नेभिगेशन
दुर्घटना

पाँचौँ तलाबाट खसेर इन्टर्न डाक्टरको मृत्यु

विराटनगर, — नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पतालको पाँचौँ तलाबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–४ मा रहेको नोवेल शिक्षण अस्पतालको भवनबाट आइतबार साँझ करिब ६:३० बजे खसेर घाइते भएका एमबीबीएस अध्ययनरत ३४ वर्षीय इन्टर्न डाक्टर अमित यादवको उपचारका क्रममा मृत्यु भएको हो।
सप्तरीको राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव नोवेल मेडिकल कलेजमा १०औँ ब्याचका एमबीबीएस अध्ययनरत इन्टर्न डाक्टर थिए।
भवनबाट खसेपछि उनलाई तत्कालै नोवेल अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा उपचारका लागि लगिएको थियो। तर टाउकोमा गम्भीर चोट लागेका कारण उपचारकै क्रममा साँझ करिब ७:३० बजे उनको मृत्यु भएको मोरङ प्रहरीका प्रहरी निरीक्षक लेखनाथ दाहाले जानकारी दिनुभयो।
प्रहरीका अनुसार परिवारसँग गरिएको प्रारम्भिक सोधपुछका क्रममा यादवका बुवाले केही समयदेखि उनलाई मानसिक समस्या रहेको जानकारी गराएका छन्।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहाले बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्