नेभिगेशन
आर्थिक

धरानमा कर तथा बजेटसम्बन्धी अन्तरक्रिया सम्पन्न,

औद्योगिक प्रदर्शनी स्थल निर्माण प्रक्रिया अघि बढ्दै

धरान : कर तथा चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश कर छुट, सहुलियत र व्यवसायमैत्री व्यवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरानमा सम्पन्न भएको छ।
बजेटलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा कर नीति, छुट सुविधा, उद्योग–व्यवसायका सम्भावना, कर सचेतना तथा व्यवसायीले भोग्दै आएका समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।
सुनसरी उद्योग वाणिज्य सङ्घले यस्ता अन्तरक्रियामार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने, करसम्बन्धी जानकारी अभिवृद्धि गर्ने तथा व्यवसायीका समस्या नीतिगत तहसम्म पुर्‍याउने काम गर्दै आएको जनाएको छ।
धरानमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी स्थल निर्माणको पहल
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले धरानमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि भइरहेको पहलबारे जानकारी गराउँदै यसले कोशी प्रदेशको उद्योग, व्यापार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।
उनका अनुसार २०७४ साल मङ्सिरमा मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशमा औद्योगिक प्रदर्शनी कक्ष निर्माण गर्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार कोशी प्रदेशको औद्योगिक प्रदर्शनी स्थल धरानमा निर्माण गर्ने प्रक्रिया कार्यान्वयन चरणमा पुगेको उनले जानकारी दिए।
परियोजना सम्पन्न भएमा प्रदेशभरका स्थानीय उत्पादन, उद्योगी, व्यवसायी र उपभोक्ता एउटै थलोमा जोडिने, बजार विस्तार, लगानी प्रवर्द्धन, उद्यमशीलता विकास तथा रोजगारी सिर्जनामा टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो।
स्थानीय कृषि उत्पादनदेखि वैज्ञानिक प्रविधिबाट उत्पादित वस्तुसम्मको स्वदेश तथा विदेशी बजार प्रवर्द्धनका लागि औद्योगिक प्रदर्शनी स्थल महत्वपूर्ण आधार बन्ने उनले उल्लेख गरे।
जग्गा पहिचानका लागि संयुक्त समिति गठन
औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने विषयमा धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य सङ्घबीच सहकार्य अघि बढाइएको छ। यसका लागि धरान उपमहानगरपालिकाले धरान–१५ का वडाध्यक्ष नरेश इवारमको संयोजकत्वमा आठ सदस्यीय संयुक्त समिति गठन गरेको छ।
समितिले पानबारी जाने तुमन्तो पुलको उत्तरतर्फको बगर क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी धरान–१५ र धरान–५ दुवैतर्फ तटबन्ध गरी नदी उकासबाट प्राप्त हुने जग्गा तथा धरानभित्रका अन्य विवादरहित जग्गाको अध्ययन गर्नेछ।
समितिमा धरान–५, ६, १७ र १८ नम्बर वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वातावरण तथा अत्यावश्यक महाशाखा प्रमुख सदस्य–सचिवका रूपमा रहेका छन्। प्रदर्शनी केन्द्र, गोदामघर, अटो जोन तथा ढुवानी सुविधासहितको संरचना निर्माणका लागि आवश्यक गृहकार्य भइरहेको जनाइएको छ।
पूर्वाधार र पर्यटन प्रवर्द्धनमा पनि पहल
सुनसरी उद्योग वाणिज्य सङ्घले औद्योगिक विकाससँगै पूर्वाधार र पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि सक्रिय भूमिका खेल्दै आएको छ। सङ्घको गेस्ट हाउसमा तला थप गर्ने विषयमा समिति गठन गरिएको छ भने धरान–१४ विजयपुर चोकमा पर्यटक प्रतीक्षालय निर्माणका लागि पनि समिति गठन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
कर प्रणाली सरल र व्यवसायमैत्री बनाउने लक्ष्य
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष रामस्वरूप शर्माले अन्तरक्रियाबाट उठेका करदाता तथा निर्माण व्यवसायीका समस्याहरू सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि पहल गरिने बताए। उनले कर तथा भ्याटसम्बन्धी विषयमा सङ्घ सधैँ व्यवसायीको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख मौसम ढुङ्गेलले २०८२/८३ को बजेटले कर प्रणालीलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउने उद्देश्य लिएको बताए।
उनले बजेटमा समावेश कर छुट तथा सहुलियत उद्योग, व्यापार तथा साना तथा मध्यम उद्यम लक्षित रहेको उल्लेख गर्दै नीति सही रूपमा बुझेर प्रयोग गर्न सके कर विवाद घट्ने र व्यवसाय सञ्चालन सहज हुने बताए।
कर–बजेटसम्बन्धी अन्तरक्रिया, औद्योगिक प्रदर्शनी स्थल निर्माणको पहल तथा पूर्वाधार र पर्यटन प्रवर्द्धनका योजनामार्फत सुनसरी उद्योग वाणिज्य सङ्घले व्यवसायीको हितसँगै समग्र क्षेत्रीय आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक