नेभिगेशन
आर्थिक

६० प्रतिशतभन्दा जनसंख्या श्रमयोग्य, तर सीप रोजगारीबीच तालमेलको अभाव - सभामुख अर्याल

इटहरी । नेपालको कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहे पनि सीप र रोजगारीबीच उचित तालमेल हुन नसकेको सभामुख डोलप्रसाद अर्यालले बताएका छन् । उनले ठूलो श्रमशक्तिलाई उत्पादन र रोजगारीसँग जोड्न सके मुलुकले जनसांख्यिक लाभलाई आर्थिक अवसरमा रूपान्तरण गर्न सक्ने बताए ।

इटहरीमा आयोजित ‘सीप तथा रोजगार मेला २०८३’ लाई सम्बोधन गर्दै सभामुख अर्यालले आन्तरिक बजारको मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न नसक्दा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको बताए । अर्कोतर्फ स्वदेशी रोजगारदाताले आवश्यक सीप भएको जनशक्ति नपाएर विदेशी कामदार ल्याउनुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।

उनले आजको समयमा सीपलाई अतिरिक्त योग्यताका रूपमा मात्र हेर्न नहुने बताए । सीपलाई बजार, श्रमलाई अवसर र जनशक्तिलाई उत्पादनसँग जोड्न सके मात्रै श्रमशक्तिको प्रभावकारी उपयोग हुने उनको भनाइ थियो ।

सभामुख अर्यालले नेपालको ठूलो श्रमयोग्य जनसंख्यालाई मुलुकको विकासका लागि असाधारण जनसांख्यिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । त्यसका लागि श्रम बजारको माग पहिचान गरी सोहीअनुसार व्यावसायिक तथा प्राविधिक सीप विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

संविधानले प्रत्याभूत गरेको रोजगारी र श्रमसम्बन्धी मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न रोजगारदाता र रोजगारी खोज्नेबीच प्रत्यक्ष सम्पर्कको वातावरण बनाउनुपर्ने उनले बताए । ‘सीप तथा रोजगार मेला’ त्यसका लागि साझा मञ्च बन्ने विश्वास उनले व्यक्त गरे ।

आन्तरिक रोजगारीलाई भरपर्दो विकल्पका रूपमा स्थापित गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारसँगै निजी क्षेत्र र विकास साझेदारबीच समन्वय आवश्यक रहेको सभामुख अर्यालले बताए । रोजगार सिर्जना र सीप विकासलाई एउटै योजनासँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

युवा, श्रम तथा रोजगार मन्त्रालय, कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिका, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा निजी क्षेत्रको सहयोगमा आयोजित मेलाले युवालाई रोजगारी खोज्ने मात्र नभई सीपयुक्त, उत्पादनशील र स्वरोजगार सिर्जना गर्न सक्षम बनाउने उद्देश्य लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक