नेभिगेशन
समाज

कोशी प्रदेशको मिडिया सम्मेलनमा हात्ती पीडितको मुद्दा : 'हात्ती आतङ्क पर्यटन हुन सक्दैन'

विराटनगर । झापाका हात्ती पीडितहरूले शुक्रबार कोशी प्रदेशका पत्रकारसमक्ष मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आफ्नो पीडा सुनाएका छन् । 

हात्तीले जनधनको क्षति गरिरहेको र नागरिक पीडामा परेको विषय कोशी प्रदेशको मिडिया सम्मेलनमा हात्ती पीडितले बताएका छन् । उनीहरूले 'हात्ती आतङ्क पर्यटन हुन सक्दैन' भन्दै नियन्त्रणका लागि मुख्यमन्त्रीलाई बोधार्थ दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको साधारण सभाको अवसरमा शुक्रबार आयोजित 'कोशी मिडिया सम्मेलन'मा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउँदै पीडितले झापाको मेचीनगर नगरपालिकाअन्तर्गत साविकको बाहुनडाँगी-१, २, ३, ४ नम्बर वडामा ४५ वर्षदेखि हात्तीबाट पीडित हुनुपरेको गुनासो राखे ।

केही दिनदेखि सयौंको सङ्ख्यामा हात्तीहरू बाहुनडाँगीमा प्रवेश गरी मान्छे मारिरहेको, स्थानीय घरबाट बाहिर निस्किन नसकेको र विद्यार्थी विद्यालय जान नसकेको समस्या पीडितहरूले सुनाए ।

बस्ती भारतको सीमानामा रहेकाले भारतीय फोरेस्ट स्क्वाडहरूले हात्तीलाई रबरको गोली हानेर नेपालतर्फ खेदाउने गरेकाले पीडितले गुनासो गरेका छन् ।

'नेपाली नागरिकले बाली गुमाउनुपर्ने, ज्यान गुमाउनुपर्ने र घर भत्केको कुरा कुनै पनि हालतमा वाइल्ड लाइफ एडभेन्चर टुरिजमको विषय बन्न सक्दैन,' मुख्यमन्त्रीको ध्यानाकर्षण गराउँदै पीडितले भने, 'कुनै पनि हालतमा राज्यले समस्याको सम्बोधन गर्नुपर्छ, बाहुनडाँगीवासी बाँच्न पाउनुपर्छ, हाम्रा छोराछोरी बाँच्न पाउनुपर्छ, हाम्रो जनधनको रक्षा हुनुपर्छ, पत्रकारहरूले हाम्रो आवाज उठाइदिनुहुन्छ भन्ने विनम्र अनुरोध गर्दछौं ।' 

मिडिया सम्मेलनमा हात्तीपीडितले चार सूत्रीय माग राख्दै मुख्यमन्त्री कार्कीलाई बोधार्थ दिएका छन् । पीडितले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई लेखेको पत्र वाचन गरेर सुनाएका छन् ।

यस्तो छ, हात्तीपीडितको चार सूत्रीय माग 

मानव बस्तीमा निर्बाध रुपमा भारतबाट आउने जंगली हात्तीको प्रवेशलाई बिना शर्त रोकियोस् ।

आजकै मितिबाट भारतबाट आउने जंगली हात्तीहरूलाई हात्ती प्रभावित क्षेत्रमा संसारभरि नै प्रचलित उपाय रबर गोलीको प्रयोग गरी उसकै बासस्थानतर्फ फर्काइयोस् । 

पूर्वको मेची किनारदेखि कोशीटप्पुसम्म कोरिडोरको अवधारणा अव्यवहारिक र जैविक मानवताका विरुद्ध छ । त्यसैले पूर्वको बाहुनडाँगीदेखि राजमार्ग उत्तरका वासिन्दालाई भविष्यमा जंगली जनावरको आतंकबाट उजाड बनाउने उक्त परियोजना तत्काल बन्द गरियोस् ।

जंगली जनावारबाट मानिसको घर भत्किएको, मान्छे मारेको र बालीनाली नष्ट पारेको घटना किमार्थ पर्यटनको विषय बन्न सक्दैन तसर्थ हात्ती आतंकलाई जोडेर यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका नाममा हुने कृयाकलाप तत्काल बन्द गरियोस् । 

स्थानीय सन्तोष सुवेदीको नेतृत्वमा आएका पीडितहरूले चार सूत्रीय माग तत्काल सम्बोधन नभए हात्तीपीडित नागरिकले चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । 

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा ८० सदस्यीय टोलीले हात्ती प्रभावित क्षेत्रमा पदयात्रा गरेको थियो । २०८० फागुन ९ गतेदेखि ७ दिनमा २४३ किलोमिटर पदयात्रा गरेको थियो । 

हात्तीबाट पीडित बनेका जनताको अवस्था, हात्ती–मानव द्वन्द्वको अन्त्यका लागि झापाको मेचीनगर नगरपालिका–१ स्थित प्रसाद गौँडाबाट उदयपुरको कटारीस्थित बेलसोत बजार पुगेको थियो । जसका लागि तत्कालीन प्रदेश सरकारको पर्यटन मन्त्रालयले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

तत्कालीन प्रदेश सरकारले हात्ती कोरिडोर क्षेत्र स्थापना गर्ने भन्दै बजेटमा जंगली हात्ती प्रभावित क्षेत्रमा हात्तीहरुको कोरिडोर म्यापिङ तथा कोरिडोर व्यवस्थापन सम्बन्धी सम्भाव्यता अध्ययनको नाममा ५० लाख रुपैयाँ र जंगली हात्तीहरुको रेफ्युजी निर्माण अर्थात मास्टरप्लान कार्यान्वयनका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

हात्तीपीडितहरूले प्रदेश सरकारको उक्त योजनाको विरोध गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज