नेभिगेशन
समाचार

धरान फिल्म फेस्टिभल : निःशुल्क कार्यशालाका लागि आवेदन खुला

धरान । आगामी मंसिर २७ र २८ गते धरानमा आयोजना हुने पहिलो धरान फिल्म फेस्टिभल–२०८३ अन्तर्गत सञ्चालन हुने निःशुल्क कार्यशालाका लागि आवेदन खुला गरिएको छ ।

आयोजक बीपी फोर इन्टरटेन्मेन्ट प्रालिले फेस्टिभलको आधिकारिक फेसबुक पेजमार्फत कार्यशालामा सहभागी हुन इच्छुकका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो ।
फेस्टिभलका निर्देशक विनोद विश्वकर्माका अनुसार कार्यशालामा लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँ र स्क्रिप्ट डाक्टर मनोज पण्डितले सहजीकरण गर्नेछन् ।

कार्यशालामा बानियाँले चलचित्र उद्योग र करियरका अवसर, कथा वाचन र चलचित्र निर्माणका आधारभूत विषय, अभिनय र निर्देशनबाहेक चलचित्र क्षेत्रमा रहेका अन्य भूमिका, प्रविधि, कृत्रिम बौद्धिकता (एआई) र सिनेमाको भविष्य तथा चलचित्र व्यवसाय र उद्यमशीलताबारे प्रशिक्षण दिनेछन् ।

त्यस्तै, भट्टराईले स्थानीय कथादेखि मूलधारको नेपाली सिनेमासम्मको विषयमा सहजीकरण गर्नेछन् । पण्डितले भने चलचित्र निर्माताको दृष्टिकोणबाट कसरी सोच्ने भन्ने विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कार्यशालामा सहभागी हुन इच्छुकले फेस्टिभलको वेबसाइट, इभेन्ट व्यवस्थापनसम्बन्धी वेबसाइट तथा एपमार्फत निःशुल्क नाम दर्ता गर्न सक्ने इभेन्ट म्यानेजर आरबी कटवालले जानकारी दिए ।

कार्यशाला दुई दिन सञ्चालन हुनेछ । पहिलो दिन दुई जना र दोस्रो दिन एक जना मेन्टरले सहजीकरण गर्नेछन् । १८ देखि ४० वर्ष उमेर समूहका चलचित्र, लेखन तथा निर्देशनमा रुचि राख्नेले कार्यशालामा सहभागी हुन आवेदन दिन सक्नेछन् ।
कोशी प्रदेशलाई चलचित्र निर्माणको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको निर्देशक विश्वकर्माले बताए । उनका अनुसार यसले प्रदेशभित्र चलचित्र निर्माण, लेखन तथा निर्देशनमा रुचि राख्ने युवा र नयाँ चलचित्रकर्मीलाई आफ्नो क्षमता विकास गर्ने अवसर प्रदान गर्नेछ ।

कार्यशालामा सहभागी हुन मंसिर १५ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार