नेभिगेशन
Dashain Banner
Dashain Banner
समाज

खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस धरानमा सम्पन्न

धरान, पानवारी — खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस तथा मैत्रीपूर्ण बनभोज कार्यक्रम शनिबार धरान–६ पानवारीस्थित मयुर होटलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बिरेस थापाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिको रुपमा डा. केशर बहादुर बिष्ट उपस्थित रहनुभएको थियो।


कार्यक्रम addressesमा बोल्दै प्रमुख अतिथि डा. बिष्टले खस समुदायको इतिहास, धर्म र संस्कृतिबारे विस्तृत धारणा राख्दै राष्ट्रिय गानका केही पंक्तिहरूले ऐतिहासिक सत्यलाई पूर्ण रूपमा नझल्काउने टिप्पणी गरे। “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” भन्ने पंक्ति सही भए पनि “सार्वभौम भई फैलिएका मेची–महाकाली” भन्ने भाग ऐतिहासिक तथ्यसँग मेल नमिल्ने उनको तर्क थियो। उनले विगतमा नेपालीहरूको भौगोलिक पहुँच पश्चिममा कुमाउ–गढवाल, काङ्गडा र पूर्वमा टिष्टासम्म रहेको उदाहरण प्रस्तुत गरे।


देशको समसामयिक अवस्थामाथि टिप्पणी गर्दै डा. बिष्टले मुलुक गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गरे। नेतृत्वहीनता र अराजकताकै कारण राष्ट्रिय एकताको प्रतीक राजसंस्थाको पुनर्स्थापना अब विकल्परहित बन्न गएको उनको धारणा थियो। “आपतकालीन सेवा बन्द गर्ने चिकित्सकहरू देखिने अर्को देश संसारमा छैन, यो दुर्भाग्य नेपालकै हो,” उनले भने।


कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार किशोर कुमार कार्कीले खस–क्षेत्री समुदायलाई “सुतिरहेको सिंह” सँग तुलना गर्दै समुदायमाथि विभिन्न कोणबाट हुँदै आएका प्रहार र उत्तेजनात्मक अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरे।


धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र बिक्रम बेघाले धरान सबै जातजाति मिलेर बसेको सहरी समाज भएको उल्लेख गर्दै खस समाज प्रतिष्ठानको ९औं वार्षिकोत्सवको शुभकामना व्यक्त गरे।


यसैगरी संयुक्त खस समाजका केन्द्रीय उपाध्यक्ष प्रताप थापा, प्रतिष्ठान कोशी प्रदेश संयोजक हरीबहादुर कार्की, उपसचिव लक्ष्मी बानियालगायतका वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए।


कार्यक्रममा प्रतिष्ठानलाई निरन्तर सहयोग पुर्‍याउँदै आएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। खस–क्षेत्री समुदायकी कमला कटुवालले विराट टिचिङ हस्पिटलबाट एमबीबीएस अध्ययन उत्तीर्ण गरेको अवसरमा समाजले उनलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरियो।
औपचारिक कार्यक्रम सकिएपछि मैत्रीपूर्ण बनभोज तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो। सम्पूर्ण कार्यक्रम प्रतिष्ठानका सचिव हिमाल कार्कीले सञ्चालन गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज