नेभिगेशन
समाचार

हात्ती-घोडा नहुँदा वराहक्षेत्र निशान जात्राको गरिमा घट्दै

वराहक्षेत्र (सुनसरी) । चतरागद्दी जोगीको मठ भए तापनि जंगबहादुरका पालामासम्म त्यसमा सरकारको कुनै हस्तक्षेप थिएन । एउटा स्वतन्त्र राज्यको रुपमा कायमै थियो ।
यसका सम्बन्धमा भनिन्छ जंगबहादुर राणा नेपालको प्रधानमन्त्री नहुँदै तत्कालीन मोरङमा शिकार खेल्न गएका थिए । त्यस समय उनले चतरागद्दीका महन्तसित केही हात्ती शिकारका निमित्त मागे र तर मठाधीशले हात्ती दिन अस्वीकार गरी भने – ‘हात्ती आफ्नू राज्यको कामका निमित्त पालिएका हुन् नेपाल सरकारलाई दिन होइन ।' 

सुनसरीको वराहक्षेत्र-१ चतरामा अवस्थित औलिया बाबा मठ प्राचीन र पुरातात्त्विक मठ हो । तथ्यअनुसार यो मठमा हात्ती घोडा पालिएको थियो । वि.सं. १८२१ सालमा हालको चतरामा स्थापना गरिएको मठ ऐतिहासिक, पुरातात्विक र धार्मिक दृष्टिले  महत्त्वपूर्ण रहेको तथ्य छ । गुठी संस्थानले मठमा वार्षिक १७ वटा पूजापर्व चलाउँदै आएको छ । तर पर्व समयसापेक्ष चलेको छैन । पर्व चलाउन हात्ती-घोडा छैनन् । 

विशेषगरी हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म वराहक्षेत्रमा लाग्ने कार्तिके मेलालाई लक्षित गरेर चतुर्दशीका दिन निशान यात्रा आयोजना हुने गरेको छ । यो परम्परागत वृहत् धार्मिक यात्रा हो । मठाधीश, महन्त र साधुसन्त हात्ती घोडामा सवार भएर निशान जात्रा चलाउने परम्परा थियो । तर यो परम्परा क्रमशः लोप हुँदै गयो । अहिले केही साधुसन्तले निशान झण्डा बोकेर वराहक्षेत्र यात्रा गर्ने र पूर्णिमाका दिन पुनः फर्काएर ल्याउने कर्मकाण्ड गर्दै आएका छन् । 

पुरातत्व विभागले वि. सं. २०१७ सालमा वराहक्षेत्र र त्यसका आसपासका केही स्थलको पुरातात्विक अन्वेषण गरेको थियो । पुरातत्व विभागका तत्कालीन प्रधान अनुसन्धान अधिकारी (त्यस समयका स्थल उत्खनन्‌कर्ता) जनकलाल शर्माले अध्ययनमा आधारित प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन पुरातत्व विभागको ‘प्राचीन नेपाल’ नामक मुखपत्रमा ‘वराहक्षेत्र र केही अन्य स्थल’ शीर्षकमा प्रकाशित भएको छ । 

प्रतिवेदनअनुसार मठका महन्तले जंगबहादुरलाई शिकारका लागि हात्ती नदिएपछि यो कुरा उनको मनमा साह्रै गड्यो । त्यस समय उनका हातमा बागडोर थिएन, अतः त्यसै चूप लागे ।
रहँदाबस्दा उनी नेपालका प्रधानमन्त्री भए । उनलाई त्यो कुरा मनमा साह्रै बिझेको थियो । अतः सर्वप्रथम उनले त्यसै मठमा हमला गरेर नेपाल सरकारको हातमा पारे । त्यसपछि आफ्ना मन परेका विश्वासपात्र घरवारी सन्यासी गौतम भारतीलाई सालको पाँच हजार सलामी बुझाउने गरी उनका सन्तान दरसन्तानले खाने व्यवस्थाको लालमोहर गराएर दिए ।

गौतम भारतीपछि यो मठ केही समयका लागि अज्ञात कारणबाट सरकार लाग्यो । धेरै समयपछि उनका उत्तराधिकारीहरूले सरकारसित निवेदन गर्दा यो मठ पुनः राजराजेश्वर भारतीका हातमा आयो । तयसपछि पुनः भारतीका हातबाट छुट्यो र हाल फेरि उनै भारतीका उत्तराधिकारी श्रीप्रसाद भारती त्यस मठका महन्त भए जो अथापि उपयोग गरिनै रहेका छन् ।

कालान्तरमा मठका महन्त मुकुन्द भारती भए । उनले लामो समय मठ सञ्चालन गरे । उनको पेशा व्यवसायका कारण समय दिन नसक्दा गुठी संस्थानले पद्मनाभ गिरीलाई महन्त नियुक्त गर्‍यो । उनको देहवसानपछि हाल नागा बाबा विनायक पुरी यहाँका महन्त छन् । 

1000293024-1795097628.jpg
चतरा औलिया बाबा मठ र वराहक्षेत्र मन्दिर (वराहक्षेत्र अस्थान) एउटै गुठ चतरा मालमेनेजरी गुठीबाट सञ्चालित हुँदै आएको थियो । तर, गुठी संस्थानले दुई वटा व्यवस्थापन समिति गठन गरिदिनाले औलिया मठ थप आर्थिक अभावमा परेको छ । 

महन्त विनायक पुरीले पर्वको गरिमा घट्दै गएपछि परम्परागत रुपमा चलेको निशान जात्रामा हात्तीको प्रयोग गर्ने प्रस्ताव लिएर कोशी टप्पु वन्यजन्तु आरक्ष पुगे । आरक्षले हात्ती प्रयोग गर्न कानूनसम्मत नमिल्ने बतायो । राज्यले आरक्ष बाहिर हात्तीको प्रयोग निषेध गरेको जानकारी दिएपछि महन्त खाली हात फर्किए । 

हात्तीको व्यवस्था गर्ने नियमहरू, २०२२ तथा घर पालुवा हात्ती व्यवस्थापन नीति, २०६० अनुसार आरक्ष बाहिर हात्ती परिचालन गर्नका लागि व्यवस्था गरेको छ । 

यदि कुनै विशेष सरकारी, धार्मिक, सांस्कृतिक वा अनुसन्धान कार्यका लागि आरक्ष बाहिर सरकारी हात्ती लैजानुपरेमा सम्बन्धित कार्यालय (वार्डेन) वा विभागमा तोकिएको ढाँचामा दरखास्त दिनुपर्ने प्रावधान छ । हात्तीसारको नियमित काममा बाधा नपर्ने र हात्तीलाई फुर्सद भएको अवस्थामा मात्र स्वीकृति दिन सकिने नियम छ । तर वार्डेनले मन्त्रीपरिषदले निर्णय गर्नुपर्ने जवाफ दिएपछि महन्तले थप कुरा नगरेको बताए । 

प्रचलित नियमअनुसार राजनैतिक काम (रैली, सभा) र बोझ (सामान) बोक्ने कामका लागि आरक्ष बाहिर सरकारी हात्ती प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ । साथै, हात्तीको स्वास्थ्यमा असर पर्ने गरी लामो दूरी पैदल हिँडाउन वा रातको समयमा अनावश्यक काममा लगाउन पाइँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार