नेभिगेशन
खेलकुद

संविधान दिवसमा विराटनगरमा रोड रेस, २५० खेलाडी सहभागी

विराटनगर । संविधान दिवस २०८३ को अवसरमा विराटनगरमा शुक्रबार रोड रेस प्रतियोगिता आयोजना गरिएको छ । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको बताए । प्रदेशमा खेलकुद गतिविधि विस्तार गर्ने उद्देश्यले ‘कोशी दौडिन्छ’ कार्यक्रमअन्तर्गत रोड रेस आयोजना गरिएको उनले बताए ।

प्रतियोगितामा १५ वर्षमुनिका महिला तथा पुरुष र ५० वर्षमाथिका भेट्रान महिला तथा पुरुष खेलाडी सहभागी छन् । प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव बिप्लव घोषका अनुसार विभिन्न विधामा करिब २५० खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

घोषका अनुसार प्रतियोगितामार्फत खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै प्रदेशमा खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताले खेलकुदसँगै स्वस्थ जीवनशैली प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्