नेभिगेशन
खेलकुद

करातेका प्रमोद र फुटबलकी प्रतीक्षा उत्कृष्ट वर्ष खेलाडी, धरान खेलकुद मञ्चले प्रदान गर्‍यो अवार्ड

धरान । धरानबाट खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक तथा अग्रजलाई धरान खेलकुद मञ्चले नगदसहित अवार्ड प्रदान गरेको छ ।

मञ्चले शुक्रबार धरानमा आयोजना गरेको कार्यक्रममा खेल क्षेत्रका उत्कृष्ट व्यक्तित्वलाई सम्मान तथा अवार्ड प्रदान गरेको हो ।

मञ्चले उत्कृष्ट प्रशिक्षकको अवार्ड कराते प्रशिक्षक किरण लामालाई प्रदान गरेको छ । उनले नगद २५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरेका छन् ।

त्यस्तै, उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ करातेका प्रमोद राई र महिलातर्फ फुटबलकी प्रतीक्षा राईलाई छनोट गरिएको छ । दुवैले नगद २५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरेका छन् ।

पब्लिक च्वाइसतर्फ करातेका निगम तिम्सिना प्रथम भएका छन् । उनले अवार्डसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । टेबल टेनिसका श्रेय सुवेदी दोस्रो तथा करातेका साहिल राई तेस्रो भएका छन् । उनीहरूले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

मञ्चले पूर्व राष्ट्रिय खेलाडी फुटबलतर्फका इन्दु रसाइलीलाई ‘लेजेन्ड्री’ सम्मान प्रदान गरेको छ । उनले नगद ११ हजार रुपैयाँसहित सम्मान प्राप्त गरेका छन् ।

त्यस्तै, खेलकुद क्षेत्रको पत्रकारितामा योगदान पुर्‍याएको भन्दै धरान साप्ताहिकका पत्रकार गोविन्द बस्नेतलाई पत्रकार सम्मान प्रदान गरिएको छ । उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरेका छन् ।

उत्कृष्ट खेलाडी र सम्मानित व्यक्तित्वलाई धरान उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख अइन्द्रविक्रम बेघाले अवार्ड हस्तान्तरण गरे । मञ्चका अध्यक्ष किशोर राईले यति ठूलो सम्मान र अवार्डको कार्यक्रमलाई नगर सरकारले बजेट विनियोजन नगरेको गुनासो गरे । कार्यवाहक नगरप्रमुख बेघाले आगामी वर्ष उपमहानगरले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद