नेभिगेशन
खेलकुद

धरानमा वडा स्तरीय यलम्बर कप ५०८६ माघ १ गतेदेखि सुरु हुने

धरान — नयाँ वर्ष यलेदोङ/यलदोङ ५०८६ को अवसरमा धरानमा वडा स्तरीय यलम्बर कप ५०८६ बृहत् खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। किराँत राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा माघ १ गतेदेखि प्रतियोगिता सुरु हुन लागेको हो।
शनिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई ले माघको पहिलो सातादेखि धरानमा वडा स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयो।
अध्यक्ष राईका अनुसार नेपाल बहुसांस्कृतिक तथा भौगोलिक विविधताले भरिएको राष्ट्र हो, जसमा किराँती समुदायको ऐतिहासिक योगदान महत्वपूर्ण रहेको छ। प्राचीन कालमा किराँतीहरू नेपालका शासक थिए र उनीहरूमध्ये प्रथम राजा हाङ यलम्बर रहेको इतिहास छ। उनकै नामबाट सुरु भएको किराँत संवत् यलेदोङ/यलदोङ ५०८६ माघ १ गतेबाट प्रारम्भ हुने भएकाले यसको प्रवर्द्धन, किराँत सभ्यता, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा नेपालको प्राचीन संवतलाई राज्यस्तरमा लागू गर्नुपर्ने मागसहित खेलकुदमार्फत प्रचार–प्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो।
करिब १६ लाख ७९ हजार रुपैयाँ लागत अनुमान गरिएको यलम्बर कपको उद्घाटन माघ १ गते दिउँसो १२:३० बजे धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यतामा बाजागाजासहित गरिनेछ। प्रतियोगिताका अन्य दिनहरूमा विभिन्न अतिथिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत यायोक्खा वडा स्तरीय थ्री बाई थ्री बास्केटबल, ब्याडमिन्टन, ५ किलोमिटर म्याराथुन, बुद्धिचाल (चेस), छेलो सडफुट, तानबुने खेल, महिला फुटसल र पुरुष फुटसल सञ्चालन गरिनेछ। खेलहरू धरान रंगशाला र एन्फा एकेडेमीमध्ये उपयुक्त स्थानमा आयोजना गरिनेछ।
हरेक वडाबाट सहभागी खेलाडी सोही वडाको स्थायी हुनुपर्ने भए पनि जाति र समुदायको आधारमा कुनै विभेद नहुने आयोजकले जनाएको छ। खेलाडी दर्ता पौष २८ गतेसम्म गर्नुपर्नेछ। बास्केटबलतर्फ भने एक जना राष्ट्रिय स्तर वा अन्य स्थानबाट खेलाडी समावेश गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यक्रम तालिकाअनुसार
• माघ २ गते ५ किमी म्याराथुन (किराँत भवन, धरान–१०)
• माघ ३ गते बुद्धिचाल (साकेला सांस्कृतिक पार्क)
• माघ ४ गते छेलो सडफुट (साकेला पार्क)
• माघ ५ गते पुरुष फुटसल (धरान–१५, बिग फुटसल)
• माघ ५ गते नै महिला फुटसल (धरान–८, हाङ्सा फुटसल)
• माघ ७ गते तानबुने खेल (किराँत सुम्निमा भवन, इटहरी)
• माघ ८ गते थ्री बाई थ्री बास्केटबल (धरान–२, भानुचोक)
• माघ ९ गते ब्याडमिन्टन (धरान–१३, अमर कभर्ड हल)
प्रतियोगितामा बास्केटबलतर्फ प्रथमले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। फुटसल र ब्याडमिन्टनतर्फ प्रथम २० हजार, दोस्रो १० हजार र तेस्रो ५ हजार रुपैयाँ रहनेछ। महिलातर्फ प्रथम १० हजार, दोस्रो ७ हजार र तेस्रो ५ हजार रुपैयाँ पुरस्कार तोकिएको छ। म्याराथुनतर्फ पनि प्रथम १० हजार, दोस्रो ७ हजार र तेस्रो ५ हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यस्तै, बुद्धिचाल, तानबुने खेल र छेलो सडफुटतर्फ प्रथम ७ हजार, दोस्रो ५ हजार र तेस्रो ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
यलम्बर कप ५०८६ का सम्पूर्ण खेलकुद प्रतियोगिताका विजेतालाई माघ १० गते धरान–१३ स्थित अमरहाट कभर्ड हलमा आयोजित समापन समारोहमा पुरस्कार वितरण गरिने किराँत राई यायोक्खाले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद