नेभिगेशन
शिक्षा

धरानका दुई विद्यालयको आन्दोलन टुंग्याउन पाँचबुँदे सहमति

धरान । धरानका दुई विद्यालयका विद्यार्थीद्वारा जारी आन्दोलन टुंग्याउन राजनीतिक दलका नेता र सरोकारवालाबीच पाँचबुँदे सहमति भएको छ । 

धरान उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख अइन्द्रविक्रम बेघा, जनप्रतिनिधि लगायत दलका नेताको बैठकले सहमति गरेका छन् ।

सहमतिअनुसार आन्दोलनका क्रममा बिरामी भएका विद्यार्थीको सम्पूर्ण उपचार खर्च धरान उपमहानगरपालिकाले व्यहोर्ने, रोकिएको परीक्षा तत्काल सञ्चालन गर्ने र रिक्त विषयगत शिक्षकका लागि दरबन्दी सूचना आह्वान गर्ने निर्णय भएको छ ।

सहमतिको मुख्य बुँदाअनुसार बिरामी विद्यार्थीको स्वास्थ्य अवस्था सुधार भएपछि पुनः छलफल गरी विद्यालयमा लगाइएको ताला खोल्ने र आमरण अनशन तोड्ने निर्णय भएको छ ।

त्यस्तै, रोकिएको परीक्षा तत्काल सञ्चालन गरी शिक्षक छनोटमार्फत विद्यालयमा रहेको शिक्षक अभाव समाधान गर्ने तथा रिक्त विषयगत शिक्षकका लागि दरबन्दी सूचना आह्वान गर्ने सहमति भएको छ ।

धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयका अंग्रेजी निम्न माध्यमिक तहका शिक्षक ऋद्धि कुमार राईलाई धरान–४ स्थित हर्दिया माध्यमिक विद्यालयमा काजमा खटाउने निर्णयसमेत भएको छ । राईले हर्दिया माविमा कार्य गरे पनि तलबभत्ता भने ज्ञानोदय माविबाटै लिनेछन् । दशैं–तिहारको बिदापछि उनी पुनः ज्ञानोदय माविमा हाजिर भई नियमित पठनपाठनमा सहभागी हुने सहमति भएको छ । आवश्यकता परे आपसी सहमतिमा उनलाई अन्य विद्यालयमा नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।

विद्यालयको पठनपाठनमा बाधा पुग्ने गरी शिक्षक सरुवा, दरबन्दी मिलानलगायतका कार्यमा सहभागी नहुने सहमति पनि भएको छ ।

धरान–११ को ज्ञानोदय मावि र धरान–६ को सरस्वती माविमा विद्यार्थीले शिक्षक अभावलगायतका विषय उठाउँदै दुई दिनदेखि आन्दोलन तथा तालाबन्दी गर्दै आएका थिए । आन्दोलनका क्रममा केही विद्यार्थी बिरामी भएपछि उनीहरूको उपचार, विद्यालयको पठनपाठन नियमित गर्ने र विद्यार्थीका माग सम्बोधन गर्ने विषयमा राजनीतिक दलका प्रतिनिधि, कार्यवाहक नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विद्यार्थी नेतृत्वबीच छलफल भएको थियो ।

छलफलपछि सहमति कार्यान्वयन गर्दै आन्दोलन अन्त्य गर्ने र विद्यालयको पठनपाठन नियमित बनाउने प्रक्रिया अघि बढाउने निर्णय भएको हो । कार्यवाहक नगरप्रमुख बेघाले बिरामी विद्यार्थीलाई अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले विद्यार्थीका सबै माग पूरा हुने आश्वासन दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा