नेभिगेशन
Dashain Banner
Dashain Banner
शिक्षा

हिबिस्कस स्कुलद्वारा खुला हाजिरी जवाफ प्रतियोगिता

१५० भन्दा बढी विद्यालयको सहभागिता अपेक्षित

धरान–१५ स्थित हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले यस वर्ष खुला हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । विगत तीन वर्षदेखि हिबिस्कस क्विज मेनिया नामक प्रतिस्पर्धा गर्दै आएको स्कुलले यस पटक नगर वा जिल्ला स्तरमा सीमित नराखी खुला स्तरमै आयोजना गर्न लागेको हो ।


शुक्रवार पत्रकार सम्मेलन गर्दै स्कुलका सल्लाहकार पवन झाले विद्यार्थीहरूको बौद्धिक क्षमता विस्तार गर्ने उद्देश्यले प्रतियोगिता खुला रुपमा ल्याइएको जानकारी दिनुभयो । उहाँले भने, “लोकसेवा आयोग जस्तै स्तरको प्रश्नावली तयार गर्ने भएकाले यसबाट विद्यार्थीको ज्ञानको दायरा थप फराकिलो हुनेछ ।”


यस पटक प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा १०० वटा लिखित प्रश्न दिइनेछन्, जसको अंकभार एक-एक रहनेछ । लिखित चरणबाट उत्कृष्ट ठहरिने शीर्ष ६ टिमले फाइनलमा प्रवेश पाउनेछन् ।
प्रतियोगिता सञ्चालनका लागि शिक्षक सुवास मोक्तानको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा विकास साह सहसंयोजक, नयनराज राई जनसम्पर्क संयोजक, र मनिष श्रेष्ठ प्राविधिक संयोजक रहनु भएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।


आकर्षक पुरस्कार

कार्यक्रम संयोजक सुवास मोक्तानका अनुसार यसपटक १५० भन्दा बढी विद्यालयले सहभागिता जनाउने अपेक्षा गरिएको छ । विजेतालाई यसप्रकार पुरस्कार प्रदान गरिनेछः
• प्रथम: नगद रु. २०,०००, रनिङ ट्रफि, मेडल र प्रमाणपत्र
• द्वितीय: नगद रु. १५,०००, मेडल र प्रमाणपत्र
• तेस्रो: नगद रु. ८,०००, मेडल र प्रमाणपत्र
• चौथो: नगद रु. ६,००० र प्रमाणपत्र
• पाँचौं: नगद रु. ४,००० र प्रमाणपत्र
• सान्त्वना: नगद रु. २,००० र प्रमाणपत्र
गत वर्षको तुलनामा प्रथम पुरस्कारमा वृद्धी गरिएको पनि निर्देशक राईले उल्लेख गर्नुभयो ।


आगामी माघमा फाइनल

प्रतियोगिता आगामी पुष ९ र १० गते स्कुल परिसरमै आयोजना हुनेछ । पहिलो दिन प्रारम्भिक चरण सञ्चालन हुनेछ भने दोस्रो दिन शीर्ष ६ टिमबीच रोचक प्रतिस्पर्धा हुने स्कुलले जनाएको छ ।
२०७९ सालबाट सुरु भएको यस प्रतियोगितामा पहिलो विजेता हिबिस्कस स्कुल आफैं बनेको थियो । दोस्रो वर्ष नेपाल प्रहरी स्कुलले उपाधि जितेको थियो भने गत वर्ष पुनः हिबिस्कस स्कुल नै विजेता बनेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा