सुनसरी । बोटको भारवहन क्षमताभन्दा बढी यात्रु राख्नु, सुरक्षा मापदण्ड पालना नगर्नु र सञ्चालन अनुमति तथा नियमित अनुगमनको अभावका कारण सप्तकोशी नदीमा पानीबोट दुर्घटना भएको छ । तीन जनाको मृत्यु र तीन जना अझै बेपत्ता रहेको दुर्घटनामा गम्भीर कमजोरी देखिएको कोशी प्रदेश सरकारद्वारा गठित छानबिन तथा अध्ययन समितिले निष्कर्ष निकालेको छ ।
समितिले पानीबोट सञ्चालनमा लापरवाही, कानुनी प्रक्रिया पूरा नगर्नु र तीव्र बहाव भएको नदीमा बोट चलाउँदा आवश्यक सावधानी नअपनाउनु दुर्घटनाका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।
गत कात्तिक ८ गते दिउँसो करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट सुनसरीको वराहक्षेत्र नगरपालिका–१, चतरातर्फ चालकसहित १५ जना यात्रु लिएर आउँदै गरेको वराह त्रिवेणी जल यातायात प्रालिको पानीबोट दुर्घटनामा परेको थियो । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, भोजपुर र उदयपुर जिल्लाको सङ्गमस्थल त्रिवेणी नजिकै बोट नदीमा डुबेको थियो ।
दुर्घटनामा सुनसरीको वराहक्षेत्र–१ की ५८ वर्षीया लिला राई, उदयपुरको बेलका–९ का ५५ वर्षीय रत्नबहादुर नेपाली र भोजपुरको हतुवागढी–७ की पाँच वर्षीया आर्या राईको मृत्यु भएको थियो ।
झापाको कन्काई–४ का सात वर्षीय सुयोग मगर, सुनसरीको वराहक्षेत्र–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २३ वर्षीया मनिका राई अझै बेपत्ता छन् । दुर्घटनामा उद्धार गरिएका आठ जना यात्रु सकुशल घर फर्किएका छन् । बोटका चालक सुनसरीको वराहक्षेत्र–१ का २४ वर्षीय सुमन मगर प्रहरी हिरासतमा छन् ।
दुर्घटनापछि कोशी प्रदेश सरकारले कात्तिक १० गते प्रदेश सचिव अस्मान तामाङको संयोजकत्वमा १२ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले स्थलगत निरीक्षण, सरोकारवालासँगको छलफल र प्राविधिक अध्ययनपछि प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको हो ।
बोट नदीमा डुबेर बेपत्ता भएकाले दुर्घटनाको यान्त्रिक कारण यकिन गर्न नसकिएको समितिले जनाएको छ । तर, अध्ययनका आधारमा इन्जिन फेल हुनु, स्टेयरिङ वा ब्रेक प्रणालीमा खराबी आउनु अथवा इन्धन सकिनुजस्ता कारणले तीव्र बहाव भएको नदीमा बोट अनियन्त्रित भएको हुनसक्ने प्रतिवेदनमा उल्लेख छ ।
दुर्घटनाग्रस्त बोटको भारवहन क्षमता करिब ६८० केजी मात्र रहेकोमा बच्चासहित १५ जना यात्रु र उनीहरूले बोकेको सामानको अनुमानित तौल क्षमताभन्दा बढी रहेको समितिको निष्कर्ष छ । क्षमताभन्दा बढी भार राख्दा बोटको सन्तुलन बिग्रन सक्ने र नदीको बहाव तथा छालका कारण दुर्घटनाको जोखिम बढ्ने प्रतिवेदनमा उल्लेख छ ।
सप्तकोशी नदीको तीव्र बहाव र घुम्तीमा बोटको सन्तुलन कायम गर्न नसक्नु पनि दुर्घटनाको कारण रहेको समितिले औँल्याएको छ । तीव्र बहाव भएको नदीमा यस्ता बोट सञ्चालन गर्न उपयुक्त हुन्छ वा हुँदैन भन्नेबारे विस्तृत सम्भाव्यता अध्ययनसमेत नभएको प्रतिवेदनमा उल्लेख छ ।
नियमित प्राविधिक जाँच र कानुनी प्रक्रिया पूरा नगरी बोट सञ्चालन गरिएको समितिको ठहर छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी अर्यालका अनुसार यात्रु ओसारपसार गर्ने पानीबोट कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पनि सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएका छैनन् ।
दुर्घटनामा परेको वराह त्रिवेणी जल यातायात प्रालि पनि २०८० मङ्सिर ११ गते कम्पनी ऐन, २०६३ अनुसार दर्ता भएको थियो । तर, कम्पनीले जलयात्रा नियमावली वा वराहक्षेत्र नगरपालिकाबाट समेत सञ्चालन अनुमति नलिएको प्रतिवेदनमा उल्लेख छ ।
समितिका अनुसार सप्तकोशी नदीमा चतरादेखि भोजपुरको सिम्लेसम्म करिब १० किलोमिटर र दक्षिणतर्फ वारावहि क्षेत्रमा करिब पाँच किलोमिटर दूरीमा २० वटाभन्दा बढी मोटरबोट सञ्चालनमा छन् । तीमध्ये अधिकांशले कानुनी प्रक्रिया पूरा नगरी यात्रु ओसारपसार गरिरहेका छन् ।
वराहक्षेत्र नगरपालिकाको विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा सम्बन्धित निकायको सहमति लिएर व्यवसाय सञ्चालन गर्न छ वटा कम्पनी दर्ता भएका छन् । तर, नदीमा सञ्चालन भइरहेका बोटको नियमित अनुगमन र निरीक्षण नभएको समितिको ठहर छ ।
समितिले आवश्यक अनुमतिपत्र नलिएका संस्थाबाट हुँदै आएको यात्रु ओसारपसार र पानीबोट सञ्चालनमा तत्काल रोक लगाउन सुझाव दिएको छ । सप्तकोशीमा सञ्चालनमा रहेका अधिकांश पानीबोट कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पनि जलयात्रा नियमावली, २०६३ बमोजिम सञ्चालन अनुमतिपत्र नलिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा जलयातायात सेवा सञ्चालन गर्ने संस्थालाई तीन महिनाभित्र सञ्चालन अनुमतिपत्र लिन प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने सुझाव दिइएको छ । अनुमतिपत्र प्राप्त नगरेसम्म यात्रु ओसारपसार र जलयात्रा सञ्चालनमा रोक लगाउनुपर्ने समितिको भनाइ छ ।
नेपालको संविधानको अनुसूची–६ अनुसार जल उपयोग प्रदेशको एकल अधिकार र अनुसूची–७ अनुसार जलमार्ग संघ र प्रदेशको साझा अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रदेश सरकारले आफ्नै प्रदेशभित्रका जलमार्गका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्न सक्ने समितिले जनाएको छ ।
हाल प्रचलित जलयात्रा नियमावली, २०६३ ले पर्यटकको मनोरञ्जन र दृश्यावलोकनका लागि गरिने र्याफ्टिङलाई मात्र समेटेको र भाडा लिएर सर्वसाधारणलाई ओसारपसार गर्ने जलयातायातसम्बन्धी कानुनी व्यवस्था स्पष्ट नभएको समितिको निष्कर्ष छ ।
नेपालका ठूला नदीमा जलयातायात सञ्चालनलाई व्यवस्थित र एकरूप बनाउन संघीय मापदण्डसहितको छाता कानुन निर्माण गर्न कोशी प्रदेश सरकारले संघीय सरकारको विषयगत समितिमा प्रस्ताव पेस गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।
दुर्घटनामा उद्धार गरिएकी घाइते यात्रु तीर्थकुमारी मगरले समितिलाई दिएको बयानअनुसार सप्तकोशी नदीमा बोटको स्टार्ट अचानक बन्द भएको थियो । चालकले इन्जिन भएको स्थानमा गएर पुनः चलाउने प्रयास गरिरहेका बेला बोटमा पानी जम्दै गएको र एक्कासि नदीमा डुबेको उनले बताएकी छन् ।
‘हामी सबै यात्रुले लाइफ ज्याकेट लगाएका थियौँ, तर मेरो सात वर्षको छोरा सुयोगसँग लाइफ ज्याकेट थिएन । पानीमा डुब्नेबित्तिकै मेरो हातबाट बच्चा छुट्यो,’ तीर्थकुमारीले समितिसमक्ष दिएको बयानमा भनेकी छन् ।
दुर्घटनालगत्तै चालक सुमन मगरले सोही दिशाबाट आउँदै गरेको अर्को बोटका चालक खगेस श्रेष्ठलाई फोन गरेका थिए । वराहक्षेत्र–२ का चालक श्रेष्ठका अनुसार दिउँसो करिब १:५५ बजे सजीव श्रेष्ठमार्फत दुर्घटनाको जानकारी पाएपछि उनले आफ्नो बोटमा रहेका यात्रुलाई सुरक्षित किनारमा ओरालेका थिए ।
त्यसपछि खाली बोट लिएर दुर्घटनास्थल पुगेका श्रेष्ठले दुई–तीन मिनेटमै लाइफ ज्याकेट लगाएका कारण पानीमा तैरिँदै बगेर आएका ११ जनाको उद्धार गरेका थिए । उद्धार गरिएकामध्ये गम्भीर अवस्थाका तीन जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।