कडाइका साथ केही मापदण्डहरू निर्धारण गरेको छ। मुख्य रूपमा:
• मनोनीत खेलाडी तथा प्रशिक्षक धरानमा रही कुनै पनि खेल विधाबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्न सफल हुनुपर्नेछ।
यस पटकको स्पोर्ट्स अवार्डमा कराँते, ब्याडमिन्टन, टेबलटेनिस, बडिबिल्डिङ्ग लगायतका खेल क्षेत्रका खेलाडी मनोनीत भएका छन्।
पुरस्कार राशी
कार्यक्रममा प्रदान गरिने पुरस्कार राशी निम्नानुसार रहनेछ:
• उत्कृष्ट धरान वर्ष खेलाडी (पुरुष) – रु. ३०,०००
• उत्कृष्ट धरान वर्ष खेलाडी (महिला) – रु. ३०,०००
• उत्कृष्ट वर्ष प्रशिक्षक – रु. २०,०००
• द राइजिङ स्टार – रु. १५,०००
अनुमानित खर्च र स्रोत
कार्यक्रम आयोजनामा कुल अनुमानित खर्च रु. ६,९१,००० लाग्ने आयोजकले जनाएको छ। उक्त खर्च धरान उपमहानगरपालिका, सबै वडा कार्यालयहरू, धरान खेलकुद मञ्च, विभिन्न संघ-संस्था तथा प्रायोजकहरूबाट सहयोग सङ्कलन गरिनेछ।
धरानको खेलकुद क्षेत्रको उत्सव
धरान खेलकुद मञ्चका अनुसार, यो कार्यक्रम धरानको खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तिहरूको सम्मान मात्र नभई युवा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने एउटा महत्वपूर्ण माध्यम बन्नेछ। साथै, यसले धरानलाई ‘खेलकुद सिटी’ को रुपमा चिनाउने अभियानमा थप ऊर्जा थप्ने विश्वास आयोजकको रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद