नेभिगेशन
समाज

कोठामा मृतक युवा फेला,पहिचान खुल्न अझै बाकी

धरान, – धरान उपमहानगरपालिका–८ को गुराँस मार्गस्थित एक घरमा कोठा भाडामा बसेका एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
मंगलबार बिहान करीब ११:३० बजे दिलबहादुर लिम्बुको घरमा रहेको कोठामा ती युवकको शव झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। प्रहरीका अनुसार युवकको उमेर अन्दाजी २५ देखि २८ वर्षको आसपास रहेको अनुमान गरिएको छ।
डेढ महिनाअघि ताप्लेजुङको स्थायी बासिन्दा हुँदैं आफूलाई सौजन श्रेष्ठ जोशी भनेर परिचय दिँदै ती युवक कोठामा बस्न आएका थिए। तर, हालसम्म उनको वास्तविक नाम, स्थायी ठेगाना तथा पारिवारिक पृष्ठभूमिबारे स्पष्ट जानकारी प्राप्त भएको छैन।
घरधनीको बुहारीले कोठाबाट दुर्गन्ध आएपछि झ्यालबाट हेर्दा युवक झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको हो।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगूका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतक गाडी लाइनमा सहचालकको रूपमा कार्यरत रहेको खुलेको छ।
हाल शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ। मृतकको परिचय खुलाउने प्रयास जारी छ भने आफन्त वा चिन्ने जो–कोहीले इलाका प्रहरी कार्यालय धरानमा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रहरीले घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्