नेभिगेशन
खेलकुद

धरान स्पोर्ट्स अवार्ड २०८२: साहिल राई र बर्षा राई उत्कृष्ट खेलाडी घोषित

साहिल राई र बर्षा राई उत्कृष्ट खेलाडी घोषित

धरान — धरान खेलकुद मञ्चले आयोजना गरेको 'धरान अवार्ड २०८२' मा सितेरियो करातेका साहिल राई र बर्षा राईलाई क्रमशः पुरुष र महिला तर्फका 'उत्कृष्ट धरान बर्ष खेलाडी' को अवार्ड प्रदान गरिएको छ।
धरान १५ स्थित धरान किचन होटलमा शनिबार सम्पन्न समारोहमा दुवै खेलाडीले जनही रु ३० हजार नगदसहित ट्रफी प्राप्त गरेका हुन्। पुरुष तर्फ साहिलसँगै शारीरिक सुगठनका अवतार श्रेष्ठ र करातेका निगम तिम्सिना मनोनयनमा परेका थिए भने महिलातर्फ बर्षासँगै करातेकी सलिना जोगी प्रतिस्पर्धी थिइन्।
त्यसैगरी, उत्कृष्ट प्रशिक्षक को अवार्ड पनि कराते प्रशिक्षक किरण लामा ले जिते। उनले नगद रु २० हजारसहित सम्मान प्राप्त गरे। यो विधामा साइक्लिङका श्याम तामाङ र टेवलटेनिस प्रशिक्षक गीता थापा समेत मनोनयनमा परेका थिए।
राइजिङ प्लेयर अफ दि इयर को अवार्ड टेवलटेनिस खेलाडी सुलेखाकुमारी ठाकुर ले हात पारिन्। उनले नगद रु १५ हजार र ट्रफी जितिन्।
मोष्ट भ्यालुएबल परफमेन्स अफ दि इयर को पुरस्कार फुटबल खेलाडी मनोज राई (धरान-१७) लाई प्रदान गरिएको छ। उता, फरक क्षमता भएका खेलाडी विवेक राई ले 'स्व. विक्रम राई स्मृति विशेष प्रतिभा पुरस्कार' जिते। विवेकले पारा ओलम्पिकमा पदक जितेका थिए। दुवैलाई नगद रु १५/१५ हजार दिइएको हो।
यस वर्षको लिजेन्ड अफ दि इयर २०८२ को सम्मान वरिष्ठ कराते प्रशिक्षक दिपेश शाक्य (मुकेश) लाई प्रदान गरिएको छ। उनले पनि नगद रु १५ हजार सहित सम्मान प्राप्त गरे।
उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार बाट ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ सम्मानित भए। उनलाई नगद रु १५ हजार सहित पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई, कोशी प्रदेशसभा सांसद विजयकुमार राई प्रमुख अतिथि थिए भने प्रदेश सांसद रमेश बस्नेत, वडा नं. १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा ८ का अध्यक्ष धनबहादुर राई, एन्फा सुनसरी अध्यक्ष नविन राई र धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ लगायतले विजयी खेलाडी, प्रशिक्षक र पत्रकारलाई अवार्ड तथा सम्मान प्रदान गरेका थिए।
धरान खेलकुद मञ्चले सञ्चालन गर्दै आएको यो अवार्ड कार्यक्रमले स्थानीय खेलकुद क्षेत्रको मनोबल बढाउन ठूलो योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद