नेभिगेशन
खेलकुद

दोस्रो गौधारा फेस्टिभ कप यू–१४ असोज ३० देखि

धरान । ‘दोस्रो गौधारा फेस्टिभ कप यू–१४’ आगामी असोज ३० गतेदेखि धरानमा आयोजना हुने भएको छ ।

कोशी प्रदेश क्लब क्लब स्तरीय यू–१४ फुटबल प्रतियोगिता युवा साथी धरान–३ को आयोजनामा धरान–१६ स्थित रंगशालामा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता धरान उपमहानगरपालिकाको संयोजनमा आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही ५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई २ हजार ५ सय रुपैयाँ पुरस्कार दिइनेछ ।

प्रतियोगिताको कुल बजेट ६ लाख रुपैयाँ रहेको छ ।
आयोजकका अनुसार प्रतियोगितामा धरानसहित कोशी प्रदेशका विभिन्न स्थानका यू–१४ क्लब तथा फुटबल एकेडेमीको सहभागिता रहनेछ । प्रतियोगितामा विजयपुर एकेडेमी, यार्सा एकेडेमी, तरहरा एफसी, देउराली एफसी, फेयर एकेडेमी, धरान सिटी एफसी, डीपीएस विराटनगर, इटहरी एफसी, चतरा एफसी र काँकडभिट्टा एफसी रहेका छन् ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ (एन्फा), सुनसरी जिल्ला फुटबल संघ र कोशी प्रदेश एन्फालाई विशेष सहयोगीका रूपमा राखिएको छ ।

आयोजक युवा साथीले बालबालिका तथा युवालाई फुटबलमार्फत खेलकुदमा जोड्दै उनीहरूलाई मोबाइल, कुलत तथा अन्य नकारात्मक गतिविधिबाट टाढा राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ । प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान र विकाससँगै भविष्यका लागि दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।

आयोजकले प्रतियोगिता सम्पन्न गर्न आर्थिक तथा अन्य सहयोगका लागि खेलकुदप्रेमी, संघसंस्था तथा स्वदेश तथा विदेशमा रहेका नेपालीसँग आग्रह गरेको छ । प्रतियोगिताको सन्देशका रूपमा आयोजकले ‘से नो टु ड्रग, से येस टु फुटबल’ उल्लेख गरेको 'युवा साथी' का अध्यक्ष सरल उदासले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्