नेभिगेशन
खेलकुद

धरान सिटी रनिङ कपको दोस्रो संस्करण मङ्सिर १२ देखि

धरान । दोस्रो धरान सिटी रनिङ कप अन्तर क्लब फुटबल प्रतियोगिता २०८३ मङ्सिर १२ गतेदेखि १९ गतेसम्म धरानमा आयोजना हुने भएको छ ।

धरान सिटी फुटबल क्लब प्रालिको आयोजनामा हुने प्रतियोगिताका सम्पूर्ण खेल धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन गरिने क्लबका अध्यक्ष विवेक राईले जानकारी दिए । प्रतियोगितामा आयोजकसहित धरानमा रहेका आठवटा फुटबल क्लब सहभागी हुनेछन् ।

क्लबका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी टोलीले धरानकै खेलाडीलाई प्राथमिकता दिने जनाइएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ तथा उपविजेता टोलीले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्तालगायतका विधामा समेत पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

क्लबका अनुसार प्रतियोगिताको अनुमानित लागत १८ लाख रुपैयाँ रहेको छ ।

1000240856-1791009199.jpg
धरानमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा स्थानीय फुटबल क्लबबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

धरान सिटी फुटबल क्लब प्रालि २०७८ फागुन २० गते स्थापना भएको हो । क्लबले गत वर्ष पहिलो धरान सिटी रेड कप धरान अन्तर क्लब नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको थियो । पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

क्लबले धरानमा फुटबल खेलको विकास र स्थानीय खेलाडीको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा समेत विभिन्न कार्यक्रम तथा प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद