नेभिगेशन
Dashain Banner
Dashain Banner
खेलकुद

सुनाखरी एकेडेमी कप–२०८२: सुनाखरी रेड फाइनलमा

धरान, १४ मङ्सिर — सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजना भएको पहिलो संस्करण ‘सुनाखरी एकेडेमी कप–२०८२’ मा सुनाखरी रेड फाइनलमा प्रवेश गर्न सफल भएको छ। आइतबार एन्फा एकेडेमी खेलमैदान, धरान–१७ मा भएको पहिलो सेमिफाइनलमा टोलीले सैनिक आवासीय स्कुलमाथि ३–० को उत्कृष्ट जित निकाल्दै उपाधि नजिक पारेको हो।


पहिलो हाफमै खेल आफ्नो पक्षमा मोड्दै सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले २४औँ मिनेटमा गरिएको गोलले टोलीलाई सुरुवाती अग्रता दिलाए। बलियो रक्षा र अवसर सिर्जनामा सक्रिय सैनिक आवासीय स्कुलले बराबरीको खोजी गरे पनि पहिलो हाफ १–० कै स्थितिमा सकियो।
दोस्रो हाफमा मैदानमा झनै शक्तिशाली रूपमा फर्किएको सुनाखरी रेडले खेललाई एकतर्फी बनायो। सुरुको ५ मिनेटभित्रै जर्सी नम्बर १० श्रीहाङ लिम्बुले गोल गर्दै अन्तर २–० पुर्‍याए। त्यसपछि खेलको १९औँ मिनेटमा जर्सी नम्बर २६ प्रज्वल तामाङले अर्को थप गोल गर्दै सहज जित सुनिश्चित गरे।

अन्तिमसम्म सैनिक आवासीय स्कुलले आक्रामक खेल प्रदर्शन गरे पनि गोलको बनाउन सकेन।
उत्कृष्ट प्रदर्शनका आधारमा सुनाखरी रेडका आदेश पोद्दार ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई स्कुलका संस्थापक किशोर सुब्बाले नगद रु. १ हजार सहित ट्रफी प्रदान गरे।


प्रतियोगिताअन्तर्गत सोमबार हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस स्कुल र ज्वालामुखी माध्यमिक विद्यालय आमनेसामने हुनेछन्। फाइनल खेल बुधबार आयोजना हुनेछ, जहाँ सुनाखरी रेडले सोमबारका विजेतासँग उपाधिका लागि भिड्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद