नेभिगेशन
समाज

दलित थर सूचीकरणमा त्रुटि भएको भन्दै विश्वकर्मा कोइराला बन्धु समाजको आपत्ति

धरान । विश्वकर्मा समुदायअन्तर्गत पर्ने ‘कोइराला’ थर राष्ट्रिय दलित आयोगको सिफारिसमा समावेश भए पनि हालै प्रकाशित नेपाल राजपत्रमा छुटेको भन्दै विश्वकर्मा कोइराला बन्धु समाज नेपालले आपत्ति जनाएको छ ।

समाजले कोइराला थरलाई विश्वकर्मा समुदायअन्तर्गत समावेश गरी राजपत्र पुनः प्रकाशन गर्न माग गर्दै राष्ट्रिय दलित आयोगमा निवेदन दिएको छ । समाजका अध्यक्ष लालबहादुर विश्वकर्माको नेतृत्वमा आयोग पुगेको टोलीले अध्यक्ष देवराज विश्वकर्मालाई निवेदन बुझाएको हो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले असोज ८ गते नेपाल राजपत्रमा दलित समुदायको परिभाषा तथा उनीहरूले प्रयोग गर्ने थर–उपथरको सूची प्रकाशन गरेको थियो । आयोगको सिफारिसमा मन्त्रिपरिषद्बाट स्वीकृत सूचीमा पहाडी तथा मधेसी दलित समुदायका विभिन्न थर समावेश गरिएको छ ।

समाजका अनुसार राजपत्रमा विश्वकर्मा समुदायअन्तर्गत ३४८ थर समावेश गरिए पनि ऐतिहासिक रूपमा विश्वकर्मा समुदायसँग सम्बन्धित ‘कोइराला’ थर छुटेको छ ।

समाजले आयोगको २०८१ भदौ २७ गतेको बैठकले नेपाल सरकारलाई सिफारिस गरेको दलित समुदायले प्रयोग गर्ने थरको सूचीमा ३८ नम्बरमा ‘कोइराला’ थर स्पष्ट रूपमा उल्लेख रहेको जनाएको छ । तर, आयोगकै सिफारिसपछि प्रकाशित राजपत्रमा उक्त थर समावेश नभएको समाजको भनाइ छ ।

‘पहाडे दलित तथा मधेसी दलित समुदायका थरहरू सूचीकरण हुने क्रममा केही थर छुट्न गएको र केही थर दोहोरिएको’ भन्दै समाजले सूचीकरण प्रक्रियामाथि समेत प्रश्न उठाएको छ ।
निवेदनमा कोइराला थर विश्वकर्मा समुदायअन्तर्गत पर्ने भए पनि राजपत्रमा छुट्दा विश्वकर्मा कोइराला समुदायका व्यक्तिहरू भावनात्मक रूपमा स्तब्ध र दुःखी भएको उल्लेख गरिएको छ । समाजले छुटेको थर सच्याएर विश्वकर्मा समुदायअन्तर्गत ‘कोइराला’ समावेश गर्न माग गरेको छ ।

राजपत्रमा के छ ?

राजपत्रमा विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार गरिएका तथा आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक, शैक्षिक, रोजगारीलगायत राज्यका विभिन्न क्षेत्रमा उत्पीडन, अपमान र बहिष्करणमा पारिएका समुदायलाई दलित समुदायका रूपमा परिभाषित गरिएको छ ।

श्रम, सीप र कलाका माध्यमबाट राज्य निर्माणमा योगदान पुर्‍याएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत दलित समुदायअन्तर्गत समेटिएको छ ।

राजपत्रले दलित समुदायलाई मुख्यतः पहाडी दलित र मधेसी दलित गरी दुई भागमा वर्गीकरण गरेको छ । पहाडी दलितअन्तर्गत विश्वकर्मा, परियार, मिजार, वादी, गन्धर्व, च्यामे र पोडे समुदायलाई समेटिएको छ ।

विश्वकर्मा समुदायअन्तर्गत कामी, लोहार, सुनार, टमटा, गदाल, वड, बर्देवा, रसाइली, विश्वकर्मा, पोर्तेल र दियालीलगायत ३४८ थर सूचीकृत छन् । परियार समुदायअन्तर्गत २७१, मिजारअन्तर्गत २२९, वादीअन्तर्गत ३७ र गन्धर्वअन्तर्गत १६ थर समावेश छन् ।

राजपत्रमा दलित समुदायले प्रयोग गर्ने तर गैरदलित समुदायसँग समेत मिल्ने थरलाई छुट्टै सूचीमा राखिएको छ । उक्त सूचीमा खड्का, अधिकारी, थापा, पाण्डे, खनाल, शर्मा, दाहाल र पोखरेललगायत २१४ थर छन् ।

मधेसी दलितअन्तर्गत २१ जाति तथा समुदायलाई समेटिएको छ । चमार, मुसहर, दुसाध (पासवान), तत्मा, खत्वे, धोबी, बाँतर, कोरी, डोम, खटिक, नटुवा, ढाँढी, चिडिमार, ककैहिया, कलर, धन्कार, पासी, मेस्तर, सरभङ्ग र उराँवलगायत समुदायलाई सूचीमा राखिएको छ ।

समाजको निवेदनसँगै आयोगको पुरानो सिफारिस र हालै प्रकाशित राजपत्रबीच थरको सूचीमा फरक देखिएको दाबी गरिएको छ । छुटेका तथा दोहोरिएका थरबारे पुनरवलोकन गरी सूची सच्याउनुपर्ने माग समाजले अघि सारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज