नेभिगेशन
समाज

कार्यक्रममार्फत राज्यलाई सहयोग गर्ने सचेत नागरिक समूह

धरान,
सामाजिक उत्तरदायित्व र नागरिक चेतनाको उदाहरण प्रस्तुत गर्दै सचेत नागरिक समूह धरान–१७ ले आगामी कात्तिक ५ गते रेल्वे चौकमा एक दिने साँस्कृतिक देउसे कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रमबाट उठ्ने सम्पूर्ण रकम जेन–जि आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचना पुनर्निर्माणका लागि राज्यलाई सहयोग गर्ने समूहले जनाएको छ।
आज आइतबार पत्रकार महासंघ सुनसरी शाखा, धरानमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको औपचारिक घोषणा गरिएको हो।
संस्थाका संयोजक दयाराम थापाका अनुसार सचेत नागरिक समूहले विगत चार वर्षदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय रूपमा योगदान दिंदै आएको छ।
उनका अनुसार, कोभिड–१९ को महामारीको समयमा समूहले विपी प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी र कुरुवाहरूलाई ४५ दिनसम्म दैनिक रु. २५० का दरले खाना सहयोग गरेको थियो।
त्यसैगरी, गत वर्ष २०८१ मा आयोजित सांस्कृतिक देउसे कार्यक्रमबाट संकलित रु. २ लाख ५ हजार रुपैयाँ सरकारद्वारा स्थापना गरिएको बाढी पीडित राहत कोषमा इलाका प्रशासन कार्यालय धरानमार्फत जम्मा गरिएको थियो।
थापाले भने,
“यस वर्षको देउसे कार्यक्रम पनि सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको सन्देशसहित गर्न लागिएको हो। जेन–जि आन्दोलनका क्रममा क्षति भएका संरचनाहरू पुननिर्माणका लागि हामीले राज्यको सहयोग कोषमा योगदान गर्ने निर्णय गरेका छौं।”
कार्यक्रममा धरान वडा नं. १७ कार्यालयको सहकार्य रहनेछ।
सचेत नागरिक समूहले सबै धरानवासीलाई देउसे कार्यक्रममा सहभागी भई राष्ट्रिय पुनर्निर्माणको अभियानमा हातेमालो गर्न हार्दिक आह्वान गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज