नेभिगेशन
समाज

आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानद्वारा १३औं पुण्यतिथिमा उत्कृष्ट विद्यार्थी र पत्रकार सम्मान

धरान, असोज — आमा चन्द्रकुमारी प्रधानको १३औं पुण्यतिथिको अवसरमा आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानले शुक्रबार धरान–७ स्थित सिद्दिद नेवा परिषद् सभाहलमा एक विशेष कार्यक्रम आयोजना गरी सात जनालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्रा. डा. टंकप्रसाद न्यौपानेले आमा–बुबाको तस्वीरमा दियो प्रज्वलन गर्दै १०८ वटा दियो बालेर समारोहको उद्घाटन गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष महेशकुमार प्रधानका अनुसार प्रत्येक वर्ष आमा चन्द्रकुमारी प्रधानको पुण्यतिथिमा अध्ययनमा उत्कृष्ट विद्यार्थीहरू र एक जना पत्रकारलाई सम्मान गरिँदै आएको छ। यस वर्ष धरानका विभिन्न विद्यालयका चार विद्यार्थी तथा एक पत्रकारलाई नगदसहित सम्मान गरिएको हो।
धरान–८ स्थित ल्याबोरेटरी मा.वि.का व्यवस्थापन संकाय कक्षा ११ की सुस्मिता तामाङ, धरान–१५ स्थित शिक्षा सदन मा.वि.की लक्ष्मी माझी, धरान–१७ स्थित ज्वालामुखी मा.वि.की सोनिया राई र धरान–१२ स्थित पब्लिक हाई स्कुलकी सन्याम विष्टलाई जनही ७ हजार रुपैयाँ र मायाको चिनो प्रदान गरिएको थियो।
त्यसैगरी, ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार स्नेहा श्रेष्ठलाई दोसल्ला, सम्मानपत्र र ७ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
सामाजिक सहयोगको क्रममा प्रतिष्ठानले धरान–१ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई ६ वटा कम्प्युटर टेबल र धरान–१५ मा निर्माणाधीन डाग्युर डोल्मा छ्योलिङ गुम्बालाई १५ हजार ५ सय रुपैयाँ प्रदान गरेको पनि अध्यक्ष प्रधानले बताए।
मुख्य अतिथि प्रा. डा. न्यौपानेले आमा चन्द्रकुमारी प्रधानको नाममा हुँदै आएको सामाजिक र शैक्षिक योगदानको सराहना गर्दै यस्तो कार्यले विद्यार्थी र पत्रकारलाई प्रेरित बनाउने बताएका थिए। उनका अनुसार, “यो सम्मानले नेवार समुदाय मात्र होइन, सम्पूर्ण जाति र धर्मबीच एकता र सामाजिक सद्भाव फैलाउने काम गरेको छ।”
कार्यक्रममा नेवा देय दबू कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष बसन्तकुमार श्रेष्ठ, धरान–१ का वडा अध्यक्ष यज्ञमणी आचार्य, नेवा देय दबू सुनसरीका अध्यक्ष राजविमल श्रेष्ठ, प्रा. डा. विक्रम प्रधान, अनसुया भट्चार्जीलगायतको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन मोहन श्रेष्ठले गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज