नेभिगेशन
समाज

परम्परागत डुङ्गाका पारङ्गत : कोशी किनारमा जीवित छ सीमान्तीकृत सीप

वराहक्षेत्र । सप्तकोशी नदीको किनारमा रहेको वराहक्षेत्र नगरपालिका–७ स्थित बोराबाँध क्षेत्रमा पुग्ने जो कोहीको ध्यान नदीमा तैरिरहेका परम्परागत काठका डुङ्गातर्फ जान्छ । 

बोराबाँध सामाजिक सञ्जालमा लोकप्रिय बन्दै जाँदा काठका डुङ्गा मनोरञ्जनका साधन बन्दै गएका छन् । बर्खामा कोशी नदीको वहाव बढ्दै जाँदा यतिबेला डुङ्गा मर्मत गर्ने र नयाँ निर्माण गर्ने समय पनि हो । 

दशकौं अघिदेखि कोशी नदीमा यातायातका साधनका रुपमा प्रयोग भएका डुङ्गा  पुस्तौँदेखि माझी समुदायले जोगाउँदै आएको एउटा जीवित सांस्कृतिक सम्पदा पनि हुन् । आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीको प्रभावसँगै यो सीप अहिले सीमित व्यक्तिहरूमा मात्र खुम्चिएको छ ।

1000215965-1782009659.jpg
 

यही परम्परागत सीपलाई निरन्तरता दिइरहेका छन् ५२ वर्षीय शुक्रराज माझी । बुबाबाट सिकेको डुङ्गा निर्माणको कला उनले चार दशकभन्दा बढी समयदेखि अभ्यास गर्दै आएका छन् । उनका अनुसार यो सीप कुनै विद्यालय वा तालिम केन्द्रमा सिकिने होइन, पुस्तादेखि पुस्तामा हस्तान्तरण हुँदै आएको ज्ञान हो ।

'बा काठको काम गर्नुहुन्थ्यो, उहाँबाटै सिकियो,' शुक्रराज भन्छन्, 'हामी तीन दाजुभाइले सीप सिक्यौँ । माइला भाइ देवमान माझी त झन् यसमा निकै सिपालु छन्, अहिले रोजगारी गर्न कतार गएका छन् ।'

शुक्रराजले किशोरावस्थादेखि नै डुङ्गा बनाउन थालेका थिए । करिब २४–२५ वर्षको उमेरदेखि उनले व्यावसायिक रूपमा डुङ्गा निर्माण गर्न थालेका हुन् । अहिलेसम्म उनले २५ देखि ३० वटा परम्परागत डुङ्गा निर्माण गरिसकेका छन् । उनका अनुसार डुङ्गा बनाएर थन्क्याएर राख्ने भन्दा पनि अर्डर आएपछि निर्माण गरेर बेच्ने चलन बढी छ ।

'एउटा राम्रो डुङ्गा बनाउन झण्डै एक महिना लाग्छ,' उनी भन्छन्, 'बर्खाको समय नै मुख्य सिजन हो । नदीमा पानी बढ्ने भएकाले माग पनि त्यही बेला धेरै आउँछ ।'

1000215959-1782009762.jpg
 

शुक्रराजको जीवन यात्रा परम्परागत डुङ्गा निर्माणमा मात्र सीमित छैन। २०५० र २०६० सालको दशकमा उनले धरान, चतरा र चक्रघट्टी क्षेत्रमा ट्रक तथा बसको बडी बनाउने कामसमेत गरे । पछि केही समय वैदेशिक रोजगारीमा गए । तर अन्ततः आफ्नै पुर्ख्यौली पेशामा फर्किए ।

उनले परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास पनि गरेका थिए । २०६० सालतिर काठको डुङ्गामा ट्रकको इन्जिन जडान गरेर मोटरयुक्त डुङ्गा निर्माण गरे । सप्तकोशी नदीमा उनको यो पहिलो प्रयास र प्रयोग थियो । तर अपेक्षाअनुसार सफल हुन सकेन ।

'छहरातिर उक्लिन गाह्रो भयो, करेन्टको बहावमा राम्ररी चल्न सकेन,' उनी सम्झन्छन्, 'इन्जिनको आरपिएम मिलेन, त्यसैले प्रयोग सफल भएन ।'

आज उनको चिन्ता सीपको भविष्यलाई लिएर छ । उनका अनुसार कोशी किनारमा परम्परागत डुङ्गा निर्माण गर्न सक्ने मानिसको सङ्ख्या निकै कम छ ।

'५–७ जना भन्दा धेरै छैनन्,' उनी भन्छन्, 'पहिले धेरैले गर्थे, अहिले सिक्ने मानिस कम भए ।'

यद्यपि उनले आफ्ना सन्तानलाई भने यो सीप सिक्न प्रेरित गरिरहेका छन् । 'छोरालाई अलिअलि सिकाउँदै छु,' उनी भन्छन्, 'पछि गर्छ कि गर्दैन त्यो उसको कुरा हो, तर सीप सिकेर राख्दा बिग्रिँदैन ।'

शुक्रराजका लागि परम्परागत डुङ्गा निर्माण गर्नु आम्दानीको स्रोत मात्र होइन, आफ्नो समुदायको पहिचान जोगाउने अभियान पनि हो ।

1000215961-1782009713.jpg
 

उनीजस्तै ३२ वर्षीय इन्द्रबहादुर माझी पनि यही परम्परागत पेशासँग जोडिएका छन् । औपचारिक प्रशिक्षण बिना नै काम गर्दागर्दै उनले डुङ्गा निर्माण र मर्मतको सीप सिकेका हुन् । स्थानीय स्तरमा यस्ता केही व्यक्तिहरू अझै सक्रिय रहेकाले यो परम्परा सीप पूर्ण रूपमा लोप हुनबाट जोगिएको छ ।

स्थानीय समुदायका अनुसार कोशी नदीसँग जोडिएको माझी सभ्यताको इतिहास निकै पुरानो छ । नदी वारपार गर्ने, माछा मार्ने र डुङ्गा निर्माण गर्ने सीप उनीहरूको सांस्कृतिक पहिचानको अभिन्न हिस्सा हो । तर आधुनिक पुल, मोटरबोट र वैदेशिक रोजगारीको आकर्षणका कारण नयाँ पुस्ताको रुचि परम्परागत पेशाप्रति घट्दै गएको छ ।

सीमान्तकृत जातिमा सूचीकृत माझी समुदायको डुङ्गा बनाउने सीप पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसके इतिहासमै सीमित हुने जोखिम बढेको स्थानीय पत्रकार साथै बोराबाँधका प्रवर्धक भीषण राई बताउँछन् । 

'कोशी किनारको बोराबाँधमा शुक्रराज माझीले काठका डुङ्गामा  कुँदिरहेका सीप एउटा समुदायको इतिहास, श्रम, अनुभव र पुस्तौँदेखि सञ्चित ज्ञानका जीवित दस्तावेज हुन्', पत्रकार राई भन्छन्, 'समयसँगै हराउँदै गएको यो परम्परागत सीपलाई जोगाउन सकिएन भने कोशीको किनारबाट एउटा महत्वपूर्ण सांस्कृतिक सम्पदा पनि हराउने खतरा उत्तिकै छ ।'

यद्यपि, शुक्रराज जस्ता शिल्पकारको प्रयासले कोशी किनारमा अझै पनि काठको डुङ्गा निर्माण भइरहेको छ । सीमान्तीकृत सीप जीवित छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज