नेभिगेशन
Tihar Banner
Tihar Banner
खेलकुद

१ सय १ प्रतिस्पर्धीलाई उछिन्दै सञ्जय बने स्टोन स्किपिङ च्याम्पियन

वराहक्षेत्र । वराहक्षेत्र-२ चतराका सञ्जय राईले स्टोन स्किपिङ च्याम्पियनसीप प्रतियोगिताको चौंथो संस्करणको उपाधि जितेका छन् । 

मंगलबार सुनसरीको वराहक्षेत्र-११ मधुवनस्थित तीन टोलिया पोखरीमा आयोजित प्रतियोगितामा १ सय १ प्रतिस्पर्धीलाई उछिन्दै राईले उपाधिसहित नगद २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा वराहक्षेत्र-११ मधुवनका भरत भुजेल र वराहक्षेत्र-२ बयरवनका मोहन भुजेल क्रमशः दोस्रो र तेस्रो बने । उनीहरूले मेडल र प्रमाणपत्रसहित क्रमशः १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे । 

सन्जयले छनोट चरण पूरा गरी फाइनल चरणमा ३४ स्कोर बनाए । उनले क्रमशः ११, ८, १८ स्किप गरे । दोस्रो पुरस्कार विजेता भरतले कुल ३३ अङ्क जोडे । उनले अन्तिम चरणमा १०, १३, १० स्किप गरे । तेस्रो पुरस्कार विजेता चतराका मोहन भुजेलले अन्तिम चरणमा क्रमशः १२, ११ र ९ स्किप गर्दै कुल ३२ अङ्क जोडे ।  

1000290708-1794334063.jpg
पहिलो चरणका १ सय १ प्रतिस्पर्धी मध्ये ३९ जना दोस्रो चरणमा प्रवेश गरेका थिए । दोस्रो चरणमा उनीहरूले ३/३ पटक पानीको सतहमा ढुङ्गा फ्याँक्दै कुल अङ्क जोडेका हुन् । 

स्टोन स्किपिङ गर्दै कोशी प्रदेशकी पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले प्रतियोगिताको औपचारिक उद्घाटन गरेकी थिइन् । 

राज्यमन्त्री परियारले कोशी नदी किनारमा वर्षौंदेखि अनौपचारिक रुपमा खेलिंदै आएको मनोरञ्जनात्मक खेललाई प्रतियोगिताका रुपमा आयोजना गरिएकामा खुसी व्यक्त गरिन् । खेललाई संस्थागत रुपमा अघि बढाउन उनले आयोजकलाई सुझाव दिइन् । 

1000290709-1794334096.jpg
लोपोन्मुख पानीचरा सीम तित्राको संरक्षण र प्रचारप्रसारलाई जोड दिँदै सुनसरीको मधुवनमा चौथो स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना गरिएको आयोजक संस्था चतरा हाइकिङका संस्थापक भीषण राईले जानकारी दिए । 

कोशी पन्छी समाजको सहकार्यमा ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन र मौलिक खेलको प्रवर्धन’ भन्ने मूल नारासहित स्थानीय हाम्रो एकता युवा क्लब मधुवनको सहआयोजनामा प्रतियोगिता भएको अध्यक्ष एमडी अन्सारीले बताए । 

प्रतियोगितामा वराहक्षेत्र-११ का वडाध्यक्ष कृष्णकुमार महतो,  ८ नम्बर वडाध्यक्ष रोशन खड्का, प्रायोजक मुनबिम एकेडेमीका प्राचार्य देवेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितालाई वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समिति,  सूर्यकुण्ड सामुदायिक घरबास होमस्टे, धरानस्थित प्राइम भिजन इन्टरनेश्नल कलेज, इटहरीस्थित वराह सपिङ सेन्टर, चतराघाट कोशी पुलस्थित होटल ग्यालेक्सी, इटहरीस्थित पेस्को मेकअप स्टुडिओ, राजाबासस्थित राजाबास सेकेन्डरी स्कुल, सुनसरी स्टार एकेडेमी र कालाबन्जरस्थित वराह गार्मेन्ट्सले सहयोग गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद