नेभिगेशन
समाज

प्रशासनिक सुधार गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी, कार्यसम्पादन विवरण सार्वजनिक

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले सेवाग्राहीलाई चुस्त सेवा प्रदान गर्ने उद्देश्यले कार्यालयमा नागरिक सहजकर्ताको व्यवस्था, प्रवेश पासको प्रबन्ध, र निवेदकहरूलाई निवेदन लेखिदिने जस्ता नयाँ प्रशासनिक सुधारहरू सुरु गरेको छ । 

सेवाग्राहीलाई आफ्नो कार्यप्रगतिको विवरण एसएमएस मार्फत जानकारी दिने व्यवस्था र बिचौलियाहरूलाई प्रवेश निषेध गरी कारबाही गर्ने नीतिले कार्यालयको कार्यसम्पादनमा थप पारदर्शिता र प्रभावकारिता ल्याएको एसपी केशबकुमार थेवेले बताए । 

शुक्रबार इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीमा नियमित पत्रकार भेटघाटमा कार्यालयले जेठ महिनाको कार्यसम्पादनको अवस्था सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधारको थालनी गरेको जनाएको छ । 

एसपी थेवेले लागूऔषध पक्राउ, भन्सार चोरी निकासी नियन्त्रण, नदीजन्य स्रोतको बरामदी विवरण, ट्राफिक कारबाही राजस्व विवरण, जिल्ला प्रहरी कार्यालयले गरेका नयाँ कामका विवरण र घटनाको सफल अनुसन्धानको विवरण सार्वजनिक गरे ।

कार्यालयको तथ्याङ्क अनुसार, जेठ २८ गतेसम्म लागूऔषध विरुद्धको अभियानमा व्यापक सक्रियता देखाइएको छ । यस अवधिमा प्रहरीले ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर, ट्याब्लेट/क्याप्सुल र प्रतिबन्धित लागूऔषधका एम्पुल बरामद गर्नुका साथै लागूऔषध कारोबारमा संलग्न व्यक्ति र सवारी साधन नियन्त्रणमा लिएको छ ।

राजस्व सङ्कलन र ट्राफिक व्यवस्थापनमा पनि प्रहरीले विशेष जोड दिएको छ । नदीजन्य स्रोतहरूको अवैध उत्खनन नियन्त्रणबाट उल्लेख्य राजस्व सङ्कलन भएको छ भने भन्सार चोरी निकासी नियन्त्रणका क्रममा पनि थुप्रै व्यक्ति र सवारी साधनहरू पक्राउ परेका छन् । साथै, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरू माथि गरिएको कारबाहीबाट पनि भारी मात्रामा राजस्व संकलन भएको तथ्याङ्कले देखाएको छ । 

फैसला कार्यान्वयनको अवस्थामा पनि प्रहरीले फरार प्रतिवादीहरूलाई पक्राउ गरी कैद र जरिवाना असुलीमा सक्रियता देखाएको छ, जसमा ५ वर्षभन्दा बढी कैद सजाय तोकिएका फरार प्रतिवादीहरू समेत पक्राउ परेका छन् ।
प्रहरीले अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । यस्ता घटनाको सफल अनुसन्धानले समाजमा सुरक्षाको अनुभूति दिलाउन मद्दत पुर्‍याएको एसपी थेवेले बताए ।

प्राकृतिक स्रोतको दोहन तथा अवैध उत्खनन विरुद्ध 'शून्य सहनशीलता' को नीति अख्तियार गरेको प्रहरीले मनसुनजन्य विपद् व्यवस्थापनमा पनि उच्च सतर्कता अपनाएको छ। यसका लागि प्रदेश र जिल्ला स्तरमा समन्वय बैठकहरू आयोजना गर्नुका साथै रबर बोट प्रयोगको अभ्यास र आवश्यक उद्धार सामग्रीहरूको उचित व्यवस्थापन गरी प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखेको जानकारी दिएको छ । 

हेर्नुहोस् जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको जेठ महिनाको कार्यसम्पादनको विवरण र तथ्याङ्क : 

1000214172-1781286164.jpg
1000214174-1781286200.jpg
1000214173-1781286263.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज