नेभिगेशन
शिक्षा

देउसी-भैलोबाट पब्लिक मावि फुस्रेले सङ्कलन गर्‍यो साढे पाँच लाख रुपैयाँ

धरान । सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासमा समुदायको सहभागिता जुटाउने उद्देश्यले धरान–१३ स्थित पब्लिक माध्यमिक विद्यालय फुस्रेले सञ्चालन गरेको देउसीभैलोबाट ५ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ ।

विद्यालयले कात्तिक २६ देखि २९ गतेसम्म धरानका वडा नं. १३, २० र ४ का अभिभावकका घरघरमा पुगेर देउसीभैलो खेलेको थियो । कार्यक्रमबाट हालसम्म ५ लाख २० हजार ५९८ रुपैयाँ संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले जानकारी दिए ।

संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर सुधार, कृषि इन्जिनियरिङ विषय सञ्चालन, अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्नेलगायत आन्तरिक व्यवस्थापनमा खर्च गरिने उनले बताए । सहयोग आउने क्रम जारी रहेकाले केही दिनपछि समीक्षा बैठक गरेर कुल संकलन र कार्यक्रम सञ्चालनमा भएको खर्च सार्वजनिक गरिने उनको भनाइ छ ।

1000292392-1794833765.jpg
सरकारी सहयोगले मात्र सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकास सम्भव नहुने भन्दै अध्यक्ष कार्कीले विद्यालयको उन्नयनमा समुदायको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रम सफल बनाउन सहयोग गर्ने अभिभावक तथा स्थानीयप्रति उनले आभार व्यक्त गरे ।

धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले देउसीभैलोले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप सुमधुर बनाएको बताए । कार्यक्रमले विद्यार्थीहरू कुनकुन क्षेत्रबाट विद्यालय आउँछन् भन्ने जानकारी लिनसमेत सहयोग पुगेको उनको भनाइ छ ।

सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्ने भन्दै वडाध्यक्ष काफ्लेले अभिभावकलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै पढाउन आग्रह गरे । उनले सबैको सहकार्यमा पब्लिक माविलाई नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिए ।

केही महिनाअघि लडेर खुट्टामा गम्भीर चोट लागेपछि शल्यक्रिया गराएका वडाध्यक्ष काफ्ले घरमै आराम गरिरहेका छन् । तर, उनी बैसाखीको सहारामा देउसी टोलीसँगै घरघर पुगेका थिए ।

1000292393-1794833795.jpg
समापन कार्यक्रममा पूर्वएसएसपी भीम दाहाल, विद्यालयका निवर्तमान प्रधानाध्यापक पुरुषोत्तम निरौला, प्रधानाध्यापक नारद राई, भगवती आधारभूत विद्यालय धरान–१६ का पूर्वप्रधानाध्यापक अच्युत भट्टराई, धरान–२० का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समिति सदस्य पञ्चमी राईलगायत सहभागी थिए ।

कार्यक्रममा विद्यालयका कर्मचारी प्रफुल्ल भण्डारीलगायतले देउसीभैलो गीतमा नाचगान गर्दै रमाइलो गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक गजेन्द्र दाहालले गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा