नेभिगेशन
समाचार

एआई गभर्नेन्सको व्यावहारिक कार्यान्वयनका लागि ९० बढी अन्तर्राष्ट्रिय मापदण्ड एकीकृत

काठमाडौं । एआईको प्रयोग विस्तार हुँदै जाँदा यसको दुरुपयोग, साइबर आक्रमण, तथ्याङ्क सुरक्षा र जवाफदेहिताको प्रश्न जटिल बन्दै गएको छ । आफैँ निर्णय लिन र कार्य सम्पादन गर्न सक्ने एजेन्टिक एआईको बढ्दो प्रयोगले संस्थाहरूलाई नीतिगत व्यवस्थासँगै प्राविधिक सुरक्षा प्रणाली पनि बलियो बनाउनुपर्ने दबाब सिर्जना गरेको छ ।

यही चुनौतीलाई सम्बोधन गर्न ईसी-काउन्सिल र दक्षिण एसियामा कार्यरत साइबर सुरक्षा कम्पनी वान कभर प्रालिले संस्थाहरूलाई कागजी नीतिमा सीमित एआई गभर्नेन्सबाट व्यावहारिक कार्यान्वयनतर्फ लैजाने पहल थालेका छन् ।

ईसी-काउन्सिलका सार्क सिनियर कन्ट्री म्यानेजर श्रीकान्त अक्कुलाको प्रस्तावमा अघि बढाइएको यो पहल वान कभर प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीसहितको गभर्नेन्स, जोखिम तथा अनुपालन (जीआरसी) टोलीले कार्यान्वयन गर्नेछ ।

यसअन्तर्गत ईसी-काउन्सिलको एडप्ट, डिफेन्ड, गभर्न (एडीजी) ढाँचामार्फत नेपालका उद्यम, बैंक तथा वित्तीय संस्था र सरकारी निकायलाई एजेन्टिक एआई सुरक्षित रूपमा सञ्चालन गर्न आवश्यक मार्गचित्र उपलब्ध गराइनेछ ।

एजेन्टिक एआई युगका लागि एडीजी ढाँचा
ईसी-काउन्सिलको एडीजी ढाँचा एजेन्टिक एआईको सुरक्षित प्रयोग र व्यवस्थापनका लागि तयार गरिएको खुला तथा व्यावहारिक प्रणाली हो । विश्वभरका एआई, साइबर सुरक्षा र गभर्नेन्स क्षेत्रका विज्ञहरूको सहकार्यमा तयार गरिएको यस ढाँचाले एआईसम्बन्धी नीति र प्राविधिक सुरक्षालाई एउटै संरचनामा समेटेको छ ।

यसमा एआई प्रणालीको डिजाइन, तथ्याङ्क सङ्कलन, सञ्चालनकालीन सुरक्षा र फरेन्सिक अनुसन्धानसम्मका पक्ष समेट्ने १२ वटा नियन्त्रण क्षेत्र छन् । त्यस्तै, दैनिक कार्यसञ्चालनमा लागू गर्न सकिने १८० भन्दा बढी सञ्चालनगत नियन्त्रण र ७२० भन्दा बढी प्राविधिक तथा नीतिगत मापदण्ड समावेश छन् ।

एडीजी ढाँचा तीन आधारस्तम्भमा आधारित छ । एडप्टले कुन एआई प्रणाली सुरक्षित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने निर्णय गर्न सहयोग गर्छ । डिफेन्डले प्रम्प्ट इन्जेक्सनलगायतका साइबर आक्रमणबाट एआई प्रणालीलाई जोगाउँछ । गभर्नले संस्थाको सञ्चालक समिति र नियामक निकायप्रतिको जवाफदेहिता तथा पारदर्शिता सुनिश्चित गर्छ ।

एउटै प्रमाणबाट धेरै नियामकीय आवश्यकता पूरा
नियामक निकाय, आन्तरिक लेखापरीक्षक र सुरक्षा टोलीले एउटै विषयमा फरक–फरक मापदण्डअनुसार विवरण माग्दा संस्थाहरूले दोहोरो प्रशासनिक भार बेहोर्नुपर्ने अवस्था छ ।
एडीजी ढाँचाले 'एउटै प्रमाण, धेरै प्रश्नको जवाफ' भन्ने अवधारणामार्फत यो समस्या समाधान गर्ने लक्ष्य राखेको छ । यसका १८० भन्दा बढी नियन्त्रणलाई ६ वटा क्षेत्रका ९० भन्दा बढी अन्तर्राष्ट्रिय मापदण्ड, कानुन र साइबर सुरक्षा जोखिम सूचीसँग आबद्ध गरिएको छ ।

यसमा एनआईएसटी एआई आरएमएफ, आईएसओ/आईईसी ४२००१, ईयू एआई ऐन, मिट्रे एटलस, मिट्रे एट्याक र ओडब्ल्यूएएसपी टप १० फर एलएलएम एन्ड एजेन्टिक एप्लिकेसन्स प्रमुख छन् ।

यस प्रणालीले एडीएमआईटी, डिसाइड, इमिट र कमिट गरी चार चरणमा काम गर्छ । यी चरणमार्फत एआई एजेन्टको पहिचान, कार्यसम्पादनको समय, नीतिगत जाँच र मानवीय स्वीकृतिको अभिलेख स्वचालित रूपमा सुरक्षित राखिन्छ । यसबाट लेखापरीक्षणका बेला छुट्टै अनुसन्धान नगरी आवश्यक प्रमाण र विवरण तत्काल उपलब्ध गराउन सकिने बताइएको छ ।
नेपालमा स्थानीयस्तरबाटै कार्यान्वयन
एआई गभर्नेन्स लागू गर्न संस्थाहरूले आफ्नो विद्यमान प्रविधि संरचना एकैपटक परिवर्तन गर्नुपर्ने छैन । एडीजी ढाँचाले संस्थाको वर्तमान अवस्था मूल्याङ्कन गरी ३०, ६० र ९० दिनको कार्ययोजना तयार गर्नेछ ।

श्रीकान्त अक्कुलाको प्रस्ताव तथा वान कभर प्रालिको जीआरसी टोलीको प्राविधिक नेतृत्वमा नेपाल र दक्षिण एसियाका संस्थाहरूले स्थानीयस्तरमै एआई गभर्नेन्स तयारी मूल्याङ्कन, विद्यमान अवस्था र आवश्यक मापदण्डबीचको अन्तर विश्लेषण तथा कार्यान्वयनसम्बन्धी परामर्श सेवा प्राप्त गर्न सक्नेछन् ।

ईसी-काउन्सिलको अन्तर्राष्ट्रिय मापदण्ड र वान कभरको क्षेत्रीय साइबर सुरक्षा अनुभवको संयोजनले दक्षिण एसियाली संस्थाहरूलाई सुरक्षित, विश्वसनीय र अन्तर्राष्ट्रिय नियमअनुकूल एआई प्रविधिको प्रयोग तथा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार