नेभिगेशन
समाज

वैशाखे पूर्णेमा लाग्दैछ, भवानी थानमा मेला : यस्तो छ किंवदन्ती

धरान । सप्तकोसी नदीको नागबेली छटा, तराईको अन्न भण्डार, रहर लाग्दा शहरको अवलोकन गर्ने थलोसँगै पारखीका लागि चिसो मौसमको आनन्द लिन ठाउँ हो, वराहक्षेत्र-१ स्थित भवानी थान । सेनकालीन लालकोट गढीका रुपमा रहेको यो ऐतिहासिक स्थल पौराणिक धार्मिक पर्यटकीय स्थल पनि हो । 

उभौली पर्वका अवसरमा वैशाखे पूर्णेमा यो ठाउँमा परापूर्व कालदेखि धार्मिक मेला लाग्ने गरेको छ । शुक्रबार (भोलि) बिहानैदेखि लाग्ने मेलाका लागि यो वर्ष पनि स्थानीय आयोजकले भवानी थान मेलाको तयारी गरिसकेका छन् ।

वराहक्षेत्र नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र भवानीस्थान जीर्णोद्वारपछि चिटिक्कै देखिएको छ । वराहक्षेत्र नगरपालिकाको पहाडी क्षेत्र सूर्यकुण्डमा रहेको मनोरम स्थलमा अवस्थित मन्दिर चिटिक्कै परेपछि धार्मिक तीर्थालु र आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । वराहक्षेत्र वडा नं. १ को गौरवको योजनाअन्तर्गत २५ लाख रुपैयाँ बजेट विनियोजनपछि मन्दिर निर्माण समितिले श्रमदानसहित मन्दिरको पुनर्निर्माण गरेको छ ।  

मन्दिरमा रङ्गरोगन गरी टायल्सलगायतका सौन्दर्यीकरणको काम गरिएको छ । मन्दिर निर्माणसँगै सिमे, भूमे, सन्सारी देवीदेउताका थानसमेत निर्माण गरिएको छ । 

1000148741-1777539339.jpg
 

यस्तो छ भवानी स्थानको कथा 

भोजपुरबाट बसाइँ सरी आउने क्रममा वान्तवा राईको सोक्तिम पाछाका एक परिवार हालको वराहक्षेत्रस्थित चौदण्डा मूल गाउँ तीनधारेमा आइपुग्यो । घना जङ्गल रहेको सो क्षेत्र फडाँनी गरे । वरिपरि जलाशय रहेको क्षेत्रमा ठूलाठूला पोखरी थिए । पोखरीमा नागहरू बस्दथे । त्यस जङ्गलमा सर्प, हात्तीलगायतका अनौठा जनावरहरू देखा परे । जङ्गल फँडानी गरेर घर बनाएका घरमूलीले अनौठो सपना देखे ।

सपनामा देवीको मन्दिर लुप्त अवस्थामा रहेको र त्यसलाई उद्धार गरी पूजा आरधना गर्नुपर्ने सपनामा वरदान पाए । सपनाकै आधारमा ती राई घरमूलीले देवीको उत्थान गरे । देवीको मन्दिरलाई भवानी स्थान भन्न थालियो । स्थानीयका अनुसार त्यहाँ रहेका ठूलाठूला पोखरीहरू केही दशकसम्म थिए । तर पछि पानी सुक्दै गयो । पोखरी पुरिँदै गए । त्यसका केही अवशेषहरू अहिले पनि देख्न सकिन्छ । तीनधारेमा अझै पनि स्थानीयले नागको पूजा गर्छन् । भवानीस्थानको मन्दिर वर्षमा एकपटक मात्र वैशाख पूर्णिमाका दिन खुला हुने गर्छ ।

वैशाखे पूर्णिमाका दिन बोका, राँगा, हाँस, परेवालगायत पशुपन्छीको बली दिई भाकल बुझाउने गरिन्छ । किंवदन्ती र शास्त्रीय प्रमाणका आधारमा भवानी स्थानको उपस्थिति रहे पनि व्याख्या भने फरक ढङ्गले गरेको पाइन्छ ।

भवानी स्थानलाई वराह पुराणले आदि वराही भगवती भनेको छ । यो मन्दिरका बारेमा वराह पुराणमा लेखिएअनुसार विष्णु भगवानले वराहको रूप धारण गरेर वराह कुट पर्वतमा पुगे । त्यसबेला वराह भगवानको साथमा महालक्ष्मी वराही अवतारमा थिइन् । र, यो स्थानमा विराजमान भइन् । शास्त्रमा समेत उल्लेख र पुरातात्विक महत्व बोकेको यो क्षेत्रको पुनर्संरचना र पुर्निर्माण आवश्यक रहेको स्थानीय बताउँछन् ।  वराहक्षेत्रको धार्मिक र सांस्कृतिक पर्यटनमा यस्ता सम्पदाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीयको मत छ ।

इतिहासअनुसार भवानीस्थान गढीका रुपमा विकास भएको पाइन्छ । हिन्दूमत ग्रहण गरेका सेनवंशी राजा 'हिन्दूपति राजा' हरिहर सेनको दरबारसँग सम्बन्धी  लालकोट गढी (भवानीस्थान गढी) को मौलोको रुपमा समेत भवानीस्थान मन्दिरलाई लिने गरिन्छ । 

1000148738-1777539377.jpg
 

१३ औं पुस्ताका पुजारी 

वि.सं. १९९२ सालमा जन्मेका पुजारी शेरबहादुर राईले ८४ वर्षको उमेरसम्म मन्दिरको सेवा  गरे ।  उनको देहावसानपछि  उनका छोरा दीपक राई हाल मन्दिरको पुजारी छन् । उनी बराहक्षेत्र १ का वडासदस्यसमेत हुन् ।

उनले १४ वर्ष २ महिना नेपाली सेनामा जागिर खाएर उपादानमा अवकाश लिए । पुस्तौंदेखि भवानी थान मन्दिरको पुजारी परम्परा  पुस्तान्तरण हुँदै आएकाले  दीपकले परम्परादेखि आफ्ना परिवारले गर्दै आएको मन्दिर र देवीको सेवा गर्नुपर्ने  भयो । ‘हाम्रो परिवारबाटै पुजारी भएको झण्डै १३ पुस्ता भइसक्यो,’ दीपकले भने, ‘पुस्तान्तरण हुने प्रक्रिया ठ्याक्कै एउटै छैन, मैले गर्न सकिनँ भने मेरो भाइले गर्छ वा परिवारबाटै अन्यले गर्छन् ।’ 

पछिल्ला केही पुस्तादेखि पुजारीहरूको तथ्याङ्क राख्न समेत उनीहरूको प्रतिमा स्थापित गरेर मन्दिर निर्माण गर्ने चलन चलेको दीपक बताउँछन् ।

वराहक्षेत्र-१ नम्बर वडा कार्यालयले २०८१ मा वडाको गौरवको योजनाअन्तर्गत नयाँ मन्दिर निर्माण गरेको छ । यसअघि मन्दिर जीर्ण अवस्थामा थियो । मन्दिरको नवनिर्माणपछि यो ठाउँ पनि चिटिक्कै भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

चुनावको छायाँमा धरानको होली फिका